मोदीबारेको चलचित्र प्रतिबन्ध

रासस
चैत्र २८, २०७५
narendra modi

नयाँ दिल्ली, २७ चैत। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधरित चलचित्र “पीएम नरेन्द्र मोदी” प्रदर्शन गर्न तत्कालका लागि रोक लगाइएको छ।

सत्ता र शक्तिको दुरुपयोग गर्दै निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्रीका बारेमा बनाइएको चलचित्र प्रदर्शन गर्न लागिएको भन्दै उजुरी परेपछि तत्कालका लागि प्रदर्शनमा रोक लगाइएको हो। निर्वाचन आयोगले प्रधानमन्त्री मोदी आफै निर्वाचनमा उम्मेदवार रहेकाले भारतमा हुन लागेको देशव्यापी निर्वाचन नसकिँदासम्म सो चलचित्र प्रदर्शन गर्न रोक लगाइएको जनाएको छ।

भारतमा अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा गरेर लोकसभा निर्वाचन हुन लागेको छ। निर्वाचनमा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) र प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका बीचमा मुख्य प्रतिस्पर्धा हुन लागेको छ।

प्रमुख प्रतिस्पर्धी काँग्रेसले निर्वाचन आयोगसमक्ष दरखास्त बुझाउँदै ‘पीएम नरेन्द्र मोदी’ नामक चलचित्र चुनाव सम्पन्न नहुँदासम्म प्रदर्शन गर्न नदिन माग गरेको थियो। निर्वाचनको स्वार्थ देखिएको भन्दै काँग्रेसले उठाएको विषयमा आम समर्थन देखिएको थियो भने आयोगले पनि त्यसलाई महसुस गरी प्रतिबन्ध लगाउने निर्णय गर्यो। भारतमा निर्वाचन आयोगको अनुमति बिना चुनावको केही हप्ताअघि राजनीतिक प्रचार गर्ने किसिमका सामग्रीको विज्ञापन गर्न निषेध गरिएको छ।

प्रतिबन्ध लगाइएको चलचित्रमा प्रधानमन्त्रीको प्रमुख भूमिका अभिनेता विवेक ओबरायले खेलेका छन्। चलचित्रमा मोदीले बाल्यकालमा रेलहरुमा चिया बेचेकोदेखि किशोरावस्थामा हिमालय गएको र सन् २०१४ मा कसरी भारतीय जनता पार्टीमार्फत ऐतिहासिक जित हासिल गरेको भन्नेबारे विस्तृत रुपमा सकारात्मक सन्देश दिने विषयवस्तु राखिएको छ।

त्यसैगरी उनी गुजरातको मुख्यमन्त्री भएका बेला अनुकरणीय काम गरेको, ठूलाठूला समस्याहरु समाधान गरेको दृश्य पनि चलचित्रमा समेटिएको निर्माताहरुले जनाएका छन्। समग्रमा मोदीको सफलता देखाउने र उहाँप्रतिको आकर्षण बढाउने मनसाय चलचित्रमा समेटिएको छ। यसअघि १२ अप्रिलमा रिलिज हुने भनिएको उक्त चलचित्र एक हप्ता अघि नै अर्थात् अप्रिल ५ मा नै प्रदर्शन गर्ने भनिए पनि फेरि रोकिएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width