लगानीकर्ताका अनुभव – नेपाल उपयुक्त गन्तव्य

रासस
चैत्र १६, २०७५
1553926081481_Pro_Ktm_Investment_Summit_ (1)

काठमाडौँ, १६ चैत । दक्ष एवं काम गर्न सक्ने जनशक्तिको उपलब्धता, राजनीतिक स्थायित्वसहितको स्थिर सरकार, लगानीमैत्री वातावरण भएकाले नेपाल समकालीन विश्वको सबैभन्दा आकर्षक गन्तव्यका रुपमा रहेको सरोकारभएका व्यक्तिले जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय लगानी सम्मेलनका क्रममा आयोजित नेपालमा लगानीः अनुभव आदानप्रदान सत्रमा सहभागी उद्योगी, व्यवसायी तथा लगानीकर्ताले एकै स्वरमा प्राथमिकताका साथ भने “नेपाल लगानीका लागि उपयुक्त मुलुक हो ।”
नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, एशियाली विकास बैंक, बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल, सतलज विद्युत् निगमका प्रतिनिधिले नेपालमा लगानी गर्दा उच्च प्रतिफल प्राप्त गर्न सकिने बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले नेपाल राजनीतिक सङ्क्रमण पार गरी आर्थिक विकासको चरणमा प्रवेश गरेको र वर्तमान सरकारसँगै निजी क्षेत्र पनि ठूला परियोजनामा निर्माण गर्ने तयारीमा जुटेको बताए । श्रम गर्न सक्ने जनशक्ति पर्याप्त मात्रामा रहेको, विद्युत् भार कटौतीको समस्या हल भएको, औद्योगिक वातावरण निर्माण भएको उल्लेख गर्दै उहाँले नेपालमा लगानीको उपयुक्त समय आएको बताए ।

वैदेशिक लगानी भित्र्याउन एकदार प्रणाली लागू गरेको, नेपालमा स्थापित भइसकेका केही बहुराष्ट्रिय कम्पनी युनिलिभर, टेलिकम्युनिकेशन कम्पनीलगायतले उचित मुनाफा आर्जन गरिरहेको सन्दर्भ पेश गर्दै अध्यक्ष राणाले सम्पूर्ण लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे । उनले नेपालमा विभिन्न क्षेत्रमा लगानीका लागि पर्याप्त अवसर रहेको बताए ।

नेपालले छिमेकी मुलुक चीन र भारतसँग झण्डै आठ हजार ८०० नेपाली उत्पादन निकासी गर्दा भन्सार महशुल छुट दिने गरी सहमति गरेको जानकारी दिँदै उनले त्यस्तो सुविधाले यहाँ उत्पादित वस्तुलाई बजारको अभाव नहुने प्रष्ट् पारे ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएन) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाल वैदेशिक लगानीका लागि सुरक्षित र भरपर्दो मुलुक भएको उल्लेख गर्दै भने “नेपाल लगानीका लागि उपयुक्त ठाउँ हो, आउनुस् लगानी गर्नुहोस् ।” नेपालमा लगानी गरेर विश्वमै उच्च नाफा लिन सकिने मुलुकका रुपमा रहेको भन्दै उनले समस्या हरेक देशमा हुने भए पनि पछिल्ला दिनमा भने यहाँ खासै लगानीका लागि व्यवधान नरहेको प्रष्ट पारे ।

नेपाली जनता र यहाँको सरकारी संयन्त्र सहजरुपमा उपलब्ध हुने भएकाले लगानीका लागि कुनै झन्झट व्यहोर्नु नपर्ने उनले बताए । उनले विश्वका विकसित देशमा समेत एक बैंकबाट अर्को बैंकमा रकम स्थानान्तरण गर्न असजिला प्रक्रिया छन् तर नेपालमा त्यस्तो नभएको अनुभव सुनाए ।

एशियाली विकास बैंक (एडिबी) का उपाध्यक्ष सिजिन चेनले मध्यमस्तरको आय भएको मुलुकमा रुपान्तरणका लागि नेपालले भौतिक पूर्वाधारका क्षेत्रमा ठूलो लगानी गर्नुपर्ने औल्याए ।

एडिबीले गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल, मेलम्ची खानेपानी आयोजना, भूकम्पबाट क्षतिग्रस्त विद्यालयका भवन पुनः निर्माणलगायत विभिन्न परियोजनामा लगानी गरेको जानकारी दिँदै उनले नेपालको विकासका लागि थप लगानी गर्न तयार रहेको बताए ।

बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालका प्रबन्ध निर्देशक आशिष रायले नेपाली लगानी गरेर आफूहरुले उच्च प्रतिफल प्राप्त गरेको अनुभव सुनाउँदै यहाँ उपलब्ध शिक्षित जनशक्तिलाई प्रयोग गरेर अन्य क्षेत्रमा समेत मुनाफा आर्जन गर्न सकिने बताए ।

सतलज जविद्युत् निगमका अध्यक्ष नन्दलाल शर्माले नेपालमा जलविद्युत् क्षेत्रमा लगानी गर्दा उच्च प्रतिफल प्राप्त हुने देखेर आफूहरु लगानीका लागि प्रेरित भएको बताए ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले नेपालको मौसमको अवस्थाले जुनसुकै अवस्थामा पनि सहजै काम गर्न सकिने वातावरण रहेको उल्लेख गर्दै मौसमका कारण काम बन्द गरेर बस्नुपर्ने अवस्था नआउने बताए ।

Related News

सम्बन्धित समाचार

  • ‘रमाउन नसक्नेले राजनीति नगर्नू’

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । नेपाली कांग्रेसका नेता डा. सशांक कोइरालाले राजनीति रमाउनेहरुको लागि मात्रै उचित हुने बताएका छन् । उनले रमाउन नसक्ने…
  • ढाकाकुमार पक्राउ

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा, २७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व सांसद ढाकाकुमार श्रेष्ठ लागुऔषध कारोबार कसूरमा पक्राउ परेका छन् ।…
  • शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा, २७ भदौ । शिव शक्ति क्याम्पस, पोखरा–११, फूलबारीको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा बिहीबार सम्पन्न भएको छ…
  • पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा, २७ भदौ । पोखरामा असोज दोस्रो साता ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ हुने भएको छ । पोखरा वडा–२२ सहित समग्र…
  • पर्यटकीय याममा पोखराको तयारी

    रासस भाद्र २७, २०८१
    गण्डकी । पोखरा यसै पनि विश्वमाझ परिचित पर्यटन गन्तव्य त हुँदै हो त्यहीँमाथि अहिले पोखराले पर्यटकीय राजधानीको उपमासमेत पाएको छ…

hero news full width