‘चिकित्सा विधेयकमा लडाइ नगरौं’

आदर्श समाज सम्वाददाता
माघ १३, २०७५
health-and-medical-fears-1024×538

पोखरा, १२ माघ। नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको विषयलाई लिएर लडाइ गर्न नहुने बताएका छन्।

विधेयकलाई लिएर प्रमुख प्रतिपक्ष दल काँग्रेसले गरेको अवरोधतर्फ संकेत गर्दै उनले विगतको सहमति अनुसार विधेयक भए/नभएको फेरिफेरि पनि सोच्न सकिने भन्दै अवरोध नसुहाएको टिप्पणी गरे।

प्रेस संगठन नेपाल कास्कीले पोखरामा शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले काँग्रेसले आन्दोलन गर्न हतार गरेको बताए।

‘यसपटक हार्दैमा काँग्रेस कति हतास भएको हो’ उनले भने, ‘अहिले आन्दोलन गर्ने बेला होइन, यो त शान्ति, स्थायित्व र समृद्विको समय हो।’

मुलुकलाई विकास र समृद्वि चाहिएको भन्दै आन्दोलनको बाटो नरोज्न काँग्रेसलाई आग्रह गरे।

उनले एशिया सवमिटको विषय धर्म र वाईनसँग जोडेर प्रचार गरिएकोप्रति असन्तुष्टि व्यक्त गरे। एशिया पेसिफिकका राष्ट्रहरुबीचको सम्बन्ध विस्तार र सहयोग आदानप्रदानका लागि सवमिट गरिएको उनको भनाइ छ।

संचारमाध्यमले जे लेखे पनि हुन्छ भनी अफवाह फैलाउने गरेको आरोप लगाउँदै उनले बाहिर आएका कुरा नपत्याउन आग्रह गरे। उनले सरकारले प्रतिपक्ष काँग्रेसलाई पन्छाएर अघि बढ्न नचाहेको उल्लेख गरे। मुलुक सबैको साझा हो उनले भने, ‘त्यसैले काँग्रेसलाई पनि सँगै लिएर अघि बढ्न चाहन्छौं।’

उनले जतिसक्दो चाँडो सबै तहमा पार्टीभित्रको एकीकरण टुङ्ग्याउनु पर्नेमा जोड दिए। उनले पार्टीलाई विधिमा बाध्नु पर्नेमा जोड दिँदै एक व्यक्ति एक प्रमुख कार्यकारी पद कार्यान्वयन गर्नुपर्ने औल्याए।

‘विधि नभए पार्टीभित्र अराजकता बढ्छ, विधिका लागि नै यसो भनेका हौं,’ उनले भने, ‘यो कुरा कुनै व्यक्ति विशेषका लागि उठाइएको होइन।’

वरिष्ठ नेता नेपालले जनताको आशा, भरोसा र विश्वास नेकपामा रहेको भन्दै जनता र पार्टीको गुनासा र सुझावअनुरुप सरकार अघि बढ्न विश्वास व्यक्त गरे।

उनले जनताको खुशी र मुलुकको समृद्वि नै आफूहरुको उद्देश्य भएको स्पष्ट पारे। उनले भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि जोगाउन र संरक्षण गर्न पार्टी नलाग्ने उल्लेख गरे।

‘चाहे ३३ केजी सुन, वाइडबडी, बूढीगण्डकी आयोजना नै किन नहोस्,’ उनले भने, ‘अनुचित ढंगले कसैले काम गरेको छ भने दण्डित गर्नुपर्छ।’

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले विगतको सम्झौता अनुरुप नै चिकित्सा विधेयक आएको दाबी गरे। ‘सत्प्रतिशत भएन होला,’ उनले भने, ‘तर सम्झौताका मूल पक्ष भने समेटिएको छ।’

उनले चिकित्सा क्षेत्रको गुणात्मक सुधारका लागि डा गोविन्द केसीको अभियानलाई धन्यवाद दिनुपर्ने बताए।

प्रवक्ता श्रेष्ठले पार्टी एकता र वर्तमान सरकारलाई सफल बनाउने विषयमा पार्टीभित्र कही कतै मतभेद नरहेको दाबी गरे।

प्रेस संगठन नेपाल कास्की संयोजक माधव बरालको अध्यक्षतामा भएको कार्यक्रम सदस्य कृष्ण दवाडीले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width