लन टेनिसमा विभागीयको वर्चश्व

आठौं राष्ट्रिय खेलकुद

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७६
lawn tennis_Fotor

बुटवल, ३ वैशाख। बुटवलमा सञ्चालित आठौं राष्ट्रिय खेलकुदअन्तर्गत लन टेनिस प्रतियोगितामा विभागीय टिम आर्मी र एपीएफले कब्जा जमाएका छन्।

सोमबार सम्पन्न प्रतियोगितामा पुरुष टिम इभेन्टमा एपीएफले स्वर्ण पदक जितेको छ भने नेपाली सेना रजत तथा एनआरएन टिम र गण्डकी प्रदेशले कास्य पदक जित्न सफल भए।

महिला इभेन्टमा नेपाली सेनाले स्वर्ण पदक हात पार्न सफल भयो भने एपीएफले रजतमा चित्त बुझाउनुपर्यो। त्यस्तै, प्रदेश ३ र गण्डकी प्रदेशले कास्य पदक प्राप्त गर्न सफल भए।

पुरुष एकल इभेन्टमा एनआरएनका संरक्षक भुषण बज्राचार्यले स्वर्ण जित्दा नेपाली सेनाका प्रणव खनाल रजत तथा एपीएफका सन्तोष खत्री र गण्डकी प्रदेशका प्रदीप खड्काले कास्यमा चित्त बुझाए।

महिला एकल इभेन्टतर्फ एपीएफका प्रेरणा कोइराला स्वर्ण जितिन्। सेनाका अभिलासा विष्ट रजत पदक र नेपाली सेनाकै आइराएम रावत र प्रदेश ३ का रायना शाहले कास्य पदक जिते।

पुरुष युगल इभेन्टतर्फ एपीएफका जितेन्द्र परियार आईभन्हो लिसानोभीचको जोडीले स्वर्ण, गण्डकीका प्रदीप खड्का र नवीन मगरको जोडीले रजत पदक हात पारे। गण्डकी प्रदेशकै धरम लामिछाने र अनिल साईको जोडीले कास्य तथा एपीएफका छेवाङ लामा र सन्तोष खत्रीले कास्य पदक जितेका छन्।

महिला युगलतर्फ एपीएफका सलोनी तामाङ र अस्लेशा लिसानोभीचको जोडीले स्वर्ण पदक कब्जा जमाउन सफल भए। एपीएफकै प्रेरणा कोइराला र एनी माथेमाको जोडीले रजत र गण्डकी श्रीया भट्टराई र रोमिका बुद्धाचार्यको जाडीले कास्य पदक पाए।

मिश्रिततर्फ एपीएफका आइभन्हो लिसानोभीच र अस्लेशा लिसानोभीचको जोडीले स्वर्ण, सेनाका प्रणव खनाल र अभिलाषा विष्टको जोडीले रजत तथा गण्डकीका अनिल साई र गंगा शर्माको जोडीले कास्य तथा नेपाली सेनातर्फबाट अभिनव आचार्य र आईरा एम रावतको जोडी कास्य पाए।

Related News

सम्बन्धित समाचार

hero news full width