पर्वतका आधा दर्जन ठूला योजना लामो समयदेखि अलपत्र

रासस
वैशाख १०, २०७६
Kushma-bazaar

पर्वत, १० वैशाख । बजेट अभाव र निर्माणको जिम्मा लिएकाले लापरवाही गर्दा पर्वतका विभिन्न छ ठूला योजना अलपत्र बनेका छन् ।

कतिपय योजना सम्पन्न भएर पनि अलपत्र परेका छन भने कतिपय निर्माणाधीन अवस्थामै अलपत्र छन् । प्राविधिक पक्षलाई ध्यान नदिइएका कारण करोडौँ खर्चेर निर्माण सम्पन्न भएका योजना त्यसै छोडिएका छन् । जिल्लामा अलपत्र अवस्थामा रहेका योजनामध्ये साविकको धवलागिरि अञ्चलको एक मात्र महिला बन्दीगृह, सदरमुकाम कुश्माबजारमा बसपार्क निर्माण, घुम्ती–खनियाघाट, भुरुङ्दीखोला पुल, ठुलीपोखरी खानेपानी र वायु ऊर्जा केन्द्रलगायतका योजना छन् ।

साविकको धवलागिरि अञ्चलका चार जिल्ला पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई समेट्ने गरी निर्माण थालिएको एक मात्र महिला बन्दीगृह नौ वर्षदेखि अलपत्र अवस्थामा छ । सदरमुकाम कुशमाबजारमा निर्माणाधीन बसपार्कसमेत लामो समयदेखि अलपत्र अवस्थामा छ । धवलागिरिका चार जिल्ला आउजाउ गर्ने सयौँका सङ्ख्याका सवारीसाधन पर्वत आउँदा सडककै छेउमा पार्किङ हुने गरेका छन् । तत्कालीन अवस्थामा रु एक करोड ५९ लाख बजेट विनियोजन गरेर निर्माणको काम प्रारम्भ गरिएको भए पनि यो काम अलपत्र अवस्थामा छ

त्यसैगरी विसं २०६३ मा पर्वतको महाशिला गाउँपालिका–६ फलामखानीमा हावाबाट बिजुली निकाल्ने भनी रु एक करोडको लागतमा वायु ऊर्जा केन्द्र निर्माण भयो । निर्माण पूरा भएर एक वर्षसम्म विद्युत उत्पादन गरिरहेको आयोजना अहिले अलपत्र अवस्थामा छ ।

कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा विसं २०५२ मा निर्माण भएको टुनीखोला आयोजना निर्माण पूरा हुँदासाथ नै अलपत्र परेको छ । तेइस वर्ष अगाडि जिल्लाको गौरवको योजना मानिएको खानेपानी आयोजनाबाट स्थानीयवासी झन्डै ४०० बढी घरधुरीलाई प्रत्यक्ष फाइदा पुगेको थियो । पानीको चरम समस्या रहेको ठूलीपोखरीका बासिन्दाले सोचेका थिए, अब सधैँका लागि खानेपानीको समस्या टर्ने भयो । तर, उनीहरूको त्यो सपना भने एक वर्षमै भताभुङ्ग भयो ।

करीब एक वर्षसम्म धारामा पानी आयो तर त्यसपछि विस्तारै धारामा पानी आउन छोड्यो । अहिले आयोजनाको रिजर्भेसन ट्याङ्की मात्र देख्न पाइन्छ, पानी खस्ने धाराको त अवशेष पनि बाँकी छैन । टुनीखोलामा रहेको पानीको मुहान र पानी जम्मा गरेर गाउँमा वितरण गर्नका लागि निर्माण गरिएको रिजर्भेसन ट्याङ्कीबीचको उचाइको तह नमिलाइकन निर्माण गरेका कारण नै निर्माण पूरा गर्ने बित्तिकै आयोजना बन्द भएको हो ।

कुश्मा नगरपालिका–२ घुम्तीदेखि जलजला गाउँपालिका–८ खनियाघाट जोड्ने गरी निर्माण आरम्भ गरिएको सडकको केही भाग ट्र्याक खुलाएपछि अलपत्र परेको छ । घुम्ती लाम्पाटा हिमालय मावि खुर्कोट पाङ नुवार खनियाघाट नाम दिइएको सडकलाई कुश्माबाट म्याग्दी पुग्ने सडकको वैकल्पिक सडकको रूपमा विकास गर्न लागिएको थियो । विसं २०७३ मा जयबाबा गोरख ओखलढुङ्गा कन्स्ट्रक्सन एण्ड सप्लायर्सले सडक निर्माणको लागि ठेक्का सम्झौता गरेको थियो । विसं २०७५ को असारसम्ममा कालोपत्रसहित सडकको काम सक्ने गरी रु छ करोड ९६ लाख ९० हजार ६३१ मा निर्माण कम्पनीले ठेक्का लिएको थियो ।

यसैगरी पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका–८ जोड्ने भुरुङ्दीखोला माथिको निर्माणाधीन पुल झण्डै चार वर्षअघि निर्माण शुरु भए पनि अलपत्र रहेको छ । निर्माण शुरु भएको केही महीनामै ठेकेदारले काम छाडेर हिँडेपछि पुल अलपत्र परेको थियो । पर्वत र कास्कीको सिमानामा पर्ने रामदुवालीमा लामो समयदेखि भुकताङ्लेवासीले पक्की पुलको माग गर्दै आएका थिए । रु छ करोड १३ लाखको लागतमा बन्न लागेको पुल चालू आर्थिक वर्ष २०७४÷७५ मा सम्पन्न गर्नुपर्ने भए पनि अझै धेरै काम बाँकी रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width