मध्यपहाडी र मालढुङ्गा–बेनी सडक बन्द हुँदा सास्ती

रासस
फागुन ७, २०७५
highway

पर्वत, ६ फागुन । पर्वत जिल्लाका दुई मुख्य सडक बन्द हुँदा धौलागिरि क्षेत्रका नागरिकलाई सास्ती भएको छ।

निर्माणाधीन मध्यपहाडी लोकमार्ग र मालढुङ्गा–बेनी सडक दैनिक साढे छ घण्टा बन्द हुँदा नागरिकलाई सास्ती भएको हो। लोकमार्गको पर्वत खण्ड गत बुधबारदेखि लागू हुनेगरी दैनिक साढे छ घण्टा बन्द गर्न थालिएको हो।

सडक बिस्तारका लागि पर्वत र कास्कीको सिमाना नयाँपुलदेखि कुश्मा नगरपालिका–१ अर्मादीसम्मको खण्डमा दैनिक साढे ६ घण्टा बन्द गर्ने निर्णय भएको हो।

जिल्ला प्रशासन कार्यालय पर्वतको संयोजनमा बसेको बैठकले बिहान १० बजेदेखि दिउँसो २:३० बजेसम्म र अपराह्न ४:३० बजेदेखि ६:३० बजेसम्म सडक बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए।

लोकमार्गको पर्वत खण्डमा पर्ने डिमुवादेखि बेतनीबीचको माहुरी भिर, कुश्मा नगरपालिका वडा ८ स्थित चुवाको भिर र कुश्मा नगरपालिका वडा २ स्थित अर्मादीको भिरमा सडक फराकिलो बनाउने काम गर्न सडक बन्द गर्न लागिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए। लोकमार्ग बन्द भएसँगै नागरिकलाई सास्ती हुन थालेको छ।

पहाडी सडक निर्माण आयोजनाअन्तर्गत लामा कन्ट्रक्सन प्रालिले उक्त खण्डमा निर्माणको काम तीव्र पारेको छ। “महभिर, चुवा र अर्मादीको भिरमा सडक फराकिलो बनाउन पहरा कटान गर्नुपर्ने भएकाले दैनिक साढे छ घण्टा सडक बन्द गर्ने निर्णय भएको हो”, आयोजना प्रमुख आशिष थापामगरले भने। बैठकमा सरोकारवालाले सडक निर्माण कार्य प्रभावित नहुने र यात्रुलाई समेत सास्ती नहुने गरी निर्माण अगाडि बढाउन सुझाव दिएका छन्। जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर विश्वकर्मा पौडेलले आयोजनाको काम तोकिएकै समयमा सक्नुपर्ने तर नागरिकलाई समेत मर्का नपरी काम गर्न आग्रह गरे। “नागरिकलाई दुःख नहुने गरी सकेसम्म वैकल्पिक सडक बनाएर काम गर्नुपर्छ”, उनको भनाइ छ।

प्रमुख जिल्ला अधिकारी ढकालले सडक बिस्तारको काम समयमा सक्ने वातावरण बनाउन आग्रह गर्नुभयो। त्यस्तै महभिरको वैकल्पिक मार्ग बनाउनका लागि मोदी गाउँपालिका र चुवामा वैकल्पिक मार्ग बनाउन कुश्मा नगरपालिका र तल्ले मोदी जलविद्युत् आयोजनासँग समन्वय गर्ने तयारीसमेत भएको छ। पर्वतको प्रवेशद्वारदेखि मालढुङ्गासम्मको २३ दशमलब ७ सय ६९ किलोमिटर स्तरोन्नतिको काम लामा कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ। कम्पनीले रु ८३ करोड ९८ लाखमा पर्वत खण्ड स्तरोन्नतिको कामको ठेक्का लिएको छ। अहिलेसम्म ३५ प्रतिशत काम सकिएको कम्पनीका परियोजना प्रवन्धक गोविन्दप्रसाद भुसालले जानकारी दिए। “हामीले असारसम्ममा ८० प्रतिशत कामसक्ने लक्ष्यसहित काम गरिरहेका छौँ”, उनले भने।

मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा बागलुङ खण्डलाई नयाँ स्वरुपमा ढाल्ने गरी मर्मतसम्भार तीब्र पारिरहेको छ। लोकमार्ग पूरै नयाँस्वरुपमा बिस्तार र स्तरोन्नति गर्न चार वटा प्याकेज बनाएर काम भइरहेको छ। मध्यपहाडी सडक आयोजनाले दिएको जानकारीअनुसार तीन वर्ष पोखरा–बागलुङ खण्डको धेरैजसो भाग पूरै नयाँ बन्नेछ। विसं २०५० मा निर्माण सम्पन्न भएको सडकका धेरै खण्ड भत्केर सवारी चलाउन कठिन हुँदै गएको थियो भने सवारी साधनको चाप बढेका कारण साँघुरो सडकमा ठाउँठाउँमा जामसमेत हुने गरेको थियो। साँघुरो सडक र ठाउँठाउँमा भासिँदा सवारी सञ्चालनमा समेत जोखिम थियो।

उता, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने पर्वतको कुश्मा नगरपालिका वडा १ मालढुङ्गादेखि म्याग्दीको बेनी जोड्ने सडक स्तरोन्नतिका लागि दैनिक ७ घण्टा बन्द हुन थालेको छ।

जलजला गाउँपालिका–३ वारिबेनीदेखि लामाखेत खण्डको सडक फराकिलो बनाउने कामका लागि जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले गत बुधबारदेखि लागू हुने गरी समयतालिका बनाएको हो।

जसअन्तर्गत बिहान ६ देखि ८, दिउँसो १० देखि १ र २ देखि ४ बजेसम्म सवारी साधन रोकेर सडक विस्तार गर्ने मालढुङ्गा–बेनी सडक आयोजना निर्माण कम्पनीका प्रतिनिधि अमृतकुमार श्रेष्ठले जानकारी दिए।

म्याग्दी र मुस्ताङबाट पर्वत, बागलुङ, पोखरा, काठमाडाँैलगायत देशका विभिन्न स्थानका लागि छुट्ने र भित्रिने सवारी साधन प्रभावित भएका छन्। बेनी–मालढुङ्गा सडक बन्द भएको समयमा बेनी–रत्नेचौर–बागलुङ–मालढुङ्गाको वैकल्पिक सडक प्रयोग गर्न सकिनेछ।

सडक डिभिजन कार्यालय बागलुङले लामाखेतदेखि वारिबेनीसम्मको एक किलोमिटर १ सय मिटर दूरीको सडक स्तरोन्नति र कालोपत्र गर्न आयोजना सञ्चालन गरेको छ। सडक विस्तार, नाली निर्माण र कालोपत्रका लागि डिभिजनले गत पुस १७ गते रु एक करोड १५ लाखमा अजय–त्रिशक्ति जेभीसँग आगामी जेठ मसान्तभित्र सम्पन्न गर्ने सम्झौता गरेको छ। निर्धारित समयभित्रै योजना निर्माण सम्पन्न गर्न सडक निर्माण र सवारी सञ्चालनको समयतालिका बनाइएको हो।

एघार मिटर फराकिलो हुने सडकको साढे पाँच मिटर चौडाइमा कालोपत्र र एक मिटर चौडाइको नाली हुनेछ। यो सडक हाल सात मिटरको हाराहारीमा फराकिलो छ। मालढुङ्गा–बेनी म्याग्दी र मुस्ताङ प्रवेशद्वारका रुपमा पनि यो सडकलाई लिइने गरिन्छ।

– लक्ष्मीप्रसाद सापकोटा / रासस

Related News

सम्बन्धित समाचार

  • राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई

    आदर्श समाज सम्वाददाता चैत्र ६, २०७९
    पोखरा । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई प्रजातान्त्रिक विचार समाजले आज राष्ट्रपति पदमा निर्वाचित हुनुभएको बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ…
  • रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय

    आदर्श समाज सम्वाददाता चैत्र ६, २०७९
    पोखरा ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने…
  • न्यायिक समितिबीच अनुभव साटासाट

    आदर्श समाज सम्वाददाता चैत्र ६, २०७९
    पोखरा । पोखरा महानगरपालिका र घोराही उपमहानगरपालिकाको न्यायिक समितिबीच अनुभव आदानप्रदान गरिएको छ । घोराहीका उपप्रमुख हुमकुमारी डिसीको नेतृत्वमा आएको…
  • ‘गल्याङ नगरपालिका कृषिमा आत्मनिर्भर’

    आदर्श समाज सम्वाददाता चैत्र ६, २०७९
    पोखरा । स्याङ्जाको गल्याङ नगरपालिका आलु र सुन्तला र दूधजन्य वस्तुमा आत्मनिर्भर भएको र गल्याङ नगरपालिकाभित्र उत्पादित वस्तुको बजारीकरणमा कुनै…
  • जिसस महासंघ गण्डकीको सपथ

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । जिल्ला समन्वय समिति महासंघको चौथो राष्ट्रिय परिषद बैठकबाट निर्वाचित गण्डकीका पदाधिकारी तथा सदस्यको सपथ ग्रहण आइतबार भएको छ…

hero news full width