धम्पुस र ब्रेकनबीच मितेरी सम्बन्ध

प्रकाश ढकाल
माघ २८, २०७५
dhampus_Fotor

धम्पुस र ब्रेकन शहरबीच मितेरी सम्बन्ध गाँसेपछि समझदारी पत्र साटासाट गर्दै दुवै शहरका प्रतिनिधि मण्डल ।

धम्पुस, २७ माघ। कास्कीको माछापुच्छ्रे गाउँपालिका र बेलायतको ब्रेकन शहरबीच मितेरी सम्बन्ध स्थापना भएको छ ।

आईतबार धम्पुसमा आयोजना गरिएको विशेष कार्यक्रमका बीच दुई शहरबीच मितेरी सम्बन्ध कायम गरिएको हो ।

माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ, धम्पुसका वडाध्यक्ष समबहादुर गुरुङ तथा ब्रेकनका मेयर काउन्सिलर म्यान्नी ट्रेलर र टाउन क्लार्क फियोना विलियम्सले सम्बन्धपत्रमा हस्ताक्षर गरेर मितेरी सम्बन्धलाई औपचारिकता दिएका हुन् ।

दुई देशबीच अन्तर सम्बन्ध स्थापना भएको २ सय बर्ष पुगेपनि गाउँ तहमा सम्बन्ध गाँसिएको यो पहिलो रेकर्ड हो । यो सम्बन्धले नेपाल र बेलायतको अन्तरसम्बन्ध पनि नयाँ उचाईमा पुगेको बताईएको छ । मितेरी सम्बन्धको विशेष समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले मितेरी सम्बन्ध पछि एकअर्कामा रहेको सामाजिक–आर्थिक सहयोग आदानप्रदान हुने विश्वास ब्यक्त गरे ।

उनले मितेरी सम्बन्ध भावनाको संयोजन भएको भन्दै यसलाई अर्थतन्त्रसँग पनि जोड्न सकिने बताए । ‘मागेर देशको विकास हुँदैन भन्ने हामी स्पष्ट छौं । हाम्रो देशको विकास हामी आफैले गर्ने हो, उनले भने–मितेरी सम्बन्धले एकअर्काको सामाजिक र सांस्कृतिक पाटो जोडिनेछ । त्यसपछि विस्तारै आर्थिक विकासमा पनि हातेमालो हुन्छ । दुवै शहरले आफ्ना दायित्व विर्सिनु हुँदैन । उनले धम्पुस र ब्रेकनको मितेरी सम्बन्धले गण्डकी प्रदेश र समग्र नेपालकै पर्यटन प्रबद्र्धनमा समेत टेवा पुग्ने बताए ।

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले धम्पुस र ब्रेकनको मितेरी सम्बन्धपछि नेपाल–बेलायतको सम्बन्ध जनस्तरमा पनि विस्तार भएको बताए । ‘अहिलेसम्म दुई देशबीच मात्रै पारस्पारिक सम्बन्ध थियो । अव त्यो जनस्तरमा पुगेको छ, उनले भने–समुन्द्रपारिको दुई देश भावनात्मक रुपमा जोडिएका छन् । यो सम्बन्धले आर्थिक तथा भौतिक विकास पनि नयाँ उचाईमा पुग्ने हाम्रो विश्वास छ । मितेरी सम्बन्ध जोड्नका लागि ब्रेकनबाट २३ जनाको प्रतिनिधिमण्डल धम्पुस आएको थियो । निकै फरक रहनसहन र फरक जीवनशैलीका यि दुई शहरबीचको मितेरी सम्बन्ध गाँस्ने चाँजोपाँजो पूर्व गोर्खा मेजर खुशीमान गुरुङले मिलाएका हुन् । करिब १८ महिनाको प्रयासपछि धम्पुसमै आएर मितेरी सम्बन्ध गाँसिएको गुरुङले बताए ।

‘ब्रेकनमा नेपालीको सम्मान फरक खालको छ । वहाँहरु नेपालीलाई आदरपूर्वक हेर्नुहुन्छ । हामी पनि बेलायती नागरिकप्रति श्रद्धा गर्छौ, उनले भने–अहिलेसम्म यी सम्बन्ध औपचारिक जस्तो मात्रै थियो । अवचाहीँ भावनात्मक र जनस्तरमा पुगेको महशुस भएको छ । मितेरी सम्बन्धलाई खासगरी दुई शहरबीचको भातृत्व र भावना साटासाटको रुपमा लिईएको उनले बताए । त्यसबाहेक सामाजिक आर्थिक विकासमा पनि जोड्ने उनको विश्वास छ । धम्पुस नेपालकै लागि पर्यटकीय गाउँ हो । कास्कीबाट अन्नपूर्ण पदमार्ग प्रवेश गर्ने जिरो बिन्दु धम्पुस र भौतिक तथा आर्थिक रुपमा अति सम्पन्नशाली व्रिटेनको व्रिकेन शहरबीचको अन्तरसम्बन्ध दीर्घकालसम्म चलिरहने ब्रेकनका मेयर म्यान्नी ट्रेलरले बताए । ‘लामो समयदेखि गोर्खा सेनाको रुपमा नेपालीले बेलायतलाई ठूलो गुन लगाएका छन् । यति महान् गोर्खालीको भूमिमा टेक्न पाउँदा मलाई निकै खुशी लागेको छ, उनले भने–अव ब्रेकन र धम्पुस मित भएको छ । यो सम्बन्ध जुनीजुनीसम्म रहिरहन्छ ।दुवै शहरको सांस्कृतिक र सामाजिक गतिविधि साटासाट गर्ने उनले बताए । मितेरी सम्बन्ध गाँसेपछि ब्रेकनको टोलीले धम्पुसका सबै विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width