गुफाभित्र कार्यपालिकाको बैठक

रासस
वैशाख ११, २०७६
Bandipur-9

दमौली, ११ वैशाख । तनहुँ बन्दीपुर गाउँपालिकाले दक्षिण एशियाकै ठूलो दाबी गरिएको सिद्वगुफाभित्र कार्यपालिकाको बैठक सम्पन्न गरेको छ ।

बन्दीपुर गाउँपालिका–५ विमलनगरस्थित सिद्वगुफाको प्रचारप्रसार गरी पर्यटक आकर्षित गर्ने उद्देश्यसहित गाउँपालिकाको ४१ औँ कार्यपालिकाको बैठक मङ्गलबार सो गुफाभित्र सम्पन्न गरेको हो ।

पर्यटकीय तथा धार्मिकस्थलको प्रचारप्रसारका लागि गाउँपालिकाले प्रत्येक वडामा पुगेर कार्यपालिकाको बैठक गर्ने नीतिबमोजिम सिद्वगुफाभित्र बैठक सम्पन्न गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । उनले भने “सिद्वगुफाको प्रचारप्रसार गरी पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसहित कार्यपालिकाको बैठक नै गुफाभित्र ग¥यौँ ।”

गुफाभित्र बसेको बैठकले कार्यपालिका सदस्य गिरबहादुर बस्यालको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति गठन गरेको छ । राष्ट्रिय प्रसारण लाइनको विद्युत उपभोग गर्न वञ्चित रहेका २२ घरमा सौर्य ऊर्जा प्रणाली जडानका लागि सात लाख ७३ हजार रुपैयाँ बजेट विनियोजन गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए ।
बैठकले गोबर ग्याँस जडानका लागि तीन लाख ३६ हजार रुपैयाँ नौ जना माछापालक कृषकलाई छ लाख रुपैयाँ, विपन्न परिवारलाई स्वास्थ्य बीमाका लागि थप तीन लाख रुपैयाँ बजेट विनियोजन गर्ने निर्णय गरेको छ ।

बैठकले बन्दीपुर अस्पतालमा सञ्चालन गर्न लागिएको शल्यक्रिया सेवाका लागि चाहिने आवश्यक औषधि खरीद गर्ने, दररेट निर्धारण गर्ने, चालू शीर्षकमा रहेका केही बजेटलाई रकमान्तर गर्ने, ढल निकास पोखराबाट प्राप्त ४० करोड रुपैयाँ बजेटबाट वडा नं ४ को टुँडिखेल र झप्री ओदाने पोखरीमा ढल निकासको अनुमति दिने निर्णयसमेत गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width