कर्मचारी समायोजनका असन्तुष्टि सम्बोधन हुन्छ : मन्त्री पण्डित

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७६

कर्मचारीका ९० प्रतिशत गुनासाका मनका वह पोखिएका छन्, ती मनका वह पनि समाधान हुनेछन्।

राँझा, १० वैशाख। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजनमा असन्तुष्ट कर्मचारीको गुनासो सम्बोधन हुने बताएका छन्।

हुम्ला जाने क्रममा नेपालगञ्ज आएका मन्त्री पण्डितले प्रेस सङ्गठन बाँकेद्वारा नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा समायोजनका असन्तुष्टिहरु विधिपूर्वक समाधान हुनेमा ढुक्क रहन आग्रह गरे।

“हामीले अत्यन्त महत्वपूर्ण काम सफलतापूर्वक सकेका छौँ”, मन्त्री पण्डितले भने, “असन्तुष्ट कर्मचारीका ९० प्रतिशत गुनासाका मनका वह पोखिएका छन्, ती मनका वह पनि समाधान हुनेछन्। ”संघीयता कार्यान्वयनको महत्वपूर्ण पक्ष कर्मचारीको व्यवस्थापन सफलतापूर्वक सम्पन्न भएको बताउँदै मन्त्री पण्डितले बाँकी रहेका गुनासा पनि समाधान गरिने बताए। स्वास्थ्य क्षेत्रमा समायोजका क्रममा समस्या देखिएको बताउँदै उनले प्राप्त गुनासाका आधारमा समाधान खोजिने उल्लेख गरे। कर्मचारी समायोजनका कारण तीन वटै तहका सरकारका काममा केही अप्ठेरो परिरहेको जानकारी गराउँदै उहाँले एकअर्काको मर्म बुझेर अघि बढ्न जरुरी रहेको बताए।

मन्त्री पण्डितले राष्ट्रसेवक भइसकेपछि सरकारले खटाएको ठाउँमा जानुपर्ने उल्लेख गर्दै खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारवाही गरिने चेतावनीसमेत दिए। “राष्ट्रको सेवा गर्न भनी शपथ खाएर आएका कर्मचारीले सरकारले खटाएको ठाउँमा जानैपर्छ, गैरजिम्मेवार बन्न मिल्दैन”, उनले भने, “कसैलाई समायोजनमा चित्त नबुझेको भए उजुरी गर्न पाइने व्यवस्था रहेको छ, गुनासो सुनुवाइ समिति छ, जायज गुनासोमा सम्बोधन हुन्छ। ”

मन्त्री पण्डितलाई स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले कर्मचारी सरुवाले बजेट कार्यान्वयनमा बाधा पुगेको गुनासो गरे। रासस

Related News

सम्बन्धित समाचार

hero news full width