आर्मी स्तब्ध, क्यामरुन चारमा

मनकामना केबुलकार पोखरा कप

आदर्श समाज सम्वाददाता
माघ २२, २०७५
football 1_Fotor

आर्मी र क्यामरुनी टिम प्रतिष्पर्धामा ।  तस्वीर : राम गुरुङ

आर्मी र क्यामरुनी टिम प्रतिष्पर्धामा ।  तस्वीर : राम गुरुङ

पोखरा, २१ माघ । पाहुना टोली क्यामरुनको डफिन्स टिम फेमेली फुटबल क्लब पोखरा रंगशालामा जारी छैटौं संस्करणको मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

सोमबार भएको दोस्रो क्वाटरफाइनलमा उसले त्रिभुवन आर्मी क्लबलाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गरेको हो । यस सिजनमा २ उपाधि र १ मा उपविजेता आर्मी पोखरा रंगशालामा भने पहिलो खेलमै पराजित हुन पुग्यो ।

गोलको खडेरी पहिलो हाफको इञ्जुरी टाइममा डफिन्सले चिर्न सफल भयो । डफिन्सका लागि यान्निक ओनाले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । यान्निकले नै खेलको ६० औं मिनेटमा गोल गर्दै अन्तर दोब्बर पारे । उनले डिडर टीनाको बललाई सदुपयोग गर्दै विपक्षीको गोलपोष्टमा प्रहार गर्दा कीपर विश्वास चौधरीले रोक्न सकेनन् ।

त्यसको ८ मिनेटमै अरमेल एहण्डाले खेलको ६८ औं मिनेटमा गोल गर्दै जित सुनिश्चित पारे । दुई डिफेन्सलाई विट गर्दै अरमेलले बललाई पोष्टको लय लिएका हुन् ।

अग्ला र शारीरिक रुपमा बलिया खेलाडी लिएर आएको पाहुना टोलीले दोस्रो हाफको इन्जुरी टाइममा पनि गोल थप्यो । ६ मिनेट थपको इन्जुरी टाइमको पहिलो मिनेटमा ओको बोटाले गोल गर्दै ४–० को फराकिलो अन्तर कायम गरेकोमा लगत्तै आर्मीले सान्त्वना गोल फर्कायो ।

आर्मीका लागि विवेक बस्नेतले इञ्जुरी टाइमको चौथो मिनेटमा गोल गर्दै गोलअन्तर घटाएका हुन् ।

सोमबारको खेलमा २ गोल गरेका यान्निक म्यान अफ दी म्याच घोषित हुँदै ५ हजार रुपैयाँ पुरस्कार जिते ।

खेलको ४२ औं मिनेटमा ओओनाले गरेको हेड प्रहार क्रसबारबाट बाहिरिन पुग्दा अग्रता लिन चुकेको थियो । आर्मीका लागि लगत्तै सुदिल राईले डिबक्स भित्रबाट हानेको प्रहार बाहिरिन पुगेको थियो ।

हारपछि त्रिभुवन आर्मी क्लबका प्रशिक्षक गंगा देउजाले डिफेन्स कमजोर हुनुले गोलअन्तर ठूलो भएको स्वीकारे । इटहरीमा सम्पन्न मदन भण्डारी मेमोरियल गोल्डकप र वीरगञ्जमा सम्पन्न विशाल मेमोरियल गोल्डकपको उपाधि विजेता आर्मीले पोखरा रंगशालामा भने दोस्रो रोजाइका खेलाडी मैदान उतारेको थियो । आर्मीले सिमरा गोल्डकपको फाइनलमा भने थ्रीस्टारलाई उपाधि सुम्पेको थियो ।

मंगलबार तेस्रो क्वाटरफाइनलमा नेपाल पुलिस क्लब र जापानको रिस्सो युनिभर्सिटीको टिमबीच प्रतिष्पर्धा हुने आयोजक कास्की जिल्ला फुटबल संघले जनाएको छ ।

यसैबीच, जापानी टिम प्रतियोगिता खेल्न आइतबार पोखरा आइसकेको छ । सोमबार पत्रकारसँग कुरा गर्दै युनिभर्सिटी प्रमुख तथा टिम म्यानेजर सुजिता ममूरोले नेपाल पुलिससँग आक्रामक खेल खेल्ने बताएका छन् । उनले यहाँको ग्राउण्ड त्यत्ति राम्रो नभए पनि जस्तोसुकै ग्राउण्डमा खेल खेल्नुपर्ने बताए । फुटबल खेल्न पहिलो पटक पोखरा आएको सो टिम जापानी युनिर्भिटीको पहिलो रोजाइको टिम हो । खेलका लागि जापानबाट कोच टुकुरियो ताकेसी, कीपर कोच सासाकी योटासहित २५ जनाको टोली पोखरा आएको छ ।

जारी प्रतियोगितामा यसअघि थ्रीस्टारलाई हराउँदै एपीएफ अन्तिम चारमा पुगिसकेको छ ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width