बिस्केट जात्रा दुई चरणमा

rss रासस
चैत्र २१, २०७५

काठमाडौँ, २१ चैत । टोखामा यस वर्षको बिस्केट जात्रा विहीवारदेखि शुरु भएको छ । प्रत्येक वर्ष घोडेजात्राको अघिल्लो दिन स्थानीय ठनेलाक्षी चोकमा लिङ्गो उठाएपछि जात्रा प्रारम्भ भएको मानिन्छ । यहाँको बिस्केट जात्रा दुई चरणमा मनाइन्छ ।

लिङ्गो ठडाएपछि तीन दिनसम्म गरिने धार्मिक गतिविधि पहिलो चरणमा पर्छ भने चैत मसान्तदेखि पाँच दिनसम्म गरिने पूजा तथा जात्रालाई दोस्रो चरणमा लिइएको छ । विभिन्न धोजाले सिङ्गारिएको उक्त लिङ्गोलाई विधिपूर्वक पूजाआजा गरी आगामी वैशाख ५ गते ढालिनेछ । यसअवधिमा मुस्कानेश्वर महादेव, गणेश, सरस्वती, मसानकाली, सपनतीर्थ गणेश, कोथु गणेश र चण्डेश्वरीको मूर्तिलाई प्यागोडा शैलीको खटमा राखेर सिन्दूर जात्रा गर्दै नगर परिक्रमा गराइन्छ । चोकमा विभिन्न देवीदेवताका मुखुन्डो लगाएर नाच गरिने जात्रामा सर्वसाधारणको घरघरबाट फूल, अक्षता र सिन्दूर चढाउने गरिन्छ ।

नगर परिक्रममा गर्ने क्रममा स्थानीय नारायण पोखरीमा सम्बन्धित खटको महास्नान गराइन्छ । स्थानीयवासीले खटलाई स्नान गराएपछि पोखरीमा गहना खोज्ने गरिन्छ । लिच्छविकालदेखि नै यो जात्रा मनाउने परम्परा रहेको जात्रामा स्थानीय सपनतीर्थमा मेला लाग्ने गर्दछ, त्यहाँ स्नान गरेमा विभिन्न रोग, व्याधीबाट मुक्त भई परिवारमा सुख, शान्ति तथा समृद्धि कायम हुने विश्वास छ ।
सांस्कृतिक सम्पदाले भरिएको टोखामा विभिन्न जात्रा पर्व प्रचलनमा छन् । जीवित देवी कुमारी र गणेशलाई पनि बिस्केट जात्रामा सहभागी गराइन्छ । जात्राको अवधिमा सिन्दूर जात्रा गरेर विभिन्न देवीदेवताका खट गुठियारले बोकेर नागको प्रतीकका रूपमा ठड्याइएको लिङ्गो परिक्रमा गराइन्छ । नारायण मन्दिरको पनि तीनपल्ट परिक्रममा गराइन्छ । स्थानीयवासीको सुरक्षाका लागि चण्डेश्वरी देवीको महत्वपूर्ण भूमिका रहेको विश्वासका साथ पूजा गरिन्छ ।

रोगव्याधी निको बनाउने सपनतीर्थ, विद्याकी देवी सरस्वती, दरबारमा पुजिने कोथु गणेशलगायत सात देवीदेवतालाई विशेष रूपमा मान्ने परम्परा रहेको स्थानीयवासी देवराज डङ्गोलले बताए । जात्रामा सपनतीर्थ दाफा खलक, जोर भीमसेन, चण्डेश्वरी, इन्द्रायणी, गणेश, सपनतीर्थ धिमे, सरस्वती धिमे बाजालगायत समूह तथा अन्य सहयोगी संस्थाले सहभागिता जनाउने प्रचलन छ ।

यही चैतको अन्तिम सातामा शुभ साइत हेराएर त्यस क्षेत्रका स्थानीयवासीको रक्षाका लागि विभिन्न देवीदेवताको पूजा तथा जात्रामा अनिष्ट नहोस् भनेर चारै दिशाका देवतालाई निमन्त्रणा गर्ने गरिन्छ । त्यसैगरी स्थानीय शक्तिपीठमा पञ्चबलि दिने र प्रसाद वितरणको व्यवस्था गरिन्छ । प्राचीन समयमा विभिन्न दानवीय शक्तिले त्यस क्षेत्रमा नगरवासीलाई दुःख दिएकाले तिनलाई सुरक्षित राख्न सो जात्रा निकाल्ने प्रचलन शुरु गरिएको टोखा सम्पदा संरक्षण दबुःका अध्यक्ष मणिराज डङ्गोलले जानकारी दिए ।
जात्राको प्रचलन शुरु गरिएपछि खराब शक्तिले स्थानीयवासीलाई दुःख दिन नसकेका कारण स्थानीयवासीले त्यस पर्वलाई निरन्तरता दिएको बताइएको छ । त्यहाँको जात्रामा जिब्रो छेड्ने चलन भने छैन ।

राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रियस्तरमा सो जात्रा प्रवद्र्धन गर्न स्थानीयवासीले पहल गरिरहेका छन् । काठमाडौँबाट करीब १० किलोमिटरको दूरीमा रहेको टोखामा हुने उक्त जात्रामा सहभागी हुन काठमाडौँ तथा आसपासका सर्वसाधारण सहभागी हुने गर्दछन् । जात्रा अवधिमा प्रयोग गरिएका विभिन्न देवघरका देवीदेवतालाई सम्बन्धित देवघरमा पुनस्र्थापना गरी जात्रा समापन गरिन्छ ।

तपाइको विचार व्यक्त गर्नुहोस्

प्रमुख समाचार

सरकारका ९ सचिवको सरुवा