अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता

रासस
फागुन २६, २०७५
20190206_180256-e1549616041747

स्याङ्जा, २६ फागुन । स्याङ्जाको वालिङमा शनिबार भएको अन्तराष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको उपाधि क्यानेडाली खेलाडी कोरी वालेसले हात पारेका छन् ।

एक सय किलोमिटरको दूरी कोरीले छ घण्टा २० मिनेट ५८ सेकेण्डमा पूरा गरेका थिए । टाइटलतर्फ प्रथम भएका कोरीले नगद पाँच लाख रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

महिलातर्फ लक्ष्मी मगर आठ घण्टा नौ मिनेट २६ सेकेण्डमा निर्धारित दूरी पार गरेर प्रथम भए भने उनले तीन लाख नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यसैगरी प्रतियोगितामा आठ घण्टा ५१ मिनेट ५६ सेकेन्डमा सो दूरी पार गरी सोनी गुरुङ द्वितीय भएकी छन् । द्वितीय भएसँगै गुरुङले ५० हजार रुपैयाँ नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।

प्रतियोगितामा पुरुषतर्फ हर्कबहादुर लामा प्रथम, कमल ओली द्वितीय र सन्तोष गुरुङले तृतीय स्थान हासिल गरेर क्रमशः एक लाख ५० हजार, ५० हजार र ३० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताको घोषणासभामा गण्डकी प्रदेशसभा सदस्य एवं विधायन समितिका सभापति मोहनप्रसाद रेग्मी, वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलगायतले विजयी खेलाडीलाई पुरस्कार वितरण एवं सम्मान गरेका थिए ।

टाइटलतर्फ च्याम्पियन भएका क्यानेडाली खेलाडी कोरी वालेसले आफू सहभागी भएको प्रतियोगितामध्ये यहाँ भएको प्रतियोगिता निकै कठिन खालको भएको र यो प्रतियोगिताले आफूमा थप साहस बढेको प्रतिक्रिया दिँदै माउन्टेन बाइक प्रतियोगिताका लागि यो ठाउँ उपयुक्त भएको बताए ।

वन्डरफूल वालिङ पर्यटन विकास संस्थाको आयोजना र वालिङ नगरपालिकाको सहयोगमा सम्पन्न प्रतियोगिताबाट जिल्लालाई नै साहसिक पर्यटकीय गन्तव्यका रूपमा विश्वभरि परिचित गराउने उद्देश्य लिइएको संस्थाका अध्यक्ष दिनकर नेपालले जानकारी दिए । प्रतियोगितामा दुई पटकसम्म विश्व च्याम्पियन बनेका क्यानेडाली वालेससहित दुई विदेशी र २६ स्वदेशी गरी २८ खेलाडीको सहभागिता रहेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width