पैसा नतिरेपछि पोखरामा प्याराग्लाइडिङ ब्याण्ड

प्रकाश ढकाल
फागुन २२, २०७५
PARAGLIDING_IN_NEPAL

पोखरा, २१ फागुन। तत्कालीन सराङकोट गाविस हुँदा पोखरामा प्याराग्लाइडिङ उडाउने कम्पनीले बार्षिक १ लाख ५० हजारका दरले कर बुझाउँथे। पछि कम्पनी बढ्दै गयो। गाविसले कर घटाएर ५० हजार बनायो। २०७१ सालमा सराङकोटसहितका केही गाविसहरु पोखरा उपमहानगरपालिकामा गाभिए।

त्यसपछि गाविसले लिने करहरु स्वतः नगरपालिकामा आयो। तर उपमहानगरपालिकाले गाविसको भन्दा पनि निकै घटेर कर निर्धारण गरियो। बार्षिक डेढ लाख तिर्दै आएका कम्पनीले ५ हजार ५ सय रुपैयाँ बर्षेनी कर तिरे पुग्यो।

पछि महानगरपालिका भैसकेपछि त्यसलाई बढाएर पुनः ५० हजार पुर्याइयो। प्रदेश सरकार गठन भएपछि अघिल्लो बर्ष त्यही कर घटाएर २५ हजार कायम गरियो। प्रदेश सरकारले मनोरञ्जन कर शीर्षकमा प्याराग्लाइडिङ कम्पनीसँग १ लाख रुपैयाँ लिन्छ।

तर, हालसम्म कुनैपनि कम्पनीले कुनै सरकारलाई कर बुझाएका छैनन्। गाविस उपमहानगरपालिकामा गाभिएदेखि अहिलेसम्म सरकारलाई कर नबुझाई मनपरि रुपमा प्याराग्लाइडिङ उडान गराउँदै आएका कम्पनीलाई महानगरले अंकुश लगाएको छ।

कर नतिर्ने कम्पनीका प्याराग्लाइडिङ बुधबारदेखि उड्न नदिने महानगरका मेयर मानबहादुर जिसीले बताए। ‘बन्द गर्ने हाम्रो नियत होईन। पर्यटकलाई लक्षित गरेर हामी पनि लचिलो भएका हौं। धेरै पटक बार्तामा बोलायौं पनि,’ उनले भने, ‘वार्तामा आउँछन्। सहमति गर्छन्। त्यसपछि मतलवै गर्दैनन्। सरकारलाई कर तिर्दैनन्। अव कर नतिरेसम्म प्याराग्लाईडिङ उड्न पाउँदैनन्।’

प्याराग्लाइडिङ कम्पनीले विगत ४ बर्षदेखि महानगरलाई कर नबुझाएका कारण उडान प्रतिबन्ध लगाइएको उनले सुनाए। आर्थिक बर्ष २०७२/०७३ देखि महानगरले तोकेको ८६ हजार रुपैयाँ कर नबुझाएको राजश्व शाखाका रोम उपाध्यायले जानकारी दिए।

उनका अनुसार हालसम्म एउटा कम्पनी मात्रै महानगरमा दर्ता छ। महानगरले आर्थिक बर्ष २०७२/०७३ र २०७३/०७४ मा ५ हजार ५ सयका दरले कर तोकेको थियो भने २०७४/०७५ मा ५० हजार तथा २०७५/०७६ मा २५ हजार रुपैयाँ शुल्क तोकेको थियो। महानगरले १९ गते पत्र लेखेर नवीकरण र पर्यटन शुल्क उठाउनका लागि वडालाई अधिकार पठाएको छ।

‘महानगरले आँफै पनि प्याराग्लाईडिङ कम्पनीलाई ताकेता गरेको थियो। धेरैले पत्रै बुझ्न मानेनन्। पत्र बुझेकाहरुले पनि आलटाल गर्न लागे,’ उपाध्याय भन्छन, ‘त्यसपछि वडासँगको सहकार्यमा कर नतिर्दासम्म उड्न प्रतिबन्ध लगाउन लागिएको हो।’

१८ नम्बर वडा कार्यालयले पनि कम्पनीलाई पत्र पठाएर करको दायरामा आउन आग्रह गरेको थियो। २१ गतेसम्म कर नबुझाउनेले सराङकोटबाट उड्न नपाउने वडाध्यक्ष रणबहादुर थापाले बताए।

‘हामीले सबैलाई पत्र पठाएका छौं। पैसा तिरेको रसिद देखाए भोलि पनि उड्न पाउँछन्। नभए पाउँदैनन्,’ उनले भने, ‘महानगरमा दर्ता गरेर पैसा नबुझाएसम्म अव हाम्रो वडाबाट प्याराग्लाईडिङ उड्दैनन्।’

पोखरामा प्याराग्लाईडिङ उडाउने ६० वटा कम्पनी छन्। तिमध्ये ४० को हाराहारीमा मात्रै सक्रिय रहेका पोखरा विमानस्थलले जनाएको छ। जिल्ला प्रहरी, जिल्ला प्रशासनलाई पनि बोधार्थ बुझाएर प्याराग्लाइडिङ उडान रोक्न लागिएको वडाध्यक्ष थापाले बताए। उनका अनुसार प्याराग्लाइडिङ उडान हुने ५ वटा नाकामा प्रहरी राखेर निगरानी गरिनेछ।

नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष योगेश भट्टराईले चाहीँ बढेको कर तिर्न नसक्ने बताए। महानगरले विना आधार मनपरि कर बढाएको भन्दै तिर्न नसक्ने बताए। जथाभावी कर बढाएर ब्यवसाय धरापमा पार्ने काम गरेको उनको आरोप छ।

‘हामी पनि कर तिर्ने पक्षमा छौं। ५ हजारबाट बढाएर एकैबर्ष ५० हजार पुग्यो। यसको आधार के हो? कर निर्धारण गर्ने पनि आधार चाहियो नि,’ उनले भने, ‘अर्वौं लगानी गरेर ब्यवसाय गर्नेलाई २० हजार कर छ। हाम्रो मुश्किलले १ करोड लगानी भएको ब्यवसायलाई ५० हजार कर सुहाउँदो भएन।’

पर्यटक शुल्कको नाममा प्रदेश सरकारले लिने कर प्याराग्लाइडिङ व्यवसायमाथि न्यायोचित नभएको उनको भनाई छ। ‘महानगरले बढाएको कर त तिर्न सक्ने अवस्था छैन। त्यसमाथि प्रदेशले पनि १ लाख रुपैयाँ कर तोकेछ। यस्तो पाराले त ब्यवसाय नै बन्द गरे भैगो नि,’ उनी भन्छन्, ‘पर्यटक शुल्क व्यवसायीसँग लिने कि पर्यटकसँग? यो शुल्क नाकाबाट लिने होला नि। सराङकोट डाँडाबाट मात्रै तिर्ने हो र ? ’ प्याराग्लाइडिङ बन्द गराउनु सरकारको धरपकड भएको उनले सुनाए।

सोलो उडान बन्द, दुई कम्पनीलाइ कारबाही

पोखरामा दिनदिनै प्याराग्लाइडिङ दुर्घटना भएपछि नागरिक उड्डयन प्राधिकरण पोखराले सोलो उडान बन्द गरेको छ। विदेशी पाइलटले तोकिएको क्षेत्र भन्दा बाहिर गएर प्याराग्लाइडिङ गर्दा दुर्घटना बढेको भन्दै कार्यालयले मंगलबार सुचना प्रकाशन गरी उडान बन्द गरेको हो। पछिल्लो तीन दिनमा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

अर्को सूचना जारी नहुँदासम्म उडान बन्द गरिएको पोखरा विमानस्थलका प्रमुख भोलाप्रसाद गुरागाईले जानकारी दिए। तोकिएको नियम पालना नगरेकोले हवाइजहाज र हेलिकप्टरसँग पनि ठोकिन सक्ने सम्भावना भन्दै रोक लगाइएको गुरागाईंले बताए। यसैबीच, पोखराको ब्ल्युस्काइ प्याराग्लाइडिङ र फन्टएयर प्याराग्लाइडिङको संचालन अनुमति निलम्बन गरिएको छ। दुबै कम्पनीबाट उडान भरेका पाइलटहरु दुर्घटनामा परेपछि छानविनका लागि निलम्बन गरेको गुरागाईंले बताए।

लगातार प्याराग्लाइडिङ दुर्घटना, २ विदेशीको मृत्यु, २ घाइते

कास्कीमा ३ दिनयता लगातार प्याराग्लाइडिङ दुर्घटना भएको छ। आइतबारयता दुर्घटनामा परी १ जनाको मृत्यु र २ जना घाइते भएकोमा तेस्रो दिन मंगलबार अर्को दुर्घटनामा एक विदेशी पाइलटले ज्यान गुमाएका छन्।

दुर्घटनामा रसियन नागरिक ४० वर्षीय मिटभील स्टेपानिसिन को मृत्यु भएको हो। पोखरा १८ सराङकोटस्थित ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ अचानक अनियन्त्रित भई ग्लाइडर खुम्चिएर ढुंगामा बजारिँदा घाइते ती नागरिकको उपचार क्रममा पोखराको मेट्रो सिटी अस्पतालमा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ।

आइतबार मात्र प्याराग्लाइडिङ फेवातालमा खस्दा घाइते भएका रोमानियन पाइलट इबि चिसजिरको मृत्यु भएको थियो। सराङकोटबाट उडेका उनी तालमा खसेपछि तत्काल उद्धार गरी मेट्रो सिटी अस्पताल, सिर्जनाचोक लगिए पनि उनको मृत्यु भएको चिकित्सकले घोषणा गरेका थिए।

सोमबार माछापुच्छ्रे गाउँपालिका–९ ठाँटीमा पोर्चुगलका ३७ वर्षीय जानुज कारोलको प्याराग्लाइडिङ दुर्घटनामा परेका हुन्। विद्युत तारमा अड्केका ती पाइलटलाई करेन्ट लाग्दा भुईमा पछारिन पुगेका थिए। पर्यटकको बायाँ हात जलेको छ।

सोमबार नै मादी गाउँपालिका–७ छाचोकमा रसियन पाइलट ६३ वर्षीय इलगिज यागुदिन प्याराग्लाइडिङबाट खसेर घाइते भएका छन्। मादी गाउँपालिका–७ का वडा अध्यक्ष लालबहादुर गुरुङका अनुसार रुपमा अड्किएका ती विदेशीलाई नजिकैको अर्को रुखबाट गएर डोरी बाँधेर स्थानीय विजय खत्री र मनोज लामिछानेले उद्धार गरेका थिए।

घाइतेको उपचार भैरहेको छ। नागरिक उडड्य कार्यालय पोखराले विदेशबाट प्याराग्लाइडिङ सिक्न आउने प्याराग्लाइडिङ पाइलटको राम्रोसँग नबुझी व्यावसायिक गर्ने स्थानमा उडान भर्न अनुमति दिँदा दुर्घटना बढेको प्याराग्लाइडिङ कम्पनीहरु बताउँछन्। नागरिक उडड्य कार्यालय पोखरा प्रमुख भोलाप्रसाद गुरागाईले आफूहरुले विभिन्न कम्पनीसँगको सहकार्यमा विदेशीहरुलाई १५ दिनको उडान अनुमति दिने गरेको बताए।

ब्लु स्काई कम्पनीका संचालक नारायण पराजुलीले आफुहरुले विदेशीहरुको आवश्यक डकुमेन्ट मात्र अघि बढाएको तर यसको राम्रोसँग उडाउन दिन मिल्ने नमिल्ने नागरिक उडड्यन कार्यालयले नै रेखदेख गर्नुपर्ने बताए। नागरिक उड्डयन कार्यालयले ब्लु स्काई र फन्ट एयर प्याराग्लाइडिङ कम्पनीलाई स्पष्टिकरण माग्दै तत्काल उडान रोकेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width