सरकारको लक्ष्य अनुसार निवारण हुन सकेन हात्तीपाइले रोग

रासस
फागुन १४, २०७५
madical photo


बाग्लुङ, १४ फागुन । सरकार हात्तीपाइले रोग निवारणमा जुटेको दशौ बर्ष तर उक्त रोग निवारण सफल हुन भने सकेको छैन ।

सन् २०२० मा हात्तीपाइले रोग निवारण गर्ने लक्ष सरकारको थियो । दशौँ चरणको अभियान अन्तर्गत हात्तीपाइलेविरुद्व औषधि खुवाइने कार्यक्रम पनि भइरहेको छ । दशौँ चरणमा हात्तीपाइलेको औषधि यसपटक भने वाग्लुङमा स्वास्थ्यकर्मीहरुद्धारा नै खुवाउने भइएको छ । सर्वसाधारणले हात्तीपाइलेको औषधि लाने तर नखाइदिने गरेकै कारण यस पटक स्वास्थ्यकर्मीद्धारा नै खुवाउन लागिएको हो ।

गतवर्ष नै जिल्लामा हात्तीपाइले रोग निवारण गर्ने भनिए पनि वाग्लुङ नगरपालिका—१४ मा ३१० र बडिगाड गाउँपालिका–५ ग्वालीचौरमा ३१० को नमूना परीक्षण गर्दा गरिएको थियो । वडिगाडमा हात्तीपाइले रोगी नभेटिएपनि बागलुङ नगरपालिका–१४ नारायणस्थानमा ३१० को नमूना परीक्षण गर्दा १४ हात्तीपाइलेको संक्रमण भएका व्यक्ति फेला परेका छन् ।

सङ्क्रमित भेटिएपछि हात्तीपाइलेविरुद्धको औषधि खुवाउनुपरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशाासक दीपकप्रसाद तिवारीले जानकारी दिए । जिल्लामा अझै पनि हात्तीपाइले रोगको जोखिम छ, उनले भने —हात्तीपाइले रोग निवारणका लागि वर्षेनी ठूलो रकम खर्च हुने गर्छ ।

देशभरका ६१ जिल्लामा थालिएको अभियान अझै १५ जिल्लामा जारी छ । गण्डकी प्रदेशमा बागलुङसहित पर्वत र लमजुङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान शुरु हुँदैछ । हात्तीपाइलेका जीवाणु प्रवेश गरेपछि मानिसमा अण्डकोष सुन्निने, हात, स्तन, गुप्ताङ्ग सुन्निने तथा हात्तीको जस्ता पाइला हुन्छन् ।

लामखुट्टे हुने स्थानमा हात्तीपाइले रोगको संक्रमण हुने गर्छ, हात्तीपाइलेविरुद्धको औषौधि खुवाइने अभियानमा जिल्लाभर झण्डै ४०० स्वास्थ्यकर्मीको संलग्नता रहनेछ । लामखुट्टेको जीवाणु लामो समयसम्म बाँच्न सक्ने भएकाले हात्तीपाइलेका रोगी घटाउन औषधिको साथै सरसफाइमा ध्यान दिई झुल टाँगेर सुत्न स्वस्थ्यकर्मीले सल्लाह दिएका छन् ।

नडराइ औषधि सेवन गर्न जनस्वास्थ्यले आग्रह गरेको छ । हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्नेको सङ्ख्या कम हुँदै गएको छ । दुई वर्ष नपुगेका बालबालिका, गर्भवती, सात दिनसम्मका सुत्केरी, थला परेका बिरामी र ७० वर्षबढी उमेरका व्यक्तिलाई औषधि सेवन नगर्न कार्यालयले अनुरोध गरेको छ । यस वर्ष जिल्लाका ८५ वटै वडाका तीन लाख ५२ हजार व्यक्तिलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदैछ ।

Related News

सम्बन्धित समाचार

hero news full width