उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गरी सेवा दिन चिकित्सकलाई निर्देशन

आदर्श समाज सम्वाददाता
चैत्र १०, २०७५
55597555_2196915287082520_8542003044739448832_n

पोखरा, १० चैत । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गरी स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा आइतबार एमआरआई सेवा उद्घाटन गर्दै उनले विद्यमान सिमित आर्थिक स्रोत एवम् जनशक्तिलाई क्रमशः बढाउँदै लगिने बताए ।

स्वास्थ्य क्षेत्रमा कुल बजेटको ४.४ प्रतिशत मात्र छुट्याइएको बताउँदै उनले कर्मचारीको तलब भत्तामा मात्रै ४ प्रतिशत खर्च हुने भएकोले पूर्वाधार विकासमा अपेक्षित काम हुन नसकेको धारणा व्यक्त गरे ।

वषौं अघिदेखिको भौतिक पूर्वाधार एवम् जनशक्तिले अहिलेको माग धान्न नसक्ने भएकोले माग अनुरुपको उचित व्यवस्थापन आवश्यक रहेको उनले बताए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पोखरा र यस क्षेत्रको मात्र नभै राष्ट्रकै गौरव गर्न लायक स्थानका रुपमा लैजानुपर्नेमा उनको जोड छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. बुद्धिबहादुर थापाले प्रतिष्ठानले गुणस्तरीय चिकित्सा शिक्षा एवम् स्वास्थ्य सेवाका लागि पूर्वाधार विकास लगायतका कामलाई प्राथमिकताका साथ अघि बढेको बताए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चाँडै नै चिकित्सा शिक्षा अन्तर्गतका विभिन्न विषयमा स्नातकोत्तर तहको पठनपाठन सुरु गर्ने गरी आवश्यक तयारी भैरहेको उनले जानकारी दिए । पश्चिमाञ्चल क्षेत्रीय अस्पतलाका निर्देशक सह प्रा.डा. अर्जुन आचार्यले स्वास्थ्य मन्त्रालयको अनुदानमा प्राप्त बोलपत्र मध्ये फिलिप्स कम्पनीको माल्टिभा १.५ मोडेलको ९,६६,००० अमेरिकी डलरमा एमआरआई मेसिन खरिद गरिएको जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width