डिफेण्डिङ च्याम्पियन पुलिस रोकियो

नारायण शाही
फागुन १४, २०७५
photo

तस्विर : सुदर्शन रञ्जित

तस्विर : सुदर्शन रञ्जित

पोखरा, १४ फागुन । साविक विजेता नेपाल पुलिस क्लब पोखरामा जारी आहा आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा रोकिएको छ । विदेशी डफिन्स फ्यामिली टिम क्यामरुनले विभागीय पुलिसलाई सेमीफाइनल जानबाट रोकेको हो ।

पोखरा रंगशालामा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा डफिन्ससँग पुलिस २–१ ले हार्दै प्रतियोगिताबाट बाहिरियो । निर्धारित ९० मिनेटको समयमा दुबैले बराबरी खेल्दा यानिक ओवानाले अतिरिक्त समयको पाँचौ मिनेटमा गरेको गोलले डफिन्सले सेमीफाइनल यात्रा तय ग¥यो ।

डफिन्सको जितमा आन्द्रे थिएरी र यानिक ओवानाको योगदान रह्यो । आन्द्रे थिएरीले खेलको ३७ औं मिनेटमा पहिलो गोल गर्दै डफिन्सलाई अग्रता दिलाए । अहाण्डाको कर्नर बलमा थिएरीले गोल गरेका थिए ।

दायाँ कर्नरबाट अहाण्डाले प्रहार गरेको हाईबललाई पुलिसका रबि पासवानले क्लियर गर्न नसक्दा गोल थिएरीले गोल गरेका थिए । डफिन्सका एनडेम्बा ओवोनाले बललाई छातीले रोक्दै थिएरीलाई मिलाइदिएको बललाई थिएरीले फस्ट बार च्याप्दै आकर्षक गोल गरे ।

सोमबार मात्रै बुटवलबाट तिलोत्तमा गोल्डकपको फाइनल खेलेर पोखरा आइपुगेको चिर परिचित दुबै प्रतिद्धन्द्धि टिमका लागि उक्त खेल प्रतिष्ठाको विषय थियो । तिलोत्तमा गोल्डकपमा सडन डेथमा डफिन्सलाई उपाधी सुम्पेको पुलिसले पोखरामा डटेरै खेल्यो ।

पहिलो हाफदेखि एक गोलले पछि परेको पुलिसले गोल फर्काउन निर्धारित समयको ईञ्जुरी समय कुर्नुप¥यो । पुलिसका लागि सुमन सुवेदीले बराबरी गोल गरे । सुमन लामाको कर्नर बलमा सुमनले फस्ट बार च्याप्दै हेड गोल गरेका थिए ।

मनोज राईको थ्रो बललाई डफिन्सका अहाण्डाले आउट फालेपछि पुलिसलाई कर्नरको अवसर जुरेको थियो । पुलिसले बराबरी गोल गरेपछि प्रशिक्षक अनन्त थापा र टिम व्यवस्थापक ठगबहादुर केसीले समेत आउटलाइनमा रहेर गोलको सेलिब्रेसन गरे ।

थप गरिएको २० मिनेटको अतिरिक्ति समयको पाँचौ मिनेटमा डफिन्सका भरपर्दा स्ट्राइकर यानिक स्टेफेनले टोलीका लागि निर्णायक गोल गरे । यानिक ओवोनाको उक्त गोल नै डफिन्स टोलीका लागि निर्णायक बन्यो ।

डी–एरियाको लाइन बाहिरबाट एनडेम्बा ओवोनाले निकालिदिएको क्रस बलमा यानिकले फस्ट बार च्याप्दै गोल गरे । पुलिसका मनोज राई, रबि पासवान र सुमन सुवेदीको बीचबाट कीपर शत्रुधनसँगको वान भर्सेज वानको स्थितिमा यानिकले गोल गरेका थिए ।

जितपछि डफिन्सका क्याप्टेन जोसेफ मार्सेल गामा अंगोलाले प्रतिद्वन्द्वी फास्ट खेल्ने गरेको प्रतिक्रिया दिए । उनले खेलाडी थकित हुँदा पनि जित आफ्नो पक्षमा आएकोमा खुसी व्यक्त गरे । प्रशिक्षक अनन्तराज थापाले रेफ्रीको निर्णय शैलीलाई आलोचना गरे । उनले विपक्षी डफिन्सका खेलाडीलाई प्रश्रय दिएर कार्ड दिन कञ्जुस्याइँ गरेको आरोप लगाए ।

बुटवलमा सोमबार मात्र फाइनल खेलेर हतारहतार पोखरा आउनुपर्दा खेलाडी पनि थकित भएको प्रशिक्षक अनन्तले बताए ।
आफ्नो टोलीको खेल कौशल राम्रै भएपनि टेक्निकल्ली पराजित हुनुपरेको प्रशिक्षक अनन्तको प्रतिक्रिया थियो । उनले पहिलो हाफको दुई राम्रा अवसर र दोस्रो हाफमा क्याप्टेन भरत शाहको प्रहार क्रसबारमा लागेर फर्किनु दुर्भाग्य भएको बताए ।

खेलको ७३ औं मिनेटमा भरतले गरेको कडा प्रहार क्रसबारमा लागेर फर्किएको थियो । त्यस्तै खेलको ३४ औं मिनेटमा कीपर बिट भएको अवस्थामा नीरकुमार राईको प्रहार सेकेण्ड बार हुँदै बाहिरियो भने ५६ औं मिनेटमा रवि पासवानको लङप्रहार क्रसबार माथिबाट बाहिरियो ।

डफिन्सका आन्द्रे थिएरी म्यान अफ दि म्याच बने । खेल सकिन दुई मिनेट बाँकी रहँदा मुख्य रेफ्री सुदिश पाण्डेले पुलिसका हरि कठायतलाई रेड कार्ड देखाए । उनले विपक्षी औरेलियन इन्नोसेन्ट ओको बोटालाई धकेलेकोमा रेफ्री सुदेशकुमार पाण्डेले रेड कार्ड दिएका हुन् ।

डफिन्स, तीन हप्ता अगाडि पोखरामा सम्पन्न मनकामना केबुलकार पोखरा कपको विजेतासमेत हो । डफिन्सले यस सिजनको बुढासुब्बा गोल्डकप र तिलोत्तमा गोल्डकपसमेत जित्दै यस संस्करणको आहा रारा गोल्ड कपको उपाधि जित्ने दाउमा छ ।

सेमीफाइनलमा डफिन्सले विहिबार अर्को विभागीय सेनाको त्रिभुवन आर्मीसँग फाइनलका लागि प्रतिष्पर्धा गर्नेछ । यसअघि, आर्मीले हिमालयन शेर्पालाई ३–१ ले पाखा लगाउँदै सेमीफाइनल पुगेको हो ।

बुधबार, ललितपुरको रुस्लान थ्रीस्टार क्लब र विभागीय शसश्त्र प्रहरी बलको एपीएफबीच पहिलो सेमीफाइनल खेल हुने आयोजक सहारा क्लबले जनाएको छ । एपीएफले सहिद स्मारक लिग विजेता मनाङ मस्र्याङ्दीलाई १–० ले स्तब्ध पार्दै सेमीफाइनल यात्रा गरेको हो ।

रुस्लान थ्री–स्टारले भने पाहुना टोली भारतको युनाइटेड सिक्किम फुटबल क्लबलाई ५–२ को फराकिलो गोल अन्तरले हराउँदै सेमीफाइनल पुगेको हो ।

गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुख्य रेफ्री सुदिश पाण्डेलाई बल हस्तान्तरण गरी मंगलबारको खेल उद्घाटन गरेका हुन् । उनले आहा रारा गोल्ड कप फुटबल पोखराकै पहिचान भएको बताए । प्र्रतियोगितालाई सफल बनाउन आम पोखरेलीसँग मुख्यमन्त्री गुरुङले आग्रह गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width