बलत्कारीलाई १३ बर्ष कैद सजायको फैसला

रासस
चैत्र १, २०७५
1486899803Supreme_Court

सप्तरी, १ चैत । सामूहिक बलात्कारका तीन कसुरदारलाई जिल्ला अदालत सप्तरीले जनही १३ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले राजविराज नगरपालिका–४ का २४ वर्षीय शम्भु साह, वडा नं ८ का २८ वर्षीय नवीन दत्त र वडा नं ९ का २१ वर्षीय फुदिन खानलाई बलात्कारको कसुरमा आठ र सामूहिक बलात्कारको कसुरमा थप पाँच वर्ष गरी १३ वर्ष कैद सजायको फैसला भएको अदालतले जानकारी दिएको छ ।

एसएलसी परीक्षा दिएर फर्केकी १६ वर्षीया बालिकालाई विसं २०७१ चैत १३ गते कोठामा लगी सामूहिक बलात्कार गरेको भन्दै पीडितले आरोपितसहित सातविरुद्ध उजुरी दिएकी थिइन् । आरोपितमध्ये पक्राउ नपरेका शम्भु, नवीन, फुदिन, राजविराज–८ का २५ वर्षीय कमल भनिने कमलकिशोर साह र राजगढ गाउँपालिका–३ नर्घोका २० वर्षीय दिपेशकुमार यादवलाई अदालतले २०७२ वैशाख २४ गते वारेण्ट पूर्जी जारी गरेको थियो ।

आरोपितमध्ये कमलकिशोर, रुपनी गाउँपालिका–६ तेरहौताका २५ वर्षीय जितेन्द्र मण्डल खङ्ग र सुनसरीको गढी गाउँपालिका–६ सतेरझोराका १८ वर्षीय दीपक खेरवार यादवले २०७३ जेठ २४ गते अभियोग दाबीबाट सफाइ पाएका थिए ।

धरौटी राखी तारेखमा रिहा भएका शम्भु, नवीन र फुदिनका हकमा उच्च अदालत जनकपुर राजविराज इजलासले गत कात्तिक १५ गते पुर्पक्षका लागि थुनामा राखी कारवाही गर्न आदेश दिएपछि प्रहरीले शम्भु र नवीनलाई गत मङ्सिर ३ गते पक्राउ गरेको थियो ।

तारेख गुजारेका फुदिन २०७५ पुस ८ गते अदालतमा हाजिर भएका थिए । श्रेस्तेदार दिलकुमार वर्देवाका अनुसार पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका शम्भु, नवीन र फुदिनका हकमा जिल्ला अदालतले १३ वर्ष कैद सजायको फैसला गरेको र दिपेशको हकमा मुद्दा मुल्तवी नै रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width