ग्रामीण सडक स्तरोन्नति नभएकोमा गुनासो

आदर्श समाज सम्वाददाता
चैत्र ४, २०७५

पोखरा, ३ चैत। कास्की, स्याङ्जा र पर्वतको पवित्र संगमस्थल पञ्चासे धार्मिक, सांस्कृतिक एवं पर्यटकीय गन्तव्यको प्रचूर सम्भावना बोकेको ठाउँ हो। तर पञ्चासे पुग्न भने सडकखण्ड सहज छैन। पानी पर्दा गाडी जाँदैन।

स्थानीयले सडक स्तरोन्नतिको माग गरेका छन्। मुख्य सडकखण्डमा बजेट विनियोजन नगरी अन्यत्र सहायक बाटाहरुमा बजेट पर्ने गरेको भन्दै उनीहरुले गुनासो समेत गरे।

बैदाम–पामे–घाँटीछिना–कुद्वीडाँडा–सिधाने–भञ्ज्याङ् सडकखण्डमध्ये बैदामदेखि घाँटीछिनासम्म पटक पटक बजेट पर्ने गरे पनि सडकको बाँकी माथिल्लो भागमा बजेट नपर्ने गरेको स्थानीयको गुनासो छ।

क्याप्टेन पदमबहादुर गुरुङले आफूहरुले गुनासो लिएर पोखरा महानगरपालिकाका मेयर, जिल्ला समन्वय समिति, सडक डिभिजन कार्यालय सम्बन्धित कार्यालयमा गए पनि बजेट विनियोजनमा स्थानीय, प्रदेश र केन्द्र सरकारले आनाकानी गरेको बताए।

बैदाम–पामे–घाँटीछिना–कुद्वीडाँडा–सिधाने–भञ्ज्याङ् ग्रामीण सडक उपभोक्ता समिति अध्यक्ष भक्तबहादुर गुरुङको पहलमा आजभन्दा करिब १० वर्षअघि जनश्रमदानमै सो ट्रयाक खोलिएको थियो। हाल सो सडकखण्डमा अलिकति पानी पर्ने बित्तिकै गाडीहरु जान मान्दैनन्। तीन जिल्लाको संगमस्थल रहेको र प्रशस्त धार्मिक, सांस्कृतिक एवं पर्यटकीय गन्तव्य बोकेको भए पनि पञ्चासेमा सहजरुपमा बाटो नपुग्दा यसको हरेक तहको विकासमा असर पुगेको स्थानीयको भनाइ छ। आफूहरुले जिताएर पठाएका जनप्रतिनिधिले समेत जितेर गएपछि खासै चासो नदिएको उनीहरुले बताए।

गण्डकी प्रदेशको १ करोड, सडक डिभिजनको १ करोड तथा एडीबीको १ करोड ६३ लाख रुपैयाँ रकम विनियोजित भए पनि सो रकम तल्लो भागमै खर्चिने गरेको र भञ्ज्याङसम्म नजाने गरेको बैदाम–पामे–घाँटीछिना–कुद्वीडाँडा–सिधाने–भञ्ज्याङ् ग्रामीण सडक उपभोक्ता समितिका कोषाध्यक्ष समेत रहेका क्याप्टेन पदमबहादुर गुरुङले बताए।

यता, पोखरा वडा–२३ अन्तर्गत पर्ने सो सडकखण्डबारे वडाध्यक्ष विष्णुप्रसाद पराजुलीले पनि उचित रुपमा बजेट विनियोजन हुन नसकेको बताए। उनले भने, हाम्रो वडामा एक रौं पनि सडक पिंच छैन, यो पश्चिमी क्षेत्रलाई नगर प्रमुखले पनि महत्व नदिएको महसुस भएको छ। वडाध्यक्ष पराजुलीका अनुसार फेवातालको मुहानमा पर्ने सो क्षेत्र पर्यटकीय दृष्टिकोणले पनि अति नै महत्वपूर्ण रहे पनि सडक स्तरोन्नतिमा महानगर र प्रदेशले चासो दिएको छैन। माथिबाटै बजेट पर्ला भनेर बस्यौं तर सोचेजस्तो भएन, पराजुलीले भने। यो वर्ष एडीबीबाट परेको रकमले माछापोखरीदेखि घाँटीछिनासम्म ग्राभेलिङ र रोलिङ गर्ने काम हुँदै गरेको उनले जानकारी दिए। चापाकोटा, हर्पन शाखाहरुमा पनि प्रत्येक वर्ष लाखौं बजेट पर्दा पनि त्यसअघिको भागमा बजेट विनियोजन गर्नुपर्ने उपभोक्ताको माग छ। २ हजार ५ सय १७ मिटर उचाइमा रहेको पञ्चासे कास्कीको साविक भदौरेतामागी, स्याङ्जाको वाङसिङ र पर्वतको आर्थरको संगमस्थल हो।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width