अग्रज पत्रकार किशोर नेपाललाई कीर्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान

नारायण शाही
चैत्र १९, २०७५
DSC02272

पोखरा, १९ चैत । अग्रज पत्रकार किशोर नेपाललाई गण्डकी प्रदेशकै सबै भन्दा ठूलो राशीको कीर्ति पत्रकारिता वृत्ति सम्मान–२०७५ प्रदान गरिएको छ ।

नेपालका प्रथम राष्ट्रपति महामहिम डा रामवरण यादवले पत्रकार नेपाललाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित दोसल्ला ओढाएर उक्त सम्मान प्रदान गरेका हुन् ।

नेपाल पत्रकार महासंघ, कास्कीद्धारा सञ्चालित, सूर्यबहादुर, प्रेम बहुउद्देश्यीय समाज सेवा ट्रष्टद्धारा स्थापित उक्त कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मानका लागि पोखराका समाजसेवी, उद्योगपति एवं प्रतिनिधिसभा सदस्य सूर्र्यबहादुर केसी र उनका परिवारद्धारा १५ लाख भन्दा बढिको अक्षयकोष स्थापना गरेको हो ।

सांसद केसीले पिता कीर्र्तिबहादुर केसीको सम्झनामा उक्त पुरस्कार स्थापना गरेका हुन् । आधुनिक पोखराको विकास निर्माणमा स्व. कीर्तिबहादुर केसीको अतुलनीय योगदान रहेको प्रतिभा छनोट समितिका संयोजक बद्रिविनोद ‘प्रतिक’ले जानकारी दिए । ‘प्रतिक’ का अनुसार कीर्तिबहादुर केसी समाजसेवी र विशुद्ध सफल निर्माण व्यवसायी थिए ।

आधुनिक पोखराको निर्माणसँगै पोखराको सडक निर्माण, भोटीखोला खानेपानि आयोजना, फेवातालको बाँध एवं नहर निर्माण र महेन्द्रपुलस्थित पुरानो पुलको निर्माणमा स्व. कीर्तिबहादुर केसीको विशेष योगदान थियो ।

किशोर नेपाल क्रान्तिकारी पत्रकार : पूर्व राष्ट्रपति यादव

पूर्व राष्ट्रपति रामवरण यादवले अग्रज पत्रकार किशोर नेपाललाई सम्मान गर्दै सम्मानीत व्यक्तित्व नेपालको पत्रकारिता क्षेत्रमा क्रान्तिकारी पत्रकार रहेको बताए । अग्रज पत्रकार नेपालको पत्रकारिता क्षेत्रमा ५ दशक लामो अनुभव रहेको डा यादवले सुनाए ।

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति बनेका डा यादवले भने, ‘म आफू भन्दापनि पहिले नेपालको लोकतान्त्रिक आन्दोलन र पत्रकारितामा पत्रकार नेपालको कृयाशीलता थियो । १३/१४ वर्षको उमेरदेखि नैे भारतीय सोसलिष्ट मुभमेन्टका एक्टिभिस्टहरुसँग नेपालजीको सम्पर्क र सम्बन्ध थियो ।’

उनले पत्रकारहरुलाई वातावरणमैत्री बन्न आग्रह गरे । यादवले गाउँगाउँमा भएको एक्साभेटर र डोजर आतङ््कलाई रोक्न पत्रकारहरुले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

उनले लोकतान्त्रिक बहुदलीय व्यवस्थामा सरकार र प्रतिपक्ष पार्टीहरुलाई व्यवस्थित हुन आग्रह गरे । सरकार पक्ष र प्रमुख प्रतिपक्षलगायत अन्य कुनैपनि पार्टीहरु व्यवस्थित नबनेको उनको कथन थियो ।
‘बहुदलीय व्यवस्थामा सरकारमा बसेको पार्टी पनि व्यवस्थित छैन, प्रमुख प्रतिपक्षीलगायत अन्य प्रतिपक्षी पार्टी पनि व्यवस्थित छैन,’ उनले शुभकामना दिए, ‘सत्तासिन पार्टी पनि व्यवस्थित बनो । अप्पोजिसन पार्टी पनि व्यवस्थित बनोस ।’

राजनीतिक जीवनयात्रामा सफलता, असफलता दुबैको अनुभव आफूसँग रहेको पूर्र्व राष्ट्रपति यादवले सुनाए । समारोहमा उनले आफ्नो राजनीतिक जीवनयात्रालाई यसरी सम्झिए, ‘राजनीतिक यात्रामा मेरो तीतो अनुभव छ । ०४६ देखि जेल । ०५९ देखि पुनः कति पटक जेल । ०६२/०६३ को सफल आन्दोलन । ०६४ मा चुनाव जितेर ०६५ मा राष्ट्रपति बनें ।’

यादवले आफू अप्ठ्यारो परिस्थितिमा राष्ट्रपति बनेको बताए । त्यति बेला मधेश र पहाडलाई जोड्ने कुरामा आफूमा आत्मविश्वास रहेको उनले सुनाए । ‘यस्तो अप्ठ्यारो समयमा मलार्ई राष्ट्रपति बनाई दिनुभयो,’ उनको कथन थियो, ‘मलाई कन्फिडेण्ट थियो । त्यतिबेलै देशलाई जोडर जानुपर्छ भनेको थिएँ । मधेश र पहाडलाई जोड्दै जानुपर्छ भनेर मैले भनेको थिएँ । लोकतन्त्र, गणतन्त्र आएको छ । यही माध्यममार्फत जनताहरुलाई अधिकार दिदैं जानुपर्छ । आइ वाज सिङ्गल म्यान ट्रूथ फर दि नेशनल कज ईन दि मधेश ।’

उनले विश्वमै नौलो मोडल लोकतान्त्रिक गणतन्त्र नेपालको शासन पद्धति बनेको उल्लेख गरे । लोकतान्त्रिक गणतन्त्र, संघीयता, समावेशीता, समानुपातिकता, धार्मिक निरपेक्षता उच्च पद्धति रहेको उल्लेख गरे ।

‘लोकतान्त्रिक गणतन्त्र, संघीयता, समावेशीता, समानुपातिकता, धार्मिक निरपेक्षता उच्च पद्धतिविरुद्ध जो उल्टापाल्टा बोल्छ,’ उनले भने, ‘यसको विरुद्ध जो काँग्रेस, कम्युनिष्ट बोल्छ । यो सरासर गलत छ । यही संविधानलाई लागु गर्दै जानुपर्छ । पारदर्शी नीति अपनाएर विधायिका, कार्यपालिका, न्यायपालिका र संवैधानिक निकायहरु लोकतन्त्रको विधि, विधान अनुसार चल्नैपर्छ । देशको सुन्दर भविष्य छ । देशलाई सुन्दर बनाउने कुरामा हामी सबैको कन्ट्रिव्युसन हुनुप¥यो ।’

उनले धर्म परिवर्तनका विषयमा आपत्ति जनाए । पैसा, लोभ र मोहमा धर्म परिवर्तन गर्नेलाई नियन्त्रण गर्न कानून बन्नुपर्नेमा उनको जोड थियो । धर्म परिवर्तनलाई बेलैमा रोक्न नसके भविष्यमा द्धन्द्धको संकेत रहिरहने उनले उल्लेख गरे ।

मेरो श्रोत तथा उर्जा पोखरेली पत्रकार र नगरवासी : केसी

कीर्ति पत्रकारिता वृत्ति सम्मान अक्षयकोषका संस्थापक सूर्यबहादुर केसीले पोखरेली पत्रकार र नगरवासीलाई आफ्नो श्रोत र उर्जा बताएका छन् । उनले आफ्नो भरोसलाग्दो श्रोत र उर्जा पत्रकारिता जगत र पत्रकारहरु सुधारिन आावश्यक रहेको औंंल्याए ।

‘मेरो श्रोत र उर्जा पोखरेली पत्रकार र नगरवासीहरु हुन् । पत्रकार साथीहरु, तपाँईहरु मेरो उर्जा र श्रोत हुनुहुन्छ,’ उनले भने, ‘पत्रकारहरुले मलाई सूचना दिनुहुन्छ, मैले उहाँहरुलाई समय दिन्छु र उहाँहरुबाट ज्ञान भर्ने गर्दछु । पत्रकारिता क्षेत्रमा पनि सुधार आउन जरुरी छ । गलत सूचना प्रवाह भए, गलत सन्देश जान्छ । संचार माध्यम र पत्रकारहरु भनेको समाजको संवाहक पनि हो । गलत भए, गलत बोलिदिनुस । सही भए, सही बोलिदिनुस ।’

समाजसेवी र उद्योगपति समेत रहेका केसीले आफ्नो पहिलो पाठशाला र गुरु आफ्नै पिताजी भएको उल्लेख गरे । उनले भने, ‘म अलि धनी मानिस पनि हुँ । सहयोगी र समाजसेवी पनि हुँ । मेरो पहिलो पाठशाला र पहिलो गुरु पनि मेरै पिताजी हुनुहुन्छ । मातृ देवो भव: पितृ देवो भव: अतिथि देवो भव : मातृभूमी, जन्मभूमिश्च स्वर्गादपि गरियसी र धर्म रक्षतीबाट म आफू प्रभावित छु । यो मेरो संस्कृति र परम्परा पनि हो ।’

केसीले पुरस्कार ग्रहण गर्ने र पुरस्कार प्रदान गर्ने दुबै व्यक्तित्व देशको उच्च व्यक्तित्व रहेको औंल्याए । यहाँको धर्म, संस्कृति र परम्परालाई बचाउन दुवै व्यक्तित्वबाट आफूले आशा गरेको उनले व्यक्त गरे ।

उनले पूर्व राष्ट्रपतिलाई हिमाल, पहाड र तराई जोड्ने सेतुको संज्ञा दिए । मुलुकको नयाँ संविधान निर्माणमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा यादवको अतुलनीय भूमिका रहेको केसीले औंल्याए ।

‘प्रथम राष्ट्रपतिज्यूले मुलुकको नयाँ संविधान निर्माणमा जुन गति प्रदान गर्नुभयो, देशमा दनदनी बलेको आगोलाई निभाउन जुन भूमिका निभाउनुभयो, त्यो स¥हानीय छ,’ केसीले भने, ‘उहाँको भूमिकालाई हिमाल, पहाड र तराईको सम्बन्धलाई गाढा बनाउन राष्ट्रपतिज्यूको जुन भूमिका रह्यो । यस इतिहासमा मलगायत कुनैपनि नेपालीले बिर्सने छैन ।’

सम्मानीत अग्रज पत्रकार नेपाललाई आफूले काँग्रेसका रुपमा चिनेपनि द्धन्द्धकालमा शान्तिको प्रतिकका रुपमा भेटेको उल्लेख गरे । त्यति बेला पत्रकार नेपालको भूमिका पत्रकारितामार्फत द्धन्द्धको आगो निभाएर देशलाई शान्तिको मार्गमा हिँडाउनु रहेको केसीको भनाई थियो ।

उनले भने, ‘पत्रकार महासंघ, कास्की शाखाले संचालन गरेको र आफ्नो परिवारले स्थापना गरेको पत्रकारिता पुरस्कार नेपाल जस्ता अग्रज पत्रकारलाई दिन पाउँदा आफू र आफ्नो परिवार अत्यन्त हर्षित छ । सम्मानीत पत्रकार नेपाललाई हार्दिक बधाई ज्ञापन गर्दछु ।’

देशकै समृद्धि पोखरा : पत्रकार नेपाल

सम्मानीत अग्रज पत्रकार किशोर नेपालले पोखरालाई प्रकृतिको राजधानीको संज्ञा दिए । उनले आफूले घुमेको देशको ७७ वटै जिल्लाको स्थानहरुमध्ये पोखरा जस्तो सुन्दर स्थान अन्यत्र नभेटेको उल्लेख गरे । पोखरा देशकै समृद्धि रहेको नेपालले चर्चा गरे । यहाँको तालतलैया र पर्यटकीय गतिविधिबाट पोखराले थप समृद्धि कमाउनुपर्नेमा उनले जोड दिए ।

‘विभिन्न ठाउँहरुमा भ्रमण गर्दा पोखराको जस्तो साँस्कृतिक, प्राकृतिक र मौलिक पक्षहरु ठाउँ ठाउँमा मैले पाएँ,’ उनले भने, ‘तर, पोखरामा सबै पक्षहरुको मिलन भएको छ । त्यो, अन्यत्र पाउन दुर्लभ नै छ । यो विलक्षण सौन्दर्यको नगरमा तपाइहरुले मलाई पुरष्कृत गर्नुभयो । सम्मान दिनुभयो । पत्रकार साथीहरुप्रति म अनुग्रहित छु । पोखरेली पत्रकारप्रति आभार व्यक्त गर्दछु । पुरस्कार स्थापक सांसद सूर्यबहादुर केसी परिवारप्रति पनि कृतज्ञ छु । उहाँले आफ्ना पिताजीको स्मृतिमा पुरस्कार स्थापना गरेर आज मैले जुन पुरस्कार प्राप्त गर्ने अवसर जुटाइ दिनुभएको छ ।’

फेवाताल संरक्षणमा यहाँको पत्रकारहरुले निरन्तर सोध्न र खोज्नुपर्नेमा उनको जोड थियो । पोखराको विकृति र विसंगतिविरुद्ध यहाँको पत्रकारहरुले कलम चलाउनुपर्नेमा उनको जोड थियो ।

‘पोखराका पत्रकार साथीहरुले मलाई यस्तो होटलको कोठामा लगेर राखिदिए । जुन कोठाबाट फेवातालको पूरै आकार देखिन्थ्यो । जुन बेला मैले पहिलो पटक फेवाताल देख्दा, जति सुन्दर फेवाताल देखिन्थ्यो । अहिले त्यो फेवाताल हेर्दा कुरुप देखिन्छ,’ उनले प्रश्नहरु गरे, ‘फेवातालको अवस्था यस्तो किन भयो ? देशमा तीन किसिमको सरकार बनेको दुई वर्ष भयो । फेवाताल संरक्षणमा यहाँको स्थानीय सरकारले किन ध्यान दिएन ? प्रादेशिक सरकारले किन चासो राखेन ? फेवाताल संरक्ष सम्बन्धमा गठित अनेकौं आयोगले दिएको सुझावहरुलाई केन्द्रीय सरकारले किन कार्यान्वयन गर्न सकेन ?’

Related News

सम्बन्धित समाचार

hero news full width