वारपाकमा घरघरै धारा

रासस
चैत्र १०, २०७५
Barpak

गोरखा १०, चैत । गोरखाको वारपाक सुलिकोट गाउँपालिका–४ स्थित भण्डारी गाउँमा घरघरमा खानेपानीको धारा पुगेपछि स्थानीयवासी खुशी भएका छन् ।

लामो समयदेखि खानेपानीका अभाव झेल्दै आएका त्यहाँका स्थानीयवासी अहिले घरमै पानीको धारा आएपछि दङ्ग परेका हुन् ।

विसं २०७२ साल बैशाख १२ को भूकम्पले पानीको मुहान सुकेपछि त्यहाँका ६८ घरधुरीलाई खानेपानीका लागि दुःख, पीडा र हैरानी खेप्नु परेको थियो । एक गाग्री पानीका लागि दैनिक घण्टौँसम्म समय खेर फाल्नुपर्ने बाध्यता रहेका स्थानीयवासीलाई अहिले घरको आँगानमै स्वच्छ पिउने पानी आएपछि सपना जस्तै लाग्न थालेको छ ।

“घरको आँगनमै पानीको धारा आउला भन्ने त लागेको थिएन”, स्थानीयवासी चन्द्रमाया गुरुङले भने, “अहिले एक गाग्री पानीका लागि ४ बजेदेखि नै धाउनुपर्ने बाध्यता हटेको छ ।” आँगनमै पानीको धारा आए पनि गाउँलेले सुखको अनुभूति गरेको उनले बताए ।

गाउँमै खानेपानीको अभाव हटेपछि मेलापात गर्नसमेत सजिलो हुन थालेको स्थानीयवासीको भनाइ छ । “पानी लिनका लागि घण्टौँ कुर्नुपर्दा बालबालिकालाई विद्यालय पठाउन, मेलापात गर्नसमेत गाह्रो भएको थियो”, उनले भने “अहिले समयको पनि बचत भएको छ, बिहान घरधन्दा गरेर मेलापात गर्न पनि सजिलो हुन थालेको छ ।”

“धारामा पानी लिन एक घण्टासम्म लाइन बस्दा पनि पानी नपाएर रित्तै गाग्री लिएरसमेत फर्कनु पथ्र्यो, अर्का स्थानीयवासी सानुमाया गुरुङले भने “पानीको अभाव हँुदा कहिले त गाउँ नै छोडर जाउँजस्तो पनि लाग्थ्यो, अहिले घरमै पानी आएपछि गाउँ नै स्वर्गजस्तो लाग्न थालेको छ ।”

भण्डारी गाउँका स्थानीय बासिन्दाले भूकम्पपछि खानेपानीको बढी हैरानी खेप्नु परेको उनले बताए । । “गाउँभरिमा चार ओटा धारा थियो, त्यो पनि कहिले पानी आउने कहिले नआउने भएकाले धेरै दुःख खेप्नु परेको थियो, अहिले त सजिलो भएको छ,” उनले भने ।

हिउँदका बेला पानी सुक्ने बर्खाका बेला भेलले पानी ल्याएको पाइप बगाइदिने, ट्याङकी पुरिने जस्ता समस्याले पीडित त्यहाँका बासिन्दाले खानेपानीका लागि भौँतारिनुपर्ने बाध्यता थियो । अधिकांश गुरुङ समुदायको बसोबास रहेको उक्त गाउँमा युनिसेफ र नेपालस्थित फिनल्याण्ड दूतावासको सहयोगमा खानेपानी आयोजना निर्माण सम्पन्न गरिएको हो ।

कूल १० लाख ९१ हजार लागतमा सम्पन्न भएको उक्त आयोजनाले अहिले भण्डारी गाउँको सबै घरमा खानेपानी पुगेको छ । धारा बनाउन चार लाख ६२ हजार बराबरको श्रमदान र दुई लाख स्थानीयवासीले जुटाएर खर्च गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width