प्रधानमन्त्रीले खाद्य संकट हुनदिने छैन भनिरहेकै बेला बाजुरमामा खाद्य संकट

रासस
चैत्र १५, २०७५
rice-chamal-godam

बाजुरा, १५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि जिल्लामा खाद्य संकट हुन नदिने भनिरहेकै समयमा बाजुरामा समयमै ठेकेदारले चामल ढुवानी नगर्दा खाद्य सङ्कट उत्पन्न भएको छ ।

ठेकेदारले चामल ढुवानी गर्न असोजमा सम्झौता गरेको भए पनि अहिलेसम्म गाउँपालिकाको कवाडी डिपोमा चामल ढुवानी भएको छैन । जिल्लाको हिमाली गाउँपालिकामा खाद्य सङ्कट भएको हो । चामल ढुवानी नहुँदा गाउँपालिकामा खाद्य सङ्कट उत्पन्न भएको वडा नं ५ का अध्यक्ष अम्मलाल कार्कीले जानकारी दिए ।

हिमाली–३ विच्छँ्याका चन्द्रबहादुर बुढथापाले भने “गाउँबाट चामल किन्न आयौँ तर चामल नपाएपछि रित्तो हात घर फर्किन बाध्य भयौँ ।” बिच्छँ्यामा चार हजार जनसङ्ख्या रहेको छ । धेरैजसो घरमा खाद्य सङ्कट भएको उनले बताए ।
त्यस्तै चामल ढुवानी नभएपछि वडा नं १, २ र ३ का बिच्छँया तथा ४ र ५ को रुगिनमा खाद्य सङ्कट भएको स्थानीयवासी बताउँछन् । वडा नं २ बिच्छँ्याकी जुनकला बुढाले चामल किन्न दुई दिन लगाएर कवाडी डिपोमा पुगेको तर त्यहाँ एक दाना पनि चामल नपाएपछि रितो हात फर्कनुपरेको दुखेसो पोखेका छन् । कवाडी डिपोका लागि खाद्य संस्थान बाजुराले यो वर्ष मात्र छ हजार क्विन्टल चामलको कोटा स्वीकृत गरेको छ ।

सोहीअनुसार तीन ठेकेदारले असोजमा सम्झौता गरेका थिए तर, अहिलेसम्म एक हजार ५०० क्विन्टल मात्र पुगेको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ । तीन हजार क्विन्टल नन्द महतारा, दुई हजार क्विन्टल नरी थापा र एक हजार क्विन्टल बलबहादुर थापाले ढुवानी गर्ने सम्झौता गरेका थिए । कोल्टी खाद्य संस्थान डिपो, मार्तडी खाद्य संस्थान र धनगढीबाट एक÷एक हजार क्विन्टल तथा सुर्खेतबाट तीन हजार क्विन्टल कवाडीमा ढुवानी गर्ने सम्झौता भएको थियो ।

चामल ढुवानी नगर्ने ठेकेदारलाई ताकेता गरिरहेको नेपाल खाद्य संस्थान बाजुरा शाखा प्रमुख मेखराज ओझाले बताए । प्रमुख जिल्ला अधिकारी चेतराज बरालले पनि चामल अभाव भएको जानकारी भएलगत्तै खाद्य संस्थान र ठेकेदारलाई जानकारी गराएर चाँडै चामल पठाउने व्यवस्था गरेको उनले बताए ।

हिमाली गाँउपालिका जिल्लाकै सबैभन्दा विकट गाउँपालिका हो । यो गाउँपालिका पुग्न सदरमुकाम मार्तडीबाट एक साता लाग्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width