शहीदको तथ्यांक कति ?

आदर्श समाज सम्वाददाता
माघ १६, २०७५
ap photo_Fotor

१८ औं सशस्त्र प्रहरी दिवसका अवसरमा सशस्त्र प्रहरी बल नेपाल बाहिनी मुख्यालय पार्दीमा मंगलवार आयोजित कार्यक्रममा सलामी अर्पण गर्दै प्रहरी। तस्वीर : ऋषिराम बराल/आदर्श समाज

काठमाडौँ, १५ माघ । प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी बुधबार शहीद दिवस मनाइँदैछ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमसाथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ ।

विसं २०१२ देखि नै काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो ।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा, दशरथ चन्द एवं गङ्गालाल श्रेष्ठलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

दिवस अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ ।

शहीदको परिभाषा गर्न हालसम्म दुई वटा आयोग गठन भएका छन् । पूर्वमन्त्री मोदनाथ प्रश्रित र नवराज सुवेदीको अध्यक्षतामा गठन भएका आयोगले प्रतिवेदन पनि बुझाए । देश र जनताका लागि माफी नमागी मर्न चाहने चार शहीदलाई पहिलो श्रेणीको शहीद मान्नुपर्ने प्रश्रितले बताए । राम्रो काम गर्दागर्दै मर्छु भन्ने थाहा नभए पनि कारणवश मरेका पनि शहीद हुने भनी प्रतिवेदन बुझाइएको उनले सुनाए ।

विसं २०४६ को प्रजातन्त्र पुनस्र्थापनाको जनआन्दोलनमा शहादत प्राप्त गर्ने १९ शहीदलाई सम्मानस्वरुप सरकारले जनही एक लाख आर्थिक सहयोग गरेको थियो । त्यस्तै २०६२/६३ सालको जनआन्दोलनका क्रममा मुलुकभर सहादत प्राप्त गरेका २६ जनालाई शहीद घोषणा गरियो । दुई पटकको तथ्याङ्क सार्वजनिक रूपमा खोज्दा पाइए पनि अरू शहीदको सरकारसँग स्पष्ट तथ्यांक छैन । विसं २०६२/६३ को जनआन्दोलनपछि सरकारपिच्छे विभिन्न आन्दोलन र घटनामा निधन भएका व्यक्तिलाई पनि शहीद घोषणा गरियो ।

विसं २०७४ माघ ३ गते विभिन्न आन्दोलनमा मारिएका १ सय ९० जनालाई शहीद घोषणा गरेको गृह मन्त्रालयले जनाएको छ ।  मन्त्रालयले हाल सम्पूर्ण शहीदको तथ्याङ्क सूची सङ्कलन गरी स्पष्ट अभिलेख राख्न शुरु गरेको जनाएको छ । यद्यपि मन्त्रालयसँग हालसम्म कति शहीद घोषणा गरियो भन्नेबारे स्पष्ट जवाफ भने छैन । सरकारले २०६७ असार ९ गते शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सिफारिशमा १ हजार ६ सय १९ जनालाई शहीद घोषणा गरेको थियो ।

त्यस्तै सरकारले २०६५ पुस ९ गते छ हजार ३४४ जनालाई शहीद घोषणा गरेको बताइए पनि त्यसको आधिकारिक तथ्याङ्क पाउन सकिएको छैन ।

मुलुकमा पछिल्लो पटक झैझगडा र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत शहीद घोषणा गर्नुपर्ने र रु १० लाख आर्थिक सहयोगका लागि दबाब दिने प्रचलनले वास्तविक शहीदको भावनामा ठेस पुगेको शहीद परिवारको गुनासो छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोशमा उल्लेख भएअनुसार शहीद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने व्यक्तिलाई बुझिन्छ । नेपालको पहिलो शहीद लखन थापालाई मानिन्छ । थापालाई तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाविरुद्ध प्रचारप्रसार गरेको आरोपमा विसं १९३३ फागुन २ गते गोरखाको मनकामना मन्दिर नजीकैको रूखमा झुण्ड्याएर मारिएको थियो । थापा तत्कालीन सैन्य पल्टनमा कार्यरत थिए । रासस

२८०७ सुरक्षाकर्मी शहीद घोषणा

सरकारले २ हजार ८ सय ७ सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सहादत गरेकालाई शहीद घोषणा गरेको हो।

१८औँ सशस्त्र प्रहरी दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाका एक हजार १८, नेपाल प्रहरीका १ हजार ४ सय ४८, सशस्त्र प्रहरी बलका ३१८ र राष्ट्रिय अनुसन्धान विभागका २३ जनालाई शहीद घोषणा गरिएको बताए।  शहीद घोषणाले हिजोका दिन भएको असमानता हटाई सबैलाई सम्मान गर्ने तथा मेलमिलापको भावना जागृत गर्नाका साथै शहीदका परिवारको सम्मान र राहतका विषयलाई प्राथमिकता दिएको प्रधानमन्त्री ओलीले उल्लेख गरे।

Related News

सम्बन्धित समाचार

  • हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन  

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं वार्षिकोत्सव तथा रजत जयन्तिको अवसरमा बिहीबार रक्तदान कार्यक्रम भएको छ । संस्थाले…
  • शिशुवा सिसाघाट सडक शिलान्यास

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    लेखनाथ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले शिशुवा सिसाघाट सडक अन्तर्गतको शिशुवा–खुदीखोला पुल खण्डको बिहीबार शिलान्यास गरेका छन् । प्रमुख…
  • मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । गण्डकी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले मुख्य न्यायाधिवक्ता नियुक्तिको १५ दिन पछि मात्र वेबसाइटको विवरण अपडेट गरेको छ ।…
  • कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । नेपालको राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानी बुधबार स्वदेश फर्किएका छन् । राष्ट्रपति…
  • पुस्तक दिवसमा पुस्तक साटासाट

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस पोखरामा पुस्तक साटासाट गरी मनाइएको छ । ¥यान्डम रिडर्स सोसाइटीले मंगलबार आयोजना…

hero news full width