सिटी रेवानको महोत्सव सुरु

शेरबहादुर खत्री (शिलास), विद्यार्थी पत्रकार   
फागुन २०, २०७५
City Reban Mahotsav_Fotor

पोखरा १९ फागुन । सातौँ सिटी रेवान महोत्सव तथा फूड फेष्टिबल २०७५ साथमा क्यान इन्फोटेक मेला आइतबारदेखि पोखरामा सुरु भएको छ । ‘पर्यटन प्रवद्र्धनको लागि सँगसँगै’ भन्ने नाराका साथ सुरु भएको महोत्सवको उद्घाटन गर्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पोखरालाई पर्यटनको राजधानी बनाउनेमा कुनै सन्देह नभएको बताए ।

‘प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक भ्रमण बर्षका रुपमा मनाइरहेको छ, ’ उनले भने, ‘समृद्धिका लागि सहर केन्द्रित नभई हरेक स्थानीय निकायमा रहेका पर्यटकीय स्थलहरुको पहिचान गरी प्रवद्र्धन गरिने छ ।’

पर्यटनबाटै आर्थिक समृद्धि सम्भव रहेको भन्दै मन्त्री लम्सालले पर्यटनको पहिलो आधार पूर्वधार भएकाले सन् २०२१ लाई पुर्वाधार निर्माण वर्षका रुपमा मनाउन लागिएको उल्लेख गरे ।

अर्को प्रसंगमा मन्त्री लम्सालले रविन्द्र अधिकारी सवार जहाज दुर्घटनाले अन्तराष्ट्रियस्तरमा नेपाली आकाश असुरक्षित रहेको सन्देश गएकाले यसलाई चिर्न आवश्यक रहेको औंल्याए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले ट्रेड फेयरको रुपमा फेष्टिवललाई विकसित गर्दै लैजानुपर्ने बताए । अधिकारीले व्यवसायीहरुलाई मेला महोत्सवबाट फाइदा खोज्नु भन्दापनि आ–आफ्नो व्यवसायको प्रवद्र्धन गर्न आग्रह गरे ।

कार्यक्रममा सिटी रेवानका संस्थापक अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, नेपाली काँग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डे, नयाँ शक्तिका संयोजक देवीप्रसाद सुवेदी, उपभोक्ता मञ्चका अध्यक्ष कपिलनाथ कोइराला, सामुदायिक सेवा केन्द्रका जयराम अधिकारीलगायतले बोलेका थिए ।

पोखराको प्रदर्शनी केन्द्रमा फागनु २७ गतेसम्म सञ्चालन हुने महोत्सवको पहिलो दिन आइतबार स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुती रहेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width