हिमालको लुलु गाई चितवनमा रमाउँदै

रासस
चैत्र ५, २०७५
Lulu-cows

चितवन, ५ चैत । सानो कदको लुलुगाई हिमाली क्षेत्रमा पालिने गरिन्छ, अनुसन्धानका लागि हिमाली जिल्लाबाट चितवन लगिएको लुलु गाई त्यहाँको तापक्रममा पनि घुलमिल भएको छ ।

राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख डा माधवप्रसाद आचार्यका अनुसार डेढ वर्षअघि ती गाईलाई यहाँ ल्याइएको हो । मुस्ताङमा जन्मिएको लुलुलाई चितवनमा ल्याएर बहर लगाइएको छ । एउटा गाई ब्याइसकेको छ भने तीन गर्भिणी छन् ।

मुस्ताङबाट ल्याएर दुई वर्ष काठमाडौँमा राखेपछि ती गाई चितवन ल्याइएको हो । आठ गाई र दुई साँढे ल्याइएका थिए । तीनै साँढे लगाएर गर्भिणी भएका चार गाईमध्ये एउटा एक महीनाअघि ब्याइसकेको छ भने तीन ब्याउने भएको आचार्यले बताए ।
गाईको अनुसन्धान केन्द्रमा नियमित रूपमा आहारा खुवाएर अन्य गाईलाई झैँ ती गाईलाई पनि पालिएको छ । ब्याएको गाईले दैनिक दुई लिटर बढी दूध दिएको उनले बताए ।

मुख्यरूपमा मनाङ, मुस्ताङलगायतका हिमाली क्षेत्रमा पाइने लोपोन्मुख प्रजातिको रूपमा यो गाईलाई लिने गरिन्छ । वयस्क हुँदा १५० किलोदेखि १६० किलोसम्मको तौल हुने यो गाईको साँढेको जुरो हुँदैन । निकै बलियो मानिने यो गाईलाई झट्ट कुनै रोग लाग्दैन । जस्तोसुकै कठिन परिस्थितिमा पनि जीवन निर्वाह गर्नसक्ने क्षमता यी गाईमा हुन्छ ।

हिउँ पर्ने ठाउँमा आहारा खोजेर बाँच्न सक्ने क्षमता भएकाले यस गाईमा उन्नत जातको गाईसँग मिलाएर बलियो, जहाँ पनि घुलमिल हुनसक्ने र धेरै दूध दिने गाई उत्पादन गर्न सकिने आचार्यले बताए । लोप हुँदै गएको यस गाईको संरक्षण गर्दै यसको असाधारण क्षमतालाई उन्नत गाईसँग मिलाएर देशका जुनसुकै हावापानीमा घुलमिल हुनसक्ने राम्रो गाई उत्पादन गर्न सकिने देखिएको छ ।

लुलुजस्तै तीनरचारथरीका गाईलाई क्रस गरेर नयाँ गाई निकाल्न पनि लुलु उपयोगी हुने देखिएको छ । लुलुलाई सम्पत्तिका रूपमा संरक्षण गरेर राख्ने उद्देश्य लिइएको आचार्यले बताए । न्यून तापक्रममा हिमालमा हुर्किएका यी गाई तराईमा समेत घुलमिल हुन सक्नुले नेपालमा गाईको अनुसन्धानमा सहयोगीसमेत हुने देखिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width