चट्याङबाट बच्न रक्सी छर्केर घरभित्र पसिन्छ

रासस
वैशाख १३, २०७६
CHATANG
  • चट्याङकै कारण बर्षेनी १–३ जनासम्मको मृत्यु
  • मृत्युबाट बच्न परम्परागत मान्यता अनुसार घर वरिपरि मदिरा छर्केर घरभित्र पस्ने गर्छन
  • दिउँसोको समयमा मेघगर्जन भएमा विद्यालय नै बन्द गरिन्छ ।

पर्वत, १३ वैशाख । जब आकाशमा कालो बादल मडारिन थाल्छ, अनि मेघगर्जन शुरु हुन्छ, तब पर्वतको एक गाउँका बासिन्दा मृत्युबाट बच्न परम्परागत मान्यता अनुसार घर वरिपरि मदिरा छर्केर घरभित्र पस्ने गर्छन ।

चट्याङकै कारण बर्षेनी १–३ जनासम्मको मृत्यु हुने गरेको छ । पर्वतको महाशीला गाउँपालिका–६ फलामखानीका बासिन्दा आकाशमा कालो बादल मडारिना साथ डराएर भरभित्र पस्ने गर्छन । पहाडी क्षेत्रमा पनि चट्याङ पर्न थाल्यो भने रुखमुनी नवस्ने र घरभित्र पस्ने प्रचलन छ ।

उक्त गाउँ पर्वतको सबैभन्दा बढी चट्याङ पर्ने गाउँको रुपमा परिचित छ । उक्त गाउँमा अहिलेसम्म झण्डै २० को चट्याङका कारण मृत्यु भइसकेको छ, भने घाइतेको सङ्ख्या त्यति नै छ ।

स्थानीय जीतबहादुर विकका अनुसार आकाशमा मेघगर्जन शुरु भएपछि घर वरिपरि मदिरा छर्केर भित्र बस्ने चलन रहेको छ । मदिरा छर्केपछि चट्याङ नपर्ने परम्परागत मान्यताका आधारमा मदिरा छर्कने गरेका छौँ, “मदिरा छर्केको दिन चट्याङ नपरेकाले विश्वास लिने गरेका छाैँ ।” उनले भने ।

दलित समुदायको बाहुल्यता रहेको उक्त गाउँमा भूतप्रेत र दैवीशक्तिको पूजामा मदिरा चढाउने प्रचलन पनि कायमै रहेको छ । उक्त मदिरा घर वरिपरि छर्केपछि दैवीप्रकोप हट्ने विश्वासले मदिरा छर्कने गरिएको हो, विकले भने ।

बाबुबाजेको पालादेखि नै यस्तै गर्ने प्रचलन भएर हामीले पनि मेघगर्जन शुरु भएपछि मदिरा चढाउने गरेका छाैँ अर्का वृद्ध धनबहादुर विश्वकर्माले भने –एउटै गाउँमा वर्षेनी चट्याङ पर्नुको कारण पत्ता लगाउन सके हुन्थ्यो । झण्डै ८० वर्ष अघिसम्म उक्त स्थानमा रहेको फलामखानीबाट फलाम निकालिन्थ्यो, फलाम खानीकै कारण यहाँ वढी चट्याङ परेको हो कि ? विश्वकर्माले प्रश्न थियो ।

समुद्री सतहदेखि दुई हजार फिटभन्दा उचाइमा रहेको उक्त गाउँ जिल्लाकै सबैभन्दा विकट गाउँसमेत हो । पछिल्लो समय नेपाल टेलिकम र एनसेलको टावरसमेत निर्माण भएको उक्त गाउँमा चट्याङका घटना झनै बढ्न थालेको स्थानीयको भनाइृ छ ।
दिउँसोको समयमा मेघगर्जन भएमा विद्यालय नै बन्द गर्नुपर्ने अवस्था छ, स्थानीय बलबहादुर क्षेत्रीले भने “वर्षायामभन्दा हिउँदमा चट्याङ बढी पर्ने भएकाले स्थानीयवासी समस्यामा पर्ने गरेका छन।” वर्षेनी चट्याङबाट हुने क्षति न्यूनीकरण गर्न कुनै सचेतनामूलक कार्यक्रम पनि गाँउमा संचालन हुन सकेका छैनन । वर्षेनी चट्याङको पीडा खेप्न नसकेको गाउँका झण्डै एक दर्जन परिवार बसाइँसराइसमेत गरिसकेका छन् । उनीहरु बसाइँ सरेर अन्यत्र गएको स्थानीय रनबहादुर परियारले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width