चीनले गण्डकी प्रदेशमा नमूना गाई फार्म निर्माण गर्ने

रासस
फागुन १८, २०७५
ppp


कास्की, १८ फागुन । नेपालको पूर्वाधार र सामाजिक विकासमा सहयोग गर्दै आएको मित्रराष्ट्र चीनले अब पशुपालनको क्षेत्रमा पनि सहयोग गर्ने भएको छ ।

गण्डकी प्रदेशमा पशुपालनको आधुनिकीकरण र विकासका लागि नमूना फार्म स्थापना गर्नेसम्बन्धी सम्झौतापत्रमा शुक्रबार गण्डकी प्रदेश सरकार र चाइनिज एकेडेमी अफ एग्रिकल्चर साइन्सेस (सिएएस) इञ्जिनीयरिङ कम्पनीकाबीच सम्झौता भएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सभामुख नेत्रनाथ अधकारी तथा मन्त्रीहरुको उपस्थितिमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठ र सिएएमएसका प्रमुख इञ्जिनीयर उ डेनसेङकाबीचमा सम्झौतापत्र हस्ताक्षर गरी आदानप्रदान गरियो । सिएएस चीनमा कृषि तथा पशुपालनको क्षेत्रमा स्थापित कम्पनी भएको बताइन्छ ।
सम्झौतामा दुग्ध विकासको माध्यमबाट ग्रामीण गरीबी निवारण गर्न चीन सरकारको पूर्ण लगानीमा सिएएसले चिनिया गाईको नमूना फार्म स्थापना गर्ने तथा आर्थिक, प्राविधिक र समन्वयको काम गर्ने उल्लेख छ ।

फार्ममा चिनियाँ ‘होलिस्टेन फ्रिजायन’ जातको दैनिक ३५ लिटर दूध दिने गाईको बाच्छी दुई चरणमा गरेर चार हजार ल्याइने सम्झौतामा उल्लेख छ । उक्त फार्मलाई गाईको स्रोत केन्द्रको रुपमा विकास गरी यहाँका स्थानीय जातका गाईको नश्ल सुधार गर्ने सोच सरकारले लिएको छ ।

फार्मका लागि आवश्यक करीब एक हजार हेक्टर (२० हजार रोपनी) जमीनको प्रबन्ध भने प्रदेश सरकारले गर्नुपर्नेछ । त्यसका साथै फार्मसम्म पुग्नका लागि बाटो, बिजुली तथा खानेपानीको व्यवस्था पनि सरकारले गर्ने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले बताए ।

तनहुँ, गोरखा र लमजुङका केही ठाउँमा फार्म राख्नका लागि सम्भाव्यता अध्ययन भइरहेको र स्थानीयवासीलाई फार्ममा शेयर सदस्यको रुपमा सहभागी गराएर उनीहरुको जमीनसमेत प्रयोग गर्ने योजना सरकारले बनाएको छ ।
फार्मका लागि आवश्यक जमीन र त्यहाँसम्म पुग्नका लागि बाटो, बिजुली तथा पानीको व्यवस्था सरकारले गर्ने हो । अरु लगानीदेखि बाँकी सबै काम चिनियाँहरुले नै गर्दछन् । मन्त्री थापाका अनुसार गाई फार्मका माध्यमबाट दूध र दूधका अन्य उत्पादनका साथै गाईका लागि आवश्यक घाँसबाट दाना उद्योग र गोबरबाट ग्यास उद्योग स्थापना गर्ने योजना रहेको छ ।

फार्म राख्ने जमीनको छनोट भएपछि मात्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम अघि बढाइने र लगानी कति लाग्छ यकिन हुने छ ।

कार्यक्रममा सिएएमएसका प्रमुख युले नेपालको कृषि क्षेत्रको विकास र आधुनिकीकरणमा सहयोग गर्ने उद्देश्य चीन सरकारको रहेको बताए । बढी दुधालु भएका पशुको माध्यमबाट गाईपालनमा किसानलाई सहयोग पु¥याउँदै उनीहरुको जीवनस्तरमा कार्यक्रमले सहयोग पु¥याउने अपेक्षा सरकारले गरेको छ ।

चिनियाँहरुले दुग्ध क्षेत्रमा सहयोग गर्ने इच्छा व्यक्त गरेपछि प्रदेशले दुग्ध विकास बोर्ड ऐन निर्माण गरेर नमूना फार्म स्थापनाको लागि काम अघि बढाएउने जनाएको छ । चालू वर्षमा शुरुआत भएर यस परियोजना लामो समयसम्म सञ्चालन गर्ने सम्झौतामा उल्लेख छ । केही साताभित्रमा दुग्ध विकास बोर्ड गठन गरिने र बोर्डबाट नै फार्म स्थापनाको लागि जमीन छनोट लगायतका अन्य प्रक्रिया अघि बढाइने उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width