नेपाललाई कीर्ति स्मृति पत्रकारिता सम्मान

वातावरणमैत्री बन्न प्रथम राष्ट्रपतिको आग्रह

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०७५
MDC53934_Fotor

अग्रज पत्रकार किशोर नेपाललाई कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान–२०७५ प्रदान गर्दै प्रथम राष्ट्रपति डा. रामबरण यादव। साथमा सम्मान अक्षकोषका दाता प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर के.सी., लगायत। तस्वीर : दुर्गा प्रसाद पौडेल/अदर्श समाज

पोखरा, १९ चैत। सूर्यप्रेम बहुउद्देश्यीय समाजसेवा ट्रष्टद्वारा स्थापित कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान–२०७५ सोमबार अग्रज पत्रकार किशोर नेपाललाई प्रदान गरिएको छ।

नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले पत्रकार नेपाललाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित सम्मानपत्र प्रदान गरेका हुन्।

नेपाल पत्रकार महासंघ, कास्कीद्वारा सञ्चालन हुने गरी सो वृत्ति सम्मानका लागि उद्योगपति सांसद सूर्यर्बहादुर केसी र उनका परिवारबाट बाबु कीर्तिबहादुर केसीको स्मृतिमा १५ लाख रुपैयाँभन्दा बढीको अक्षयकोष स्थापना गरिएको थियो। यसअघि सो सम्मान युवराज घिमिरे र बद्रीविनोद ‘प्रतीक’ ले प्राप्त गरिसकेका छन्।

कार्यक्रममा प्रमुख अतिथि डा यादवले पत्रकार नेपाल पत्रकारिता क्षेत्रमा क्रान्तिकारी पत्रकार भएको बताए। अग्रज पत्रकार नेपालको पत्रकारिता क्षेत्रमा पाँच दशक लामो अनुभव रहेको डा यादवले सुनाए।

डा यादवले भने, ‘मभन्दा पनि पहिले नेपालको लोकतान्त्रिक आन्दोलन र पत्रकारितामा उहाँको क्रियाशीलता थियो। १३/१४ वर्षको उमेरदेखि नै भारतीय सोसलिष्ट मुभमेन्टका एक्टिभिस्टहरुसँग नेपालजीको सम्पर्क र सम्बन्ध थियो। ’

यस्तै डा यादवले पत्रकारलाई वातावरणमैत्री बन्न आग्रह गरे। उनले गाउँगाउँमा भएको एक्साभेटर र डोजर आतङ्क रोक्न पत्रकारले भूमिका खेल्नुपर्नेमा जोड दिए। उनले लोकतान्त्रिक बहुदलीय व्यवस्थामा सरकार र प्रतिपक्ष पार्टीलाई व्यवस्थित हुन आग्रह गरे। सरकार पक्ष र प्रमुख प्रतिपक्षलगायत अन्य कुनै पनि पार्टी व्यवस्थित नबनेको उनको आरोप थियो। ‘बहुदलीय व्यवस्थामा सरकारमा बसेको पार्टी पनि व्यवस्थित छैन, प्रमुख प्रतिपक्षीलगायत अन्य प्रतिपक्षी पार्टी पनि व्यवस्थित छैन, ’ उनले भने, ‘सत्तासिन पार्टी पनि व्यवस्थित बनोस्। अप्पोजिसन पार्टी पनि व्यवस्थित बनोस्। ’

राजनीतिक जीवनयात्रामा सफलता, असफलता दुवैको अनुभव आफूसँग रहेको पूर्व राष्ट्रपति यादवले सुनाए। उनले आफ्नो राजनीतिक जीवनयात्रालाई सम्झिए, ‘राजनीतिक यात्रामा मेरो तीतो अनुभव छ। २०४६ देखि जेल, २०५९ देखि पुनः कति पटक जेल। २०६२/०६३ को सफल आन्दोलन। २०६४ मा चुनाव जितेर २०६५ मा राष्ट्रपति बनेँ। ’

उनले आफू अफ्ठ्यारो परिस्थितिमा राष्ट्रपति बनेको पनि सुनाए। ‘यस्तो अफ्ठ्यारो समयमा मलाई राष्ट्रपति बनाइदिनुभयो, ’ उनको कथन थियो, ‘मलाई कन्फिडेण्ट थियो। त्यति बेलै देशलाई जोडेर जानुपर्छ भनेको थिएँ। मधेश र पहाडलाई जोड्दै जानुपर्छ भनेको थिएँ। लोकतन्त्र, गणतन्त्र आएको छ। यही माध्यममार्फत जनतालाई अधिकार दिँदै जानुपर्छ। आइ वाज सिङ्गल म्यान ट्रूथ फर दि नेशनल कज इन दी मधेश। ’

उनले विश्वमै नौलो मोडल लोकतान्त्रिक गणतन्त्र नेपालको शासन पद्दति बनेको उल्लेख गरे। लोकतान्त्रिक गणतन्त्र, संघीयता, समावेशीता, समानुपातिकता, धार्मिक निरपेक्षता उच्च पद्दति रहेको बताए। ‘लोकतान्त्रिक गणतन्त्र, संघीयता, समावेशीता, समानुपातिकता, धार्मिक निरपेक्षता उच्च पद्दतिविरुद्ध जो उल्टापाल्टा बोल्छ, ’ उनले भने, ‘यसको विरुद्ध जो काँग्रेस, कम्युनिष्ट बोल्छ। यो सरासर गलत छ। यही संविधानलाई लागू गर्दै जानुपर्छ। पारदर्शी नीति अपनाएर विधायिका, कार्यपालिका, न्यायपालिका र संवैधानिक निकायहरु लोकतन्त्रको विधि, विधान अनुसार चल्नैपर्छ। देशको सुन्दर भविष्य छ। देशलाई सुन्दर बनाउने कुरामा हामी सबैको कन्ट्रिव्युसन हुनुपर्यो। ’

उनले धर्म परिवर्तनका विषयमा आपत्ति जनाए। पैसा, लोभ र मोहमा धर्म परिवर्तन गनेर्लाई नियन्त्रण गर्न कानून बन्नुपर्नेमा उनको जोड थियो। धर्म परिवर्तनलाई बेलैमा रोक्न नसके भविष्यमा द्वन्द्वको संकेत रहिरहने उनले उल्लेख गरे।

कीर्ति पत्रकारिता वृत्ति सम्मान अक्षयकोषका संस्थापक सांसद सूर्यबहादुर केसीले पोखरेली पत्रकार र नगरवासीलाई आफ्नो श्रोत र उर्जा बताएका छन्। उनले आफ्नो भरोसलाग्दो श्रोत र उर्जा पत्रकारिता जगत र पत्रकार सुधारिन आवश्यक रहेको औल्याए।

‘मेरो श्रोत र उर्जा पोखरेली पत्रकार र नगरवासी हुन्। पत्रकार साथीहरु, तपाईहरु मेरो उर्जा र श्रोत हुनुहुन्छ, ’ उनले भने, ‘पत्रकारहरुले मलाई सूचना दिनुहुन्छ, मैले उहाँहरुलाई समय दिन्छु र उहाँहरुबाट ज्ञान भर्ने गर्दछु। पत्रकारिता क्षेत्रमा पनि सुधार आउन जरुरी छ। गलत सूचना प्रवाह भए, गलत सन्देश जान्छ। सञ्चारमाध्यम र पत्रकारहरु भनेको समाजको संवाहक पनि हो। गलत भए, गलत बोलिदिनुस्। सही भए, सही बोलिदिनुस्। ’

केसीले आफ्नो पहिलो पाठशाला र गुरु आफ्नै पिताजी भएको उल्लेख गरे। उनले भने, ‘म अलि धनी मानिस पनि हुँ। सहयोगी र समाजसेवी पनि हुँ। मेरो पहिलो पाठशाला र पहिलो गुरु पनि मेरै पिताजी हुनुहुन्छ। ’

केसीले पुरस्कार ग्रहण गर्ने र पुरस्कार प्रदान गर्ने दुवै व्यक्तित्व देशको उच्च व्यक्तित्व रहेको औंल्याए। यहाँको धर्म, संस्कृति र परम्परालाई बचाउन दुवै व्यक्तित्वबाट आफूले आशा गरेको उनले व्यक्त गरे।

उनले पूर्व राष्ट्रपतिलाई हिमाल, पहाड र तराई जोड्ने सेतुको संज्ञा दिए। मुलुकको नयाँ संविधान निर्माणमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा यादवको अतुलनीय भूमिका रहेको केसीले औंल्याए।

‘प्रथम राष्ट्रपतिज्यूले मुलुकको नयाँ संविधान निर्माणमा जुन गति प्रदान गर्नुभयो, देशमा दनदनी बलेको आगोलाई निभाउन जुन भूमिका निभाउनुभयो, त्यो सह्रानीय छ, ’ केसीले भने, ‘उहाँको भूमिकालाई हिमाल, पहाड र तराईको सम्बन्धलाई गाढा बनाउन राष्ट्रपतिज्यूको जुन भूमिका रह्यो। यस इतिहासमा मलगायत कुनै पनि नेपालीले बिर्सने छैन। ’

पत्रकार नेपाललाई द्वन्द्वकालमा शान्तिको प्रतीकका रुपमा भेटेको उल्लेख गरे। त्यति बेला पत्रकार नेपालको भूमिका पत्रकारितामार्फत द्वन्द्वको आगो निभाएर देशलाई शान्तिको मार्गमा हिंडाउनु रहेको केसीको भनाइ थियो। उनले भने, ‘पत्रकार महासंघ कास्की शाखाले संचालन गरेको र आफ्नो परिवारले स्थापना गरेको पत्रकारिता पुरस्कार नेपालजस्ता अग्रज पत्रकारलाई दिन पाउँदा आफू र आफ्नो परिवार अत्यन्त हर्षित छ। सम्मानीत पत्रकार नेपाललाई हार्दिक बधाई ज्ञापन गर्दछु। ’

सम्मानित अग्रज पत्रकार नेपालले पोखरालाई प्रकृतिको राजधानीको संज्ञा दिए। उनले आफूले घुमेको देशको ७७ वटै जिल्लाको स्थानहरुमध्ये पोखराजस्तो सुन्दर स्थान अन्यत्र नभेटेको उल्लेख गरे। पोखरा देशकै समृद्धि रहेको नेपालले चर्चा गरे। यहाँको तालतलैया र पर्यटकीय गतिविधिबाट पोखराले थप समृद्धि कमाउनुपर्नेमा उनले जोड दिए।

‘विभिन्न ठाउँहरुमा भ्रमण गर्दा पोखराजस्तो सांस्कृतिक, प्राकृतिक र मौलिक पक्षहरु ठाउँ–ठाउँमा मैले पाएँ, ’ उनले भने, ‘तर, पोखरामा सबै पक्षहरुको मिलन भएको छ। त्यो, अन्यत्र पाउन दुर्लभ नै छ। यो विलक्षण सौन्दर्यको नगरमा तपाईहरुले मलाई पुरष्कृत गर्नुभयो। सम्मान दिनुभयो। सबैप्रति आभारी छु। ’

फेवाताल संरक्षणमा यहाँको पत्रकारहरुले निरन्तर सोध्न र खोज्नुपर्नेमा उनको जोड थियो। पोखराको विकृति र विसंगतिविरुद्ध यहाँको पत्रकारले कलम चलाउनुपर्नेमा उनको जोड थियो।

‘पोखराका पत्रकार साथीहरुले मलाई यस्तो होटलको कोठामा लगेर राखिदिए। जुन कोठाबाट फेवातालको पूरै आकार देखिन्थ्यो। जुन बेला मैले पहिलो पटक फेवाताल देख्दा, जति सुन्दर फेवाताल देखिन्थ्यो। अहिले त्यो फेवाताल हेर्दा कुरुप देखिन्छ, ’ उनले प्रश्नहरु गरे, ‘फेवातालको अवस्था यस्तो किन भयो? देशमा तीन किसिमको सरकार बनेको २ वर्ष भयो। फेवाताल संरक्षणमा यहाँको स्थानीय सरकारले किन ध्यान दिएन? प्रादेशिक सरकारले किन चासो राखेन? फेवाताल संरक्षण सम्बन्धमा गठित अनेकौं आयोगले दिएको सुझाव केन्द्रीय सरकारले किन कार्यान्वयन गर्न सकेन? ’

कार्यक्रममा राष्ट्रिय सभा सदस्य बृन्दा रानामगरले सरकारले सञ्चारजगतमाथि अंकुश लगाउन खोजेको आरोप लगाइन्। विज्ञापन नियमन निहुँमा प्रेसलाई नियन्त्रण गर्न सरकार उद्दत रहेको उनको भनाइ थियो।

पत्रकार महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले प्रेस स्वतन्त्रताहरण गर्न नदिनेतर्फ स्वयं पत्रकारिता क्षेत्र सचेत रहेको बताए। ‘संचार क्षेत्र त्यति कमजोर छैन, ’ ज्ञवालीले भने, ‘कुनै पनि शासकहरुले यो वा त्यो नाममा प्रेस स्वतन्त्रताको गला निमोठ्ने हिम्मत गर्न सक्दैन। ’

पत्रकार महासंघ गण्डकी अध्यक्ष त्रिभुवन पौडेलले नेपालको पत्रकारिता क्षेत्र अझै व्यावसायिक बन्न नसकेको उल्लेख गरे।

लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बलराम ढकालले ‘सुखी नेपाली, समृद्ध नेपाल’ का लागि पत्रकारिता क्षेत्रको उल्लेख्य भूमिका रहने बताए।

नेपाल प्रेस युनियन केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले प्रेस स्वतन्त्रता कायम राख्नुपर्नेमा जोड दिए। प्रतिभा छनोट समिति संयोजक बद्रीविनोद ‘प्रतीक’ ले आधुनिक पोखराको विकास निर्माणमा स्व. कीर्तिबहादुर केसीको अतुलनीय योगदान रहेको बताए। उनका अनुसार कीर्तिबहादुर समाजसेवी र विशुद्ध सफल निर्माण व्यवसायी थिए।

आधुनिक पोखराको निर्माणसँगै पोखराको सडक निर्माण, भोटीखोला खानेपानी आयोजना, फेवातालको बाँध एवं नहर निर्माण र महेन्द्रपुलस्थित पुरानो पुल निर्माणमा स्व. केसीको विशेष योगदान थियो।

पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बिमला भण्डारीले स्वागत र सचिव रामप्रसाद तिमिल्सिनाले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width