सुनसरीमा स्वतन्त्रको वीसौं शाखा, अध्यक्षमा कार्की

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७६
SP (1)

इटहरी, ७ बैशाख । सुनसरीका स्वतन्त्र पत्रकारहरुको सम्पन्न भेलाले स्वतन्त्र पत्रकार संघ नेपाल सुनसरी शाखाको गठन गरेको छ । युवाजागरण साप्ताहिकका सम्पादक खगेन्द्रबहादुर कार्कीको अध्यक्षतामा संघको जिल्ला कार्य समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा कोचिला एफएमका अकवर अली, सचिवमा प्रदेश अनलाईनका तेज वन, सहसचिवमा पूर्वी हटलाइनका टिका विक र सदस्यमा खबरविट अनलाइनका शिशिर भट्टराईलाई चयन भएको अध्यक्ष कार्कीले बताए । उनका अनुसार राष्ट्रिय पार्षदमा शालिग्राम पाण्डे(सम्पादक पूर्वी हटलाइन), मोहन ढकाल(श्रीजनमत साप्ताहिक), मनिता चाम्लिङ राई(संपादक दिव्य रोशनी साप्ताहिक), प्रेम गिरी(प्रदेश दर्पण दैनिक कार्यवाहक संपादक) चयन भएका छन् ।

सो भेलामा संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले संघ कुनै पनि दल वा पत्रकार महासंघको विरोधी नभएको तर त्यहाँ भित्रका विकृति विसंगति औंल्याउँदै आएको बताए । उनले पत्रकार सधैँ माननीय हुन्छ कहिल्यै भूपू हुँदैन भन्दै पत्रकारहरू पेशागत मर्यादामा रहनु पर्नेमा जोड दिए । संघका राष्ट्रिय महासचिव नवराज पहाडीले संघको उद्देश्यमा प्रकाश पार्दै ‘पत्रकार बन्नु त स्वतन्त्र बन्नु स्वतन्त्र नै हो पत्रकार भन्नु’ भन्ने नाराका साथ क्रियाशील रहेको बताए। उनले नेपालको पत्रकारिता दिशा विहीन हुँदै गएको, वास्तविक पत्रकारहरू छाँयामा पर्ने विडम्बनापूर्ण स्थितिलाई चिर्नका लागि संघको विस्तार आवश्यक रहेको बताए ।

सो भेलामा शुभकामना मन्तव्य व्यक्त गर्दै अग्रज पत्रकार शालिग्राम पाण्डेले समाजलाई सुसूचित गर्ने पत्रकारको जिम्मेवार भूमिकाका आत्मसात गर्नका लागि संघ क्रियाशील रहेको पाउँदा खुशी लागेकोे र भोलिका दिनमा पनि निरन्तरता दिने बताए । त्यस्तै, पत्रकार टीका विकले व्यक्तिगत र पेशागत सुरक्षाका लागि संघको उल्लेखनीय भूमिका हुनुपर्नेमा जोड दिए । सो अवसरमा पत्रकारहरु मोहन ढकाल, खगेन्द्र कार्की सहितले शुभकामना व्यक्त गरे । २०६८ सालमा स्थापना भएको संघको सुनसरी विशौं शाखा हो । भेला सुनसरीका अग्रज पत्रकार शालिग्राम पाण्डेको अध्यक्षतामा भएको थियो ।

यसैबीच मोरङका स्वतन्त्र पत्रकारहरुको संगठन ‘स्वतन्त्र पत्रकार समूह’ पोखरामा केन्द्रीय कार्यालय रहेको स्वतन्त्र पत्रकार संघ नेपालमा आवद्ध भएको छ । संघका राष्ट्रिय अध्यक्ष र महासचिवको विशेष उपस्थितिमा विराटनगरमा भएको पत्रकारहरुको भेलाले उक्त निर्णय गरेको हो ।

भेलालाई सम्बोधन गर्दै स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले संघको स्थापनाकालीन इतिहासका बारेमा जानकारी दिँदै स्वतन्त्र पत्रकारहरुको हकहितका लागि संगठनको आवश्यकता महसुस गरी संघको स्थापना गरिएको बताए ।
संघका राष्ट्रिय महासचिव नवराज पहाडीले संघको उद्देश्यमा प्रकाश पार्दै आवाजविहीनहरुका आवाज बन्ने हामी हाम्रा आवाजलाई दविन नदिन स्वतन्त्र पत्रकार संघको आवश्यकता भएको बताए । उनले स्वतन्त्र पत्रकारहरुको सम्मानका लागि संघ मार्फत् विभिन्न पुरस्कार सञ्चालन गरेको जानकारी दिए ।

शुभकामना मन्तव्य राख्दै नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोख्रेलले मोरङमा स्वतन्त्र पत्रकारहरुको महत्व र योगदान उल्लेखनीय रहेको चर्चा गरेका थिए । यसैगरी पूर्व जिल्ला अध्यक्ष मोहन भण्डारीले स्वतन्त्र पत्रकार संघको गतिविधिबाट आफू प्रभावित भएको र संघमा आवद्ध हुन चाहेको धारणा राखेका थिए ।

भेलाको अध्यक्षको आसनबाट स्वतन्त्र पत्रकार समूह मोरङका संयोजक विजयहरि खतिवडाले झण्डै एक दशकदेखि जिल्लामा स्वतन्त्र गतिविधि सञ्चालन गरेको र २०७० सालदेखि स्वतन्त्र पत्रकार समूह बनाइ कार्यरत रहँदै आएको जानकारी दिए ।
भेलामा समूहका निवर्तमान अध्यक्ष महाप्रसाद खतिवडा, नेपाल पत्रकार महासंघ मोरङका सचिव अर्जुनकुमार आचार्य, मोहन मानन्धर, उद्धव घिमिरे, सुमन बस्नेत, महानन्द सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त भेलामा सहभागीहरुले संघको उद्देश्य, इतिहास र भावी कार्यक्रमबारे जिज्ञासा राखेका थिए । भेलाले एकसाताभित्र संघको जिल्ला समिति गठन गर्ने निर्णय गरेको छ ।

संघका जिल्ला शाखाहरूमा कास्की, रुपन्देही, लमजुङ, पाल्पा, बाँके, अर्घाखाँची, नवलपरासी, मकवानवुर, चितवन, तनहूँ, स्यांङ्जा, गोरखा, काठमाडौं, दाङ, कैलाली, कञ्चनपुर, नवलपुर, कपिलवस्तु रहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width