विप्लव समूह राजनीतिक शक्ति : केसी

आदर्श समाज सम्वाददाता
चैत्र १, २०७५
arjun_Fotor

पत्रकार सम्मेलनमा बोल्दै काँग्रेस नेता अर्जुननरसिंह केसी। तस्वीरः ऋषिराम बराल/आदर्श समाज

पोखरा, ३० फागुन। नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले विप्लव समूहको कम्युनिष्ट पार्टीलाई राजनीतिक पार्टीको संज्ञा दिएका छन्।

नेपाल प्रेस युनियन कास्कीद्वारा बिहीबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता केसीले भनेका छन्, ‘उनीहरु राजनीतिक पार्टी हुन्। राजनीतिक पार्टीलाई प्रतिबन्ध लगाउने कानून नेपालमा छैन। उनीहरुलाई प्रतिबन्ध लगाउने कार्य अलोकतान्त्रिक हो।’

उक्त समूहलाई वार्ता र छलफलका माध्यमबाट मूल राजनीतिको मूलधारमा ल्याउनु पनेर्मा नेता केसीको जोड थियो। उनले भने, ‘उनीहरुका गतिविधि गलत छन् भने त्यो रोक्न जरुरी छ।’

नेपाली काँग्रेस पार्टीको केन्द्रीय सदस्यसमेत रहेका केसीले विप्लव समूह र केपी नेतृत्व सरकार दुवैले देशमा लुट मच्चाएको औंल्याए। उनले भने– ‘विप्लव समूहले व्यापारीहरुसँग चन्दा आतङ्क मच्चाएको छ भने, ‘केपी नेतृत्वको सरकारले सिंहदरबारमै बसेर जनताको करमा लुट मच्चाएको छ।’ नेता केसीले सरकारले १३ महिनामा काण्डैकाण्ड गर्न सफल भएको आरोप लगाए। ‘केपी नेतृत्वको सरकारले शासन गरेको १३ महिना पुग्यो,’ उनले भने, ‘यो समयमा राम्रा काम कुनै गरेन। निर्मला हत्या काण्ड, वाइडबडी काण्ड, बूढीगण्डकी जलविद्युत् काण्ड, सुनकाण्ड, फोरजी काण्ड, एनसेल काण्ड चर्चित बनेका छन्।’

ओली नेतृत्वको सरकार जनताको चाहना र अपेक्षाअनुसार नचलेको केसीको अर्को आरोप थियो। महंँगी र कर वृद्धिले जनतालाई दैनिक जीविकोपार्जनमा कठिन भएको केसीको कथन थियो। ‘जनताको सुरक्षा र स्वतन्त्रताको प्रत्याभूति गराउनु सरकारको दायित्व हो,’ केसीले भने, ‘दायित्वबाट सरकार चुकेको छ।’

केसीले सुनकाण्ड, बाइडवडी खरिद प्रकरणबारे निष्पक्ष छानवीन गरेर दोषीलाई कानूनी कारबाही गर्नुपनेर्मा जोड दिए। ‘सिंहदरबारदेखि वडासम्म भ्रष्टाचार मौलाएको छ,’ उनले भने, ‘प्रेस, न्यायालय र अख्तियारमाथि आक्रमण गर्दै सरकार अधिनायकवादतर्फ अगाडि बढेको छ। नेताले गरेका भ्रष्टाचारका मुद्दालाई अगाडि बढाउनुपर्छ। त्यसमा आफ्नै पार्टीको नेता किन नपरुन्, कारबाही हुनुपर्छ।’

केसीले सीके राउतलाई शान्तिप्रक्रियामा ल्याउने कार्य राम्रो रहेको औंल्याए। सरकारले सीके राउतसँग गरेको ११ बुँदे सम्झौतामा केही बुँदा अस्पष्ट रहेको बताए। केसीले भने, ‘सम्झौता भएको भोलिपल्टै स्वतन्त्र मधेशका नारा उठेका छन्। समझदारी कार्यान्वयन हुनुपर्यो।’

यो समझदारीले प्रधानमन्त्री केपी शर्मालाई प्रयोग गरेर सीके राउतले स्वतन्त्र मधेसको विखण्डन कार्य अगाडि बढाउन प्रोत्साहन गरेको बताए। ‘सरकारले सीके राउतलाई प्रयोग गरेर राष्ट्रिय एकतामा ल्याएनन्,’ नेता केसीले भने, ‘सीके राउतले नै सरकारलाई प्रयोग गरेर राष्ट्र विखण्डन कार्यमा अग्रसर छ। यदि सम्झौता नै भएको हो भने सीके राउतले सञ्चालन गरेको राष्ट्रविरोधी कार्य बन्द होस्।’

नेपाली काँग्रेस पार्टीभित्र आन्तरिक विवाद रहेको नेता केसीले स्वीकार गरे। उनले काँग्रेस बलियो प्रतिपक्षी बन्न नसकेको समेत स्वीकार गरे। ‘नेपाली काँग्रेस पार्टीभित्र आन्तरिक विवाद छ,’ उनले भने, ‘पार्टीको अपारदर्शी नीतिकै कारण पार्टी एक ढिक्का भएर अगाडि बढ्न सकेको छैन।’

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाश सापकोटा र सञ्चालन सचिव प्रदीप पौडेलले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width