उपाधिमा एपीएफ र क्यामरुन

आदर्श समाज सम्वाददाता
माघ २७, २०७५
football (1)_Fotor

प्रतिष्पर्धामा डफिन्स र मनाङ टीमका खेलाडी। तस्वीरः राम गुरुङ

पोखरा, २६ माघ। लिग च्याम्पियन सिग्नेचर मनाङ मस्र्याङ्दी फुटबल क्लब पोखरामा उपाधि यात्राबाट बाहिरिएको छ । छैटौं मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिताको पोखरा रंगशालामा शनिबार भएको दोस्रो सेमिफाइनलमा पाहुना टोली क्यामरुनको डफिन्स टिम फेमेली क्लबसँग सडन डेथको शिकार बन्दै उपाधि विमुख बनेको हो ।

विजयी क्यामरुनी टिमले अब उपाधिका लागि आइतबार विभागीय एपीएफ टिमसँग फाइनल खेल्नेछ । जारी प्रतियोगितामा पछिल्ला लगातार ३ खेल टाइब्रेकरसम्म धकेलिए ।

शनिबार निर्धारित ९० मिनेट खेलमा दुवै टिमको १–१ बराबरी भएपछि ३० मिनेट थपहुँदै टाइब्रेकरमा पुगेको थियो ।

सडनडेथमा मनाङका बिमल रानाको प्रहार क्रसबारबाट बाहिरिन पुग्नु नै दुर्भाग्य बन्यो । यसअघि मनाङकै सुरज बिकको बल बारमा लागेर रिवाउण्ड भएको थियो । टाइब्रेकरमा ४–४ को बराबरी भएकोमा डफिन्सको लागि वीलमको पहिलो प्रहार बाहिरिए पनि क्रमशः वीयीक, एक्वीम, सिलो मार्टिन्स, औरेल एनामी र क्याप्टेन जो एङ्गौलाको सुटआउट गोलमा परिणत भएका हुन्। मनाङका लागि सुजल श्रेष्ठ, अञ्जन बिष्ट, कमल श्रेष्ठ र हेमन गुरुङको पेनाल्टी प्रहार सफल भएको थियो ।

प्रतियोगितामा अमेर्ल अहन्दा म्यान अफ दी म्याच घोषित भए । उनलाई पूर्व मन्त्री एवं समाजसवी उत्तम पुनले ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरे ।  यस्तै पूर्व मन्त्री पुनले आयोजक एन्फा कास्कीलाई नगद ५० हजार प्रदान गर्ने घोषणा गरे ।

खेलको ६६ औं मिनेटमा पाहुना टोलीले अग्रता लिएकोमा १५ मिनेट नबित्दै मनाङले बराबरी खेलेको थियो । डफिन्सका यान्निकले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।

मनाङका लागि भने खेलको ८० औं मिनेटमा अञ्जन बिष्टको पासमा विदेशी खेलाडी अफिज ओलावालेले गोल गरेका थिए ।

यसअघि एपीएफ पहिलो सेमिफाइनलमा जापानको रिस्सो युनिभर्सिटीको टीमलाई टाइब्रेकरमा ४–१ गोलअन्तरले हराउँदै उपाधि नजिक पुगेको छ । कास्की जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा विजेताले ७ लाख ५५ हजार र उपविजेताले ४ लाख ५ हजार रुपैयाँ पाउने एन्फा कास्की अध्यक्ष मिलन गुरुङले जनाए । उत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगितामा ५ विधा उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्टाइकर, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्ता खेलाडीलाई जनही २५ हजार सहित ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा १२ टिमको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै