सुरु भयो तनहुँमा ‘स्मार्ट भिलेज’

आदर्श समाज सम्वाददाता
चैत्र ११, २०७५
_MG_2391

तनहुँ, ११ चैत । गण्डकी प्रदेश सरकारले कृषिमा नमूना गाउँ निर्माण गर्ने अभियान सुरु गरेको छ । तनहूँको भीमाद नगरपालिका ९ पाथर्दीबाट ‘स्मार्ट भिलेज’ निर्माणको घोषणा गरिएको हो ।

सरकारले प्रदेशका ३६ वटा निर्वाचन क्षेत्रका कम्तिमा एउटा गाउँ पर्ने गरी मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रम लागू गर्दैछ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार विशेष कार्यक्रमका बीच ‘स्मार्ट भिलेज’ स्थापनाको घोषणा गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले गाउँ तहमै स्वरोजगार सिर्जना गर्न नमुना कृषि गाउँ कार्यक्रम सुरु गरिएको बताए । ‘पढेका मान्छेहरु बेरोजगार छन् । हामीलाई चाहिएको जनशक्ति हामीसँग छैनन् । टेक्निकल पढेकाहरु बिदेशमा छन्, उनले भने–जमिनलाई उर्वर बनाउन र गाउँ तहमै रोजगारी सिर्जना गर्न यो कार्यक्रम सुरु गर्न लागेका हौं ।’ उनले दक्ष र प्रदेशको आवश्यक्ता अनुसार जनशक्ति उत्पादन गर्न विश्वविद्यालय खोल्ने तयारी गरिरहेको बताए ।

‘सर्टिफिकेट भएर पनि काम गर्ने क्षमता छैन । अव यसलाई चिर्न प्राविधिक विश्वविद्यालय चाहिएको छ, उनी भन्छन्–आफ्नै नीति र लक्ष पूरा गर्नका लागि पनि प्राविधिक विश्वविद्यालय खोल्ने तयारी छ । यसबाट सबैलाई पढ्ने अवसर सिर्जना गर्नेछौं ।’ मुख्यमन्त्री गुरुङले उत्पादन र बजारलाई सन्तुलन कायम गराउन आवश्यक तालिम उपलब्ध गराउने र बेरोजगारी अन्त्यमा सरकारले जोड दिएको सुनाए ।

सभामुख नेत्रनाथ अधिकारीले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष पूरा गर्न जनस्तरबाट पनि साथ र सहयोग आवश्यक रहेको बताए । अर्थमन्त्री किरण गुरुङले अवसर र सुविधा खोज्दै मान्छेहरु शहर झरेका भन्दै अव गाउँमा विकास पु¥याएर गाउँका मान्छेलाई उतै टिकाउने नीति सरकारले ल्याउने बताए । विस्तारै स्वरोजगारका कार्यक्रम थालिएको र यसलाई प्रदेशका हरेक गाउँमा पु¥याउने उनको भनाई छ ।

गृहमन्त्री हरिवहादुर चुमानले सरकार समृद्धिको बाटोमा लागिसकेको र यो अभियानमा सबैको साथ आवश्यक रहेको बताए । प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बजारको मागमा आधारित भएर उत्पादनमा जोड दिनुपर्ने सुझाव दिए । सरकारको सफलता जनताको दैनिकीसँग जोडिएको भन्दै त्यसतर्फ ध्यान दिन उनको आग्रह छ ।

कृषि मन्त्री लेखबहादुर थापाले सरकारको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गराउन सरकार सचेत रहेको भन्दै सरकार जनताको घरघरमा पुगेको बताए । उनले केही समयभित्रै ३६ वटै निर्वाचन क्षेत्रमा कार्यक्रम लञ्चिङ गर्ने जानकारी दिए । पाथर्दीमा विशेषगरी बाख्रापालन र अन्य अर्गानिक खेतीमा कृषकलाई आकर्षक कार्यक्रम बनाएर कृषि क्षेत्रमा आवद्ध गराउने सरकारको लक्ष्य छ । यो कार्यक्रममा लि वर्डको समेत सहयोग रहने बताईएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width