काँग्रेसको देशभर प्रदर्शन

सरकारले संविधान संरक्षण गर्दैन : थापा

आदर्श समाज सम्वाददाता
माघ २२, २०७५
congress

नेपाली काँग्रेसले पोखरामा सोमबार आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै पार्टी केन्द्रीय सदस्य गगनकुमार थापा । तस्वीर : दुर्गाप्रसाद पौडेल/आदर्श समाज

पोखरा, २१ माघ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकारले संविधान संरक्षण नगर्ने बताएका छन्।

राष्ट्रपति गणतन्त्रविरोधि, प्रधानमन्त्री संघीयताविरोधी अनि सभामुख संसदीय व्यवस्थाविरोधी भएको आरोप लगाउँदै उनले सरकारबाट संविधान संरक्षण हुन नसक्ने दाबी गरे।

कास्की काँग्रेसले सोमबार पोखरामा आयोजना गरेको विरोधसभामा उनले काँग्रेसको नेतृत्वमा बनेको संविधान संरक्षण गर्ने दायित्व पनि काँग्रेसकै काँधमा आएको बताए।

केपी ओलीले जस्तो उद्दण्ड व्यवहार गरेको भएको त्यतिबेला संविधान पनि बन्ने थिएन भन्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको नेता पार्टी काँग्रेस नै भएको उल्लेख गरे। उनले सरकारले संसदलाई मन्त्रालय जस्तो र सांसदलाई पार्टी कार्यकर्ताको जस्तो व्यवहार गरेको भन्दै आलोचना गरे।

वर्तमान सरकार न एमालेको जस्तो, न माओवादीको जस्तो भएको भन्दै उनले ध्यू र तरवारबीच स्वार्थको एकता भई नेकपा बनेको बताए।

सरकारको गतिविधि कारण मुलुकको अर्थतन्त्रमा गलत असर परेको भन्दै हेर्दाहेर्दै अर्थतन्त्र चौपटहुँदै गइरहेको उल्लेख गरे। उनले प्रधानमन्त्रीसँग क्षमता नभएको भन्दै दुईतिहाइको अहंकार र दम्भमात्र भएको आरोप लगाए।

काम गर्नका लागि अहिलेको जस्तो अनुकुलता राणाकालमा पनि नरहेको भन्दै उनले प्रधानमन्त्रीको काम गर्ने ढंग नभएको टिप्पणी गरे। नेता थापाले काँग्रेस अझै ४  वर्ष प्रतिपक्षमा रहने भन्दै नआत्तिकन वर्तमान सरकारको गलत गतिविधिसँग लड्नु र जुध्नुपर्ने अवस्था रहेको बताए।  उनले काँग्रेसले देशव्यापी गरेको प्रदर्शन टेलरमात्र भएको बताउँदै आवश्यक परे आन्दोलनको चलचित्र पनि देखाउने उद्घोष गरे।

अर्का केन्द्रीय सदस्य जीवन परियारले जनविरोधी कार्य नै वर्तमान सरकारको पहिचान बनेको उल्लेख गरे।

आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्काले जनता निमोठ्न र माफियाको संरक्षण गर्न सरकार लागिपरेको आरोप लगाए।

पूर्व मन्त्री यज्ञबहादुर थापाले देश र जनता जलाउनेहरुको वर्तमान सरकारले सरकारी गाडी जलाउनेलाई मुद्दा लगाउन नमिल्ने भन्दै पोखरामा पक्राउ गरिएका विद्यार्थी नेता रिहा गर्न आग्रह गरे।

प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले सरकारले दुईतिहाइ दम्भ प्रदर्शन गरिरहे काँग्रेस सशक्त ढंगले आन्दोलनमा उत्रने बताए।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति आइबहादुर गुरुङले स्वागत र सचिव देवेन्द्र रानाभाटले संचालन गरेका थिए।

कोणसभा अघि पृथ्वीचोकबाट शुरु प्रदर्शन न्यूरोड, चिप्लेढुङ्गाहुँदै महेन्द्रपुल पुगेर कोणसभामा परिणत भएको थियो।

माघ १३ गतेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार सरकारका गतिविधिविरुद्व सोमबार देशभरका ७७ जिल्लामा नै प्रदर्शन गरेको छ।

यसैबीच, नेवि संघ कास्कीका विद्यार्थीले सरकारी गाडी जलाएको विषयलाई लिएर नेता गगन थापाले घटनालाई निन्दनीय भनेको विरोधमा कालोझण्डा प्रदर्शन गरेका थिए।

रिहाइ माग गर्दै चरणबद्ध आन्दोलन

पोखरामा शनिवार पक्राउ गरिएका नेवि संघका विद्यार्थी नेताको रिहाइ माग गर्दै पोखरामा चरणबद्व दबाबमूलक आन्दोलन गरिने भएको छ। नेपाली काँग्रेस कास्कीको सोमबार बसेको बैठकले सो निर्णय गरेको हो। बैठकले विद्यार्थी नेताहरु परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेललाई झुट्टा मुद्दा लगाई थुनामा राखेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ। रिहाइ माग गर्दै मङ्गलबार प्रशासन कार्यालयमा डेलिगेसन जाने कार्यक्रम तय भएको छ। बैठकले आइतबार मसाल जुलुस प्रदर्शनक्रममा प्रहरीले हस्तक्षेप गरेको घटनाको निन्दा गर्दै घाइते विद्यार्थी नेता पशुपति भट्टराईको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। त्यस्तै, सोमबारको प्रदर्शनमा सहभागी सबैप्रति धन्यवाद व्यक्त गरेको छ।

बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width