‘सरकारी अस्पतालमा व्यवस्थापकीय कमजोरी’

आदर्श समाज सम्वाददाता
माघ १६, २०७५
H naru – Copy_Fotor

लमजुङ, १५ माघ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले व्यवस्थापकीय कमजोरीले सरकारी अस्पतालहरू लथालिङ्ग भएको टिप्पणी गरेका हुन् । उनले लमजुङ जिल्ला सामुदायिक अस्पतालको नवनिर्मित आकस्मिक भवन उद्घाटन गर्दै त्यस्तो बताएका हुन्। मुख्यमन्त्री गुरुङले सरकारी अस्पतालमा रहेको अहिलेको व्यवस्थापन परिवर्तन नहुँदासम्म सेवामा गुणस्तर आउन नसक्ने बताए। उनले पुरानो मानसिकता र नयाँ आवश्यकताबीचा समस्या उत्पन्न भएको दाबी गर्दै भने, ‘व्यवस्थापकीय कमजोरीले सरकारी अस्पतालहरू लथालिङ्ग भएका छन्। पर्याप्त सामग्री छैनन्। भनेका बेला डाक्टर आउँदैनन्। यसरी जनताले कसरी सेवा पाउने ?’

उनले आगामी ४ वर्षभित्र प्रदेशका ११ वटै जिल्ला अस्पताललाई नमूनाको रूपमा अगाडि बढाएरै देखाउने दाबी गरे। मुख्यमन्त्री गुरुङले जतिसक्दो छिटो गण्डकी प्रदेशभित्रै मुटु, क्यान्सर, मृगौर्ला, बालरोग स्त्री रोगको उपचार हुने सुविधा सम्पन्न अस्पताल खोल्ने योजनामा प्रदेश सरकार लागेको जानकारी दिए।

वेशीशहर नगरपालिकाका प्रमुख गुमानसिंह आर्यालले लमजुङ सामुदायिक अस्पताल देशकै नमूना भएको भन्दै यसलाई अझ राम्रो र सेवा विस्तार गर्न आफूहरू हातेमालो गरि अघि बढ्न तयार रहेको बताए। लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजेश थापाले गुरुयोजना अनुरूप अस्पताल निर्माण भएमा स्वास्थ्य सेवासँगै पर्यटन क्षेत्रमा समेत योगदान पुग्ने तर्क गरेका थिए।

स्वास्थ्य मन्त्रालयको सहयोगमा तीनतले आकस्मिक सेवा भवन निर्माण गरिएको हो। कक्ष निर्माणका लागि दुई करोड ७४ लाख २१ हजार ४० रूपैयाँ खर्च भएको लमजुङ जिल्ला सामुदायिक अस्पतालका अस्पताल प्रशासन संयोजक हेमन्त श्रेष्ठले बताए। उनका अनुसार सो कार्यका लागि आर्थिक वर्ष ०७२/७३ मा तीन करोड २७ लाख ७७ हजार रूपैयाँ र आर्थिक वर्ष ०७३/७४ मा ९५ लाख ९० हजार ५ सय रूपैयाँ गरी कुल ४ करोड २३ लाख ६७ हजार ५ सय रूपैयाँ अनुदान प्राप्त भएको थियो।

बचत रकमबाट आकस्मिक सेवा भवन, सेफटी ट्याङ्की र तालिम भवनको मर्मतसम्भार र रंगरोगनमा २ करोड ९६ लाख ४० हजार ५ सय रूपैयाँ खर्च भएको अस्पतालका कार्यकारी निदेर्शक कपिलप्रसाद जैसीले बताए। उक्त आकस्मिक भवनमा ६ वटा बेड छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width