पहिलो हुने र फेल हुने विद्यार्थीमा अन्तर छैन : खनियाँ

आदर्श समाज सम्वाददाता
चैत्र १७, २०७५
20190330_160637 (2)_Fotor

लमजुङ, १६ चैत। त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँले शिक्षा क्षेत्रका बढिरहेको आवश्यकता र चुनौतीलाई ध्यानमा राखेर उच्च शिक्षाका लागि अबको ५–१० वर्षमा पीएचडी अनिवार्य हुन सक्ने स्थिति बनेको बताएका छन्।

जिल्ला सदरमुकाम वेशीशहरस्थित जनविकास कलेजको नवौं साधारणसभा उद्घाटन गर्दै खनियाँले शनिबार त्यस्तो बताएका हुन्।

‘उच्च शिक्षाका लागि पीएचडी अनिवार्य हुन सक्ने स्थिति बनिरहेको छ, यो पनि गुणस्तरीय शिक्षाका लागि थप पाइला हुन सक्छ, ’ उनले भने, ‘विश्वका करिब ३० हजार विश्वविद्यालयहरू रहेका छन्, गुणस्तरका हिसाबले तीमध्ये एक हजारभित्र त्रिवि पर्न सफल भएको छ यो गौरवको विषय हो। ’

‘बाह्य मुलुकमा अध्ययनका लागि जान चाहनेका लागि विश्वका टप एक सय ५० कजेलमा जान सक्ने गरी साझेदारी गरिएको छ, यो पनि नेपालका लागि गौरवको विषय हो, ’ उनले भने।

त्रिवि रहेको क्षेत्रफलमा २५/३० वटा विश्वविद्यालय चलाउन सक्ने क्षमता रहेको औंल्याउँदै उनले भने, ‘विश्वमा यतिधेरै सञ्जाल भएको विश्वविद्यलय समेत दोस्रो पाउन कठिन छ, त्रिविले मुलुकका ७७ जिल्लामध्ये मनाङ बाहेक अन्य सबै जिल्लामा आफ्ना शाखा विस्तार गरेको छ, यो अर्को उपलब्धि हो। ’

पहिलो हुने विद्यार्थी र फेल हुने विद्यार्थीको प्रतिभाबीच ठूलो अन्तर नरहेको बताउँदै क्याम्पसको मूल्यांकनमा एउटा विद्यार्थी पहिलो भयो तर फेल हुने विद्यार्थीको प्रतिभा क्याम्पसले चिन्न नसकेको कारणले ऊ फेल हुन गएको हो, उनले भने।

लमजुङ जन्मथलो समेत रहेका खनियाँले आफूले जन्मथलोको शीर उचो र गर्व गर्न लायकको काम गरेको बताउँदै आफू जन्मथलो, क ख चिनेको भूमि तथा गुरुप्रति कृतज्ञता अर्पण गर्नका लागि आएको स्पष्ट पारे। हाल घरमै बसेर प्लस टुसम्मको अध्ययन गर्न सक्ने परिस्थितिको निर्माण आफ्नै सोचको उपज भएको उनले दाबी गरे।

त्रिवि शिक्षा संकायका डिन कृष्णप्रसाद गौतमले मुलुकमा तीनथरी कलेज रहेको बताए।

उनले जनविकास कलेजका लागि गरेको लगानी जग्गा वा अन्य व्यवसायमा लगाएको भए लाखौं मुनाफा आर्जन हुन सक्थ्यो, त्यो लोभ नगरी समाज र भविष्यमा असल नागरिक उत्पादन गर्ने अभिलाषाले जे काम गर्नु भयो यस कलेजका सेयर सदस्यप्रति कृतज्ञता अर्पण गर्दछु भने।

दक्षिण कोरियाले ३५ वर्षको अवधिमै अतिविकसित मुलुकमा दर्ज भएको उदाहरण दिँदै गौतमले देशको विकासका लागि अन्य क्षेत्रभन्दा बढी मात्रामा शिक्षाको विकास हुनुपनेर्मा जोड दिए।

उनले नागरिकलाई शिक्षित, योग्य, कर्तव्यवोध गराउन नसक्दा हाम्रो मुलुक पछि परेको हो भने।

कलेज सञ्चालक समितिका अध्यक्ष गणेशप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रतिनिधि नन्दलाल विक, वेशीशहर नगरपालिका– ८का वडाध्यक्ष पवित्रा थापा राना, रेडक्रश जिल्ला शाखाका अध्यक्ष दीपक बराल, सोही कलेजका संस्थापक सदस्य एवम् व्याब्सनका पूर्वकेन्द्रीय उपसभापति बाबुराम पौडेल, सञ्चालक सदस्यत्रय रत्नमान श्रेष्ठ, तेजनारायण अधिकारी, नारायण घिमिरे लगायतले शुभकामना व्यक्त गरे।

क्याम्पसका प्रमुख सुरेश बरालले कलेजको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कलेजको वर्तमान अवस्था, शैक्षिक गतिविधि र भावी कार्यदिशा प्रस्तुत गरेका थिए।

कलेजका सहप्राध्यापक अमृत सुवेदीले स्वागत गरेको कार्यक्रमको सञ्चालक सोही कलेजका विद्यार्थीद्वय सन्तोष घिमिरे र सम्झना अधिकारीले गरेका थिए।

सो अवसरका छात्रछात्राले ‘सपना’ सन्देशमूलक सामाजिक नाटक प्रदर्शन गर्नुका साथै विभिन्न नृत्य तथा गीत, मुक्तक प्रस्तुत गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width