सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण वढ्दो

रासस
वैशाख १४, २०७६
5be56737555d739b55ee94f2_Mauja_2

पोखरा, १४ वैशाख । सामुदायिक विद्यालयप्रतिको आकर्षण घट्दै गएको अवस्थामा कास्कीको अन्नपूर्ण गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा भने विद्यार्थी सङ्ख्या बढ्दो क्रममा छ ।

गुणस्तरीय शिक्षाका लागि गाउँपालिकाका साथै सम्बन्धित विद्यालयले चासो दिन थालेसँगै विद्यार्थी तथा अभिभावकको रोजाइ सामुदायिक विद्यालय पर्दै गएको हो । बसाइँ सरेर अन्यत्र गएका बाहेक गाउँपालिकाका अघिकांश वडाका विद्यार्थी सामुदायिक विद्यालयमा नै भर्ना भएको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकूद शाखाका प्रमुख बलराम भुगाइँले बताए ।

“हामी यतिखेर गाउँपालिकामा भर्ना अभियानमा छौँ”, उनले भने “शैक्षिक गुणस्तरीयता अभिवृद्धि, पूर्वाधार विकासलगायतका कारणले विद्यार्थी तथा अभिभावकको आकर्षण सामुदायिक विद्यालयमा बढ्दै गएको छ ।” गाउँपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा विद्यालय उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराइ ती विद्यार्थीलाई टिकाएर माध्यमिक तहसम्मको शिक्षा पूरा गराउने नीति अवलम्बन गरिने उल्लेख गरेको थियो ।

त्यस्तै शैक्षिक गुणस्तर वृद्धिका लागि विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । विषयगत स्तरीयता अभिवृद्धिका लागि गाउँपालिकामा विषयगत शिक्षकको समूह गठन गरिएको शाखा प्रमुख भुगाइँले जानकारी दिए । विषगत शिक्षकका साथै शिक्षकको तालिमलाई प्राथमिकतामा राखिएको बताइएको छ ।

उनका अनुसार अघिल्लो वर्ष एसइईको परीक्षाफलपछि प्रत्येक शिक्षकलाई विद्यार्थीले प्राप्त गरेको जिपिएका आधारमा विषयगत उपलब्धिको समीक्षा गर्दै आगामी वर्षका लागि कति जिपिएसम्म ल्याउन सकिन्छ भन्ने गोप्य लिखित प्रतिबद्धता लिइएको थियो । यस वर्षको परीक्षाफल आएसँगै शिक्षकबाट लिइएको प्रतिबद्धता र विद्यार्थीले प्राप्त गरेको उपलब्धि मूल्याङ्कन गरी राम्रो गर्न सक्नेलाई पुरस्कृत गरिने बताइएको छ ।

गाउँपालिकाका तर्फबाट सामुदायिक विद्यालयको पूर्वाधार विकासमा कुनै कमी नगरेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताए । “हामी भौतिक पूर्वाधारमा कमजोर छैनाँै, अब कसरी गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्ने विषय नै सबैको चासो र चिन्ताको विषय हो”, उनले भने “गाउँपालिका, विद्यालय, विद्यार्थी तथा अभिभावक सबैको सामूहिक प्रयासमा शिक्षाको गुणस्तरीयता बढाउन सकिने सोचका साथ अघि बढेका छौँ ।” गाउँपालिकामा सामुदायिक विद्यालयको सङ्ख्या ५२ र संस्थागत विद्यालय पाँच रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width