माछापुच्छ्रे हिमाल आरोहण खोल्ने नखोल्ने भन्ने वारेमा थरीथरी भनाई

रासस
चैत्र १, २०७५
1000

पोखरा, १ चैत । नौ तालले सिङ्गारिएको पोखरा उपत्यकाको एउटा आकर्षण हो फेवाताल । यस तालमा माछापुच्छे्र हिमालको अद्भूत दृश्य देख्न पाइन्छ । यस प्राकृतिक छटाको रसस्वादन गर्न देशभित्र र विदेशबाट थुप्रै पर्यटक पोखरा आउँछन् । प्रकृतिप्रेमीहरुले यस दृश्यको वर्णन गर्दै ‘फेवातालको आँगनमा लै लै माछापुच्छ्रे  छायाँ’ जस्ता गीत रचेका छन् ।

कुमारी हिमालको नामबाट समेत परिचित यो हिमाल विश्वका सुन्दर हिमालको सूचीमा सातौं नम्बरमा पर्छ । पछिल्लो समय यस हिमालको आरोहण खोलिनु पर्छ वा पर्दैन भन्ने विषयले बहस निम्त्याएको छ । छ हजार ९९३ मिटरको उचाइबाट पोखरामा आउनेहरुलाई स्वागत गरे झै आभाष दिलाउने यस हिमाललाई पर्यटनविद् झलक थापा ‘कुमारी’ विशेषण जोड्न रुचाउछन् । पोखराको सुन्दरताको वर्णन गरेर नथाक्ने उनी यतिबेला दुःखी छन् ।

विसं २०२७ मा पर्यटनको सम्भाव्यता अध्ययन गर्न पोखरा आउदा फेवातालको किनारबाट उनको नजर ठोक्कियो एक्लै मुस्कुराइरहेको माछापुच्छ्रे हिमालसँग । त्यसपछिका दिनहरुमा उनी पोखराको सुन्दरतामा रमाए र त्यसलाई सदा आँखा र हृदयमा राखिराख्न पोखरावासी बने ।

माछापुच्छ्रे हिमाल अहिलेसम्म कसैले आरोहण नगरेको थाहा पाएपछि उनी अझै खुशी भए । माछापुच्छ्रे को कुमारीत्व जोगाउनु पर्छ भन्ने सोचाइ उनलाई त्यत्तिबेलै आयो । तर्कसहित लेख्न शुरु गरे । एउटा हिमाललाई कुमारी भन्दै जोगाउनु पर्ने कारण छैन भन्ने तर्क गर्नेहरुमा डा. हर्क गुरुङ्गजस्ता विद्वानहरु थिए । उनी आफ्ना धारणामा शुरुदेखि नै अडिग रहँदै आए धेरै पोखरेलीले उनको यो विचारलाई रुचाए पनि ।

माछापुच्छ्रे लाई ‘यशोधरा’ ठान्छन उनी, पचास वर्ष अघिदेखि माछापुच्छ्रे लाई मनमा सजाएर राख्दै आएका उनलाई यो हिमाल आरोहणका लागि खोलिँदैछ भन्ने समाचारले व्याकुल बनाइदिएको छ । विश्वका सुन्दर हिमालमा नेपालको आमादब्लम र माछापुच्छ्रे पर्छ । आमादब्लममा आरोहण हुन्छ । माछापुच्छ्रे लाई कुमारी राखेरै यसको सौन्दर्यबाट पर्यटकलाई भित्र्याउनु पर्ने विचार उनको छ ।

माछापुच्छ्रेलाई कुमारी नै राखे के बिग्रन्छ ? आजसम्म हिमाल आरोहणबाट कति कमायौं र अब माछापुच्छ्रे बाट पनि कमाउने आशा राखेका छौ ? प्रश गरे ।

पर्यटन व्यवसायी नरेश भट्टराई पनि माछापुच्छ्रे को सुन्दरतालाई जोगाउन आरोहण गर्न दिन नहुने तर्क राख्छन् । “गण्डकी प्रदेशमा मात्रै आठ हजारमाथिका तीन वटा हिमाल (अन्नपूर्ण, मनास्लु र धौलागिरी) छन् । अन्नपूर्ण प्रथमको मध्य र पूर्व पनि आठ हजार मिटरमाथि छन् । ती हिमालको आरोहणको अवस्था र प्रचारप्रसारमा सरोकारवालाहरु मौन छन् । अहिले एकाएक माछापुच्छ्रे आरोहणको विषय उठाउनु सान्दर्भिक छैन । हामी अध्ययन विना हतारिन्छौ । माछापुच्छ्रे को सुन्दरता हेर्नमा नै उपयुक्त छ, चढ्नमा होइन ।” माछापुच्छ्रेलाई कुमारी नै राखेर त्यसैलाई ‘टुरिज्म प्रडक्ट‘को रुपमा प्रचार गर्नुपर्ने उनको सुझाव छ ।

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले पर्यटन विभागसँग सहकार्य गरी माछापुच्छ्रे हिमालको आरोहण खोल्न पहल भएको बताए । “प्राकृतिक कुरालाई जीविकोपार्जनसँग जोड्नु पर्छ,” उनले भने “माछापुच्छ्रे बासिन्दा हिमालको उपयोग गरेर आफ्नो जीवनस्तर बढाउन लाग्नुपर्छ । अब हेरेर बस्ने कुराको मात्रै तर्क गरेर हुँदैन ।” जाति र धर्म विशेषसँग जोडेर यस हिमालको आरोहण रोकिएको भन्ने कुरा मिथ्या भएको उनले भनाई छ ।

सन् १९५६ तिर बिट्रिश कर्णेल रोबर्टसन र उनको टोलीले माछापुच्छ्रे आरोहणको प्रयास गरेका थिए । नसकेर बीचबाटै फर्के । आफूले नसकेपछि अरुलाई किन यश कमाउन दिने भन्ने मनसायले देउता छन् भन्ने प्रचार गरेको हुनसक्ने गुरुङको भनाइ छ । पर्यटन मन्त्रालयका अनुसार विसं २०२० पछि यसको आरोहण बन्द छ ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामाले भने– पर्यटन विकासमा नयाँ नयाँ गन्तव्यको खोजी जरुरी हुने भएकाले माछापुच्छ्रे आरोहण खुला गरे आरोहीको आगमन बढ्ने सक्ने विश्वास व्यक्त गरे ।

विसं २०३४ सालदेखि हिमाल आरोहणको रोयल्टी उठाउने अनुमति प्राप्त गरेको सङ्घले हाल २७ वटा हिमालको आरोहण अनुमति प्राप्त गरेको छ । सरकारले ४१४ हिमाल आरोहणका लागि खुला गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width