पूर्वउपप्रधानमन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि

आदर्श समाज सम्वाददाता
फागुन २०, २०७५
Bharat Mohan_Fotor

काठमाडौँ, १९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दिवंगत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको आइतबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपतिस्थित आर्यघाटमा नेता अधिकारीको पार्थिव शरीरमा सुपुत्रीत्रय लुना, लिमा र लिजाले संयुक्तरूपमा दागबत्ती दिएका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । यसअघि नेपाल सरकारका तर्फबाट उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेता अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाए ।

नेता अधिकारीको पार्थिव शरीरमा धर्मपत्नी सविता, नेकपाका महासचिव विष्णु पौडेल, नेकपाका नेता जनार्दन शर्मा तथा नेपाली काँग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा रामशरण महत, डा मीनेन्द्र रिजाललगायत नेता तथा कार्यकर्ताले श्रद्धाञ्जलि अर्पण गरेका थिए । सोहीअवसरमा सशस्त्र प्रहरी बलको एक टुकडीले उनीप्रति सम्मान गारत अर्पण गरेको थियो । नेता अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो ।

नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी नेता अधिकारीको शनिबार राति ९:३५ बजे काठमाडौँको ह्याम्स अस्पतालमा ८३ वर्षका उमेरमा निधन भएको थियो । उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आइतबार बिहान नेकपाको केन्द्रीय कार्यालय धूम्रबाराहीमा राखिएको थियो । उनको पार्थिव शरीरमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले पुष्पहार अर्पण गरी श्रद्धाञ्जलि दिएका थिए ।

जनताका मोहन अर्थात भरतमोहन अधिकारीले मुलुकको कार्यवाहक प्रधानमन्त्री, दुई पटक उपप्रधानमन्त्री तथा विभिन्न मन्त्रालयको नेतृत्व सम्हालेका थिए । विसं २०४७ पुस २२ गते नेकपा (माक्र्सवादी) र नेकपा (माले)का बीचमा एकीकरणमा उनले अहम भूमिका निर्वाह गरेका थिए । नेपालको संविधान २०४७, अन्तरिम संविधान २०६३ तथा नेपालको संविधानमा नेता अधिकारीको योगदान महत्वपूर्ण रहेको थियो ।

नेता अधिकारीले अर्थमन्त्री हुँदाका समयमा ल्याएका ‘आफ्नो गाउँ आफै बनाऔँ’, ज्येष्ठ नागरिक भत्ताजस्ता कार्यक्रम अति लोकप्रिय रहेका छन् ।

नेकपा मर्माहतः अध्यक्षद्वय

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी निर्माण, लोकतान्त्रिक संघर्ष र राजकीय क्षेत्रमा महत्वपूर्ण योगदान गरेका अनुभवी नेता तथा पूर्वउप्रधानमन्त्री भरतमोहन अधिकारीलाई गुमाउनुपर्दा मर्माहत भएको बताएको छ ।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्तरूपमा शोक वक्तव्य जारी गरेर स्वर्गीय अधिकारीले मुलुकको परिवर्तन र रूपान्तरणको अभियानमा पुर्याएको योगदानको उच्च सम्मान गरेका छन् । दिवंगत नेताप्रति श्रद्धाञ्जलि अर्पण गर्दै अध्यक्षहरूले नेता अधिकारीकी जीवनसँगिनी सविता अधिकारी, छोरीहरु लुना, लिमा र लिजालगायत परिवारका सदस्यहरू र आफन्तजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

नेकपाद्वारा शोक प्रस्ताव

नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सचिवालयको आइतबार सम्पन्न बैठकले फागुन १८ गते राजधानीको ह्याम्स अस्पतालमा निधन हुनुभएका पार्टीका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति शोक प्रस्ताव पारित गर्दै देशभरका सबै पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ। बैठकले आइतबार, सोमबार र मंगलबार गरी तीन दिनसम्म सबै तहका पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ।

बैठकले यही फागुन २३ गते राजधानीको भृकुटीमण्डपमा पार्टी केन्द्रको आयोजनामा श्रद्धाञ्जलि सभा गर्ने निर्णय गरेको पार्टी महासचिव विष्णुप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

सभापति देउवाद्वारा दुःख व्यक्त

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भरतमोहन अधिकारीको निधनले आफूलाई दुःखित तुल्याएको बताएका छन् ।

सभापति देउवाले आइतबार एक शोक विज्ञप्तिमार्फत पुराना नेता श्रद्धेय अधिकारीको बिदाइसँगै मुलुकले एक असल र अनुभवी राजनीतिज्ञ गुमाएको र आफूले व्यक्तिगत रुपमा एक सहृदयी मित्र गुमाएको बताए ।

‘पञ्चायतको अन्त्य र प्रजातन्त्र स्थापनाका लागि अनवरत संघर्षमा उहाँको भूमिकासँगै यो क्षण म राजनीतिक सहकार्यको संस्कृति निर्माणमा उहाँले पुर्याउनु भएको योगदान स्मरण गरिरहेको छु, ’ विज्ञप्तिमा भनिएको छ । सभापति देउवाले नेता अधिकारीको निधनप्रति व्यक्तिगत एवं पार्टीका तर्फबाट गहिरो शोक व्यक्त गर्दै नेकपा पार्टी र उनको परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

जनमोर्चाद्वारा श्रद्धाञ्जलि

राष्ट्रिय जनमोर्चाले पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भरतमोहन अधिकारीको निधनमा श्रद्धाञ्जलि व्यक्त गरेको छ । पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आइतबार जारी गरेका विज्ञप्तिमा मुलुकको कम्युनिस्ट आन्दोलनमा अधिकारीको निधनले पार्टीलाई दुःख लागेको उल्लेख गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ । देशमा निरंकुश राजतन्त्र हाबी भएको, कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लागेको र कम्युनिस्ट पार्टीका कतिपय नेताले राजतन्त्रलाई समर्थन गरी कम्युनिस्ट आन्दोलनबाट पलायन भएको अवस्थामा अधिकारीले कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन महत्वपूर्ण कार्य गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

सांसद मञ्चद्वारा दुःख व्यक्त

अधिकारीको निधनप्रति पूर्वसांसद मञ्च नेपालले नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय नेता, पूर्वउपप्रधानमन्त्री एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको असामयिक निधनप्रति गहिरो दुःख प्रकट गरेको छ । मञ्चका उपाध्यक्ष गोविन्दबहादुर शाहले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा मञ्चका आजीवन सदस्य रहेका अधिकारीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width