मन्त्री अधिकारीको अन्त्येष्टि आज

जामुनाबोट शोकमा

कविराज खनाल
फागुन १७, २०७५
rabindra-adhikari

लेखनाथ, १६ फागुन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको अकल्पनीय देहावसानले उनको जन्मगाउँ भरतपोखरी यखितेर शोकमा डुबेको छ।

पोखरा ३३, भरतपोखरी, जामुनेबोटस्थित गाउँमा आफन्तजन तथा गाउँलेको रुवावासी चलेको हो। जो देखिए पनि कसैको आँखा ओभाना छैनन्। सबैका रसाएका छन्।

उनको जन्मघरमा विहीवार छिमेकीलाई सान्त्वना दिन उपस्थित भएकाहरु नै भावविह्वल बनेर विकासप्रेमी नेता मन्त्री अधिकारी सम्झिदै भक्कानिएर रुँदै गरेको भेटिए ।

भरतपोखरीको जामुनाबोटमा २०२६ बैशाख २२ मा जन्म लिएका छरितो बानीब्यहोराका रवीन्द्रलाई राजनीतितर्फ डोर्यायो।

आमा लक्ष्मी अधिकारी र पिता इन्द्रप्रसाद अधिकारीका ज्येष्ठ पुत्रको रुपमा जन्मिएका अधिकारीले प्राथमिक शिक्षा गाऊँकै शान्ति उदय मावि विद्यालयबाट पूरा गरेका थिए। उनी सानै उमेरदेखि जिज्ञासु तार्किक र चनाखो स्वाभावका रहेका अधिकारीलाई पढाएका शिक्षक रवीन्द्रनाथ आचार्य सम्झन्छन्। समृद्धिको मार्गप्रशस्त गरेका हँसिलो स्वभाव, रिसाउन नजान्ने, अनुशासित र ठूलालाई कदर गर्ने मन्त्री अधिकारीको सानैदेखिको बानी रहने उनले सम्झे।

छिमेकी विष्णुमाया आचार्य पछैयोरीले आँखा पुछ्दै भनिन्, ‘सारा गाउँ शून्य भएको छ। रोएको छ। टुहुरो बनाएको छ। उनले परिकल्पना गरेका विचार राज्यले सधैँ सम्मान गरोस् भन्ने चाहना छ । ’

भरतपोखरीका ८८ वर्षे वयोवृद्धा केशव आचार्य बलिन्द्र आँसुका धारा बगाउँदै छन्। उनी बोल्न नि सक्दैनन्। उनले यत्ति भने, ‘दैवले हरेर लग्यो बाबुलाई । ’

भरतपोखरीस्थित घरमा परिवारका सदस्य हाल कोही पनि नबसे पनि बेलाबेलामा अधिकारीका बाबु इन्द्रप्रसाद पुग्ने गर्छन्। अधिकारीका बाबु इन्द्रप्रसाद र आमा लक्ष्मी अधिकारी पोखरा–५ मालेपाटनस्थित घरमा बस्छन् भने काठमाडौं पुल्चोकस्थित घरमा श्रीमती विद्या र कान्छा छोरा बस्छन्। जेठा छोरा बैंगलोरमा पढ्छन् ।

पर्यटन मन्त्री अधिकारीको पोखरा–३३ भरतपोखरी गैरागाउँ, जामुनाबोटस्थित जन्मघर। तस्वीर : कविराज

पृथ्वीनारायण क्याम्पस अनेरास्ववियुको इकाइ सभापति हुँदै पर्यटन मन्त्रीसम्म बनेका अधिकारी एक प्रतिबद्ध विकासप्रेमी युवा नेता थिए। सानैदेखि राजनीतिक गतिविधिमा रुची राख्ने उनी विद्यालयको पढाइ समयमा अनेरास्ववियु, रेडक्रस र क्लबहरुमा संलग्न रही सामाजिक कार्य गर्न रुचाउने गरेको गाउँले सम्झिन्छन्।

२०६४, २०७० को संविधानसभा निर्वाचन तथा २०७४ को प्रतिनिधिसभा निर्वाचनमा जित हासिल गरेका अधिकारी कास्कीबाट लगातार ३ पटकसम्म संसदीय निर्वाचन जित्ने एकमात्र नेता थिए ।

अधिकारीको निधनको खबरले समग्र कास्की स्तब्ध छ। सरकारले शोकमा सार्वजनिक बिदा घोषणा गरेकोले पनि होला विहीवार पोखरा बजार सुनसानप्रायः रह्यो। सामाजिक सञ्जालमार्फत पनि अधिकांशले मन्त्री अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका मन्त्री अधिकारीसहित सातै जनाको शव काठमाडौँ ल्याइएको छ।

विहीवार मौसममा सुधार आएसँगै नेपाली सेनाको हेलिकप्टरबाट दिउँसो १ बजेर २५ मिनेटमा ती शव त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याइएको हो। शव छुट्टाछुट्टै शववाहनमा राखेर परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो। काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो। दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निदेर्शक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिदेर्शक वीरेन्द्रप्रसाद श्रेष्ठ र निदेर्शक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको हो।

‘क्याविनेट’ नै घरमा

मुख्यमन्त्रीसहित गण्डकी प्रदेशका सातैजना मन्त्रीहरु ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीको घरमा पुगेर परिवारका सदस्यप्रति समवेदना प्रकट गरेका छन् । संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री अधिकारीको परिवार सदस्यलाई समवेदना दिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित मन्त्रिपरिषद् (क्याविनेट) का सबै सदस्य विहीवार दिउँसो पोखरा–५, मालेपाटनस्थित घरमा पुगेका हुन्।

परिवारलाई भेटेर निस्केपछि मुख्यमन्त्री गुरुङले देशका लागि ठूलो नोक्सान भएको भन्दै शोकलाई शक्तिमा बदलेर बाँकी सपना पूरा गनेर्तर्फ एकजुट हुनुपर्ने बताए।

‘यो अत्यन्त दुःखदायी घटना हो। शोकलाई शक्तिमा बदल्नुपर्छ। वहाँले छोडेर जानुभएको सपना हामीले पूरा गर्नुपर्छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘वहाँको सिर्जनशीलता, जुझारुपन, इमान्दारिता सबैले सिकेर बाँकी काम अगाडि बढाउने हो। सहनुको विकल्प छैन। दुःखको सामना गर्नुको विकल्प छैन । ’ अधिकारी पार्टीभित्र पनि निकै धेरै सम्भावना भएको नेता भएकोले ठूलो क्षति ब्यहोर्नुपरेको प्रतिक्रिया दिएका छन्। ‘राष्ट्रकै नोक्सान भएको बेला गण्डकीको क्षति नहुने कुरै भएन। पार्टीमा वहाँजस्तो युवा नेताको धेरै खाँचो थियो। ज्यादै धेरै सम्भावना बोकेको व्यक्ति हो,’ उनी भन्छन्, ‘वहाँले यसबीचमा धेरै काम गर्नुभयो। बन्द भएका एयरपोर्टहरु खोल्नुभयो। एयरपोर्ट सुधारका काम भएका छन्। अझै गर्दै हुनुहुन्थ्यो। तर अब वहाँ हामीबीच हुनुहुन्न। वहाँले थालेका काम पूरा गर्ने हाम्रो दायित्व हो । ’

सरकारले मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ। प्रदेश सरकारले त्यसको चाँजोपाँजो मिलाइरहेको छ। विहीवार मन्त्रिपरिषद् बैठक बसेर मन्त्री अधिकारीको श्रद्धाञ्जली र अन्त्येष्टिको कार्ययोजना तय गरेको प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए।

सरकारले यसअघि राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ।

मन्त्री अधिकारीको शव बिहान ११ बजे हेलिकोप्टर मार्फत पोखरा ल्याइने जनाइएको छ। दिउँसो १ बजे पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलीका लागि शव राखिनेछ। ४ घण्टा श्रद्धाञ्जलीका लागि राखेपछि शवयात्रा गरी रामघाटमा दाहसंस्कार गरिने सरकारले जनाएको छ। प्रदर्शनी केन्द्रबाट नयाँबजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटलचोक हुँदै रामघाटसम्म शवयात्रा हुने प्रवक्ता बस्नेतले जानकारी दिए।

मन्त्री अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिन शुक्रबार संघीय सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल, कानूनमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई लगायत सरकारी प्रतिनिधिका साथै नेकपा महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेता पोखरा आउने कार्यक्रम छ।

Related News

सम्बन्धित समाचार

hero news full width