नेपाललाई अन्तराष्ट्रियस्तरको बौद्ध शिक्षा र अनुसन्धान केन्द्रको रूपमा विकास गर्न माग

आदर्श समाज सम्वाददाता
चैत्र २५, २०७५
religionbuddhajpg

लमजुङ, २५ चैत । नेपाललाई अन्तराष्ट्रियस्तरको बौद्ध शिक्षा र अनुसन्धान केन्द्रको रूपमा विकास गर्न माग गरिएको छ । लमजुङमा आयोजना गरिएको १२औं राष्ट्रिय बौद्ध सम्मेलन सातबुँदे घोषणा पत्र जारी गर्दै त्यस्तो माग गरिएको हो ।

धर्मोदय सभाका केन्द्रीय उपाध्यक्ष एवं घोषणापत्र तयारी समितिका संयोजक पद्मज्योतिले घोषणापत्र जारी गरेका हुन् । उनले पछिल्लो समय बौद्ध धर्मप्रति आक्रमण हुन थालेकोमा चिन्ता व्यक्त गरेका हुन् ।

जारी घोषणापत्रको पहिलो बुँदामा भनिएको छ– ‘बुद्ध धर्म भन्नु नै बौद्ध शिक्षा हो । मानिस जीवनमा दुःखवाट मुक्त हुन र सुख पूर्वक जीवन जीउन बुद्धले दिएको शील, समाधि र प्रज्ञाको शिक्षालाई नेपालीहरूमा सहज उपलब्ध हुन बौद्ध संघ संस्थाहरू प्रमुख शहर मात्र नभई गाँउ, पहाड, तराई मधेश सबै ठाँउमा अग्रसर हुनुपर्ने र नेपाल सरकारले पनि सुहाउँदो शिक्षा नीति र कार्य योजनाहरू सम्पादन गर्नु पर्ने देखिन्छ ।

लुम्बिनीलाई विश्व शान्तिको मुहान भनेर घोषणा पनि भइसकेको परिप्रेक्षामा नेपाललाई अन्तराष्ट्रियस्तरको बौद्ध शिक्षा र अनुसन्धान केन्द्रको रूपमा विकास गर्न माग गर्दछौं ।’यसैगरी, ‘संविधान सभाद्वारा पारित गरी जारी गरिएको नेपालको संविधानको प्रस्तावनामा नेपाललाई बहुजातीय, बहुभाषीक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता युक्त विशेषतालाई आत्मसात गरी विविधतायुक्त एकता, सामाजिक सांस्कृतिक ऐकवद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्ने संकल्प गरिएकोमा नेपालका समस्त बौद्ध तथा जनजाति समुदाय गौरव अनुभुति गर्दछ ।’

जारी घोषणा पत्रमा उल्लेख छ । त्यस्तै, नेपालमा यसरी ऐतिहासिक संविधान जारी भइसकेतापनि संविधानमा उल्लेखित मान्यता र मर्म विपरित कसैबाट एउटा धर्म र संस्कृति प्रति बढी संलग्नता देखाउनु वा धार्मिक निस्पक्षतामा केही शंका उत्पन्न गराउने कुनै कार्य नहोस भनि विशेष सर्तकता अपनाउन अपिल गर्दछ भनिएको छ ।

यसैगरी ‘शान्ति नायक भगवान गौतम वुद्धको जन्म नेपालको लुम्विनीमा भएकोमा नेपाली जनता अहो भाग्य अनुभव गर्दछ । विश्वका समस्त बौद्धहरू, शान्तिकामी मानिसहरूको लागि लुम्विनी प्रेरणाको अद्वितीय श्रोत रहेको निर्विवाद छ । लुम्बिनीमा संयुक्त राष्ट्र संघ र नेपाल सरकारको प्रयासमा केही सन्तोषजनक प्रगति भइरहेको छ तर लुम्विनी विकास कोष मार्फत भैरहेका पहलहरू र प्राप्ति धेरै सिमित छन् । कपिलवस्तु क्षेत्र जहाँ सिद्धार्थ राजकुमारले २९वर्ष विताएको र नवलपरासीमा देवदह रामग्राम क्षेत्र जहाँ मायादेवी र यशोधराको जन्म भयो र बुद्ध अस्थिधातु विद्यमान रामग्राम जस्ता अतुलनीय बुद्धकालीन स्थलहरूमा केही पनि विकास हुन सकेन । नेपाल सरकारले ती स्थलहरू समेटेर बृहत लुम्बिनी विकासको तत्काल थालनी गर्नु पर्ने देखिन्छ उल्लेख गरिएको छ ।

अब घरघरमा स्कूलहरूमा, टोल, समाजमा, विहार, गुम्बा र सामाजिक संस्थाहरु मार्फत हिंसा नगर्ने, चोरी नगर्ने, झूठ नबोल्ने, मिथ्याचार नगर्ने र नसा सेवन नगर्ने जस्ता पञ्चशीलको शिक्षा र मनलाई लोभ, द्वेष र मोहका विकारबाट मुक्त गर्ने विपश्यना ध्यान र मानिसमा विवेकशीलता बृद्धि गर्ने चार आर्य सत्यको ज्ञानलाई व्यापक प्रचार गरी सकारात्मक मैत्री र करुणायुक्त समाज निर्माणमा लाग्नु पर्ने देखिन्छ । यसले बुद्ध धर्मको ज्ञान र आचरण नेपाली जनतामा व्याप्त गर्न सकेमा जनमानसमा सदाचार बढ्न गइ समाजमा शान्ति, सदभाव बढ्ने छ भने सेवा दिने सरकारी प्रशासनमा इमान्दारिता, लगनशीलता, जवाफदेहिता बृद्धि भई सुशासन कायम रहने छ भनिएको छ ।

त्यस्तै, दुई हाजार पाँच सय वर्ष अगाडि देखिनै नेपालमा बुद्ध धर्म फैलिई कला र संस्कृति विकास भई उत्कृष्ट र अमूल्य बौद्ध सम्पदाहरू निर्माण भएका छन् । ती सम्पदाहरूले नेपाल राष्ट्रको गौरवलाई बढाएको छ र देश विदेशवाट आउने पर्यटकहरूलाई मोहित बनाउन सकेको छ । कतै गरीविको कारणले र कतै भौतिक विकास योजनाहरू संचालन गर्ने काममा नेपालका ती अमूल्य कलात्मक भौतिक अभौतिक सम्पदाहरूको विनाश भैरहेका छन् । काठमाडौ उपत्यका, हिमाली भेग र तराई मधेसमा छरिएका विहार, गुम्बा र पवित्र स्थलहरूको विकासमा जोड दिइ पर्यटनवाट यथेष्ट लाभ लिने कार्यमा प्राथमिकता दिन पर्ने देखिन्छ ।

त्यसैगरी, घोषणापत्रको सातौं बुँदामा भनिएको छ– ‘नेपालको सरकारी तथ्यांकमा बौद्धहरूको जनसंख्या वास्तविकता भन्दा अति न्यून देखिन्छ । यसो हुनुमा जनगणना गर्ने प्रविधि र प्रक्रियामा कमजोरीहरू छन् भने बौद्ध समुदायमा पनि चेतनाको अभाव देखिन्छ । बौद्धहरूको संख्या यथार्थ भन्दा कयौ गुणा कम देख्दा सरकारको नीति र कार्य योजना निर्माणमा असर पर्नुका साथै राजनीतिक सामाजिक क्षेत्रमा गलत अर्थ लगाउने प्रयास भइ रहेको देखिन्छ ।’

यो सम्मेलन सबै जाति, संस्कृति धर्मलाई आ–आफ्नो पहिचानका साथ फल्न फूल्न दिए हाम्रो देश बलियो, सुन्दर र शान्त बन्दछ भन्ने विश्वास गर्दछ । तसर्थ यो सम्मेलनमा सहभागी संघ संस्थाहरू एकजुट भई आगमी जनगणनाका लागि धर्मोदय सभाको तत्वावधानमा सम्पूर्ण बौद्ध तथा आदिवासी जनजातिहरूको सत्य तथ्य तथा पहिचान खुलाउने अभियान गर्न एक समन्वय समिति गठन गर्ने नीति तय गर्दछ भनिएको छ ।

धर्मोदय सभा नेपाल केन्द्रीय समितिको आयोजना र लमजुङ स्थित बेसीशहर र भोटेओडार शाखाको व्यवस्थापनमा सो राष्ट्रिय सम्मेलन गरिएको हो । सो अवसरमा प्रदर्शन गरिएको झाँकी ¥यालीमा बेसीशहर स्थित शान्तीटोल आमा बाबा समूहलाई पहिलो घोषणा गरी कदर पत्र र एकहजार नगदद्वारा पुरस्कृत गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width