स्वस्थानी व्रत एवं माघस्नान शुरु

आदर्श समाज सम्वाददाता
माघ ८, २०७५
swasthani-brata-2

काठमाडौँ, ७ माघ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत सोमबारदेखि शुरु भएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महीना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ।

पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको शुरुवात् हुन्छ।

बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ।एक महीनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १ सय ८ जनै, १ सय ८ सुपारी, १ सय ८ पान, १ सय ८ पmूल, १ सय ८ रोटी, १ सय ८ अक्षता विभिन्न थरिका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ।

चढाइएका प्रसादमध्ये सबैबाट आठ÷आठ वटाका दरले पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने व्रत विधि छ। सय रोटी व्रतालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ। जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ। यसो गरेमा व्रतालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ। स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने हुन्छ। आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो। उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ। यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ। सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानीदेवी भनी स्कन्द पुराणमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए।

“स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी पुराणमा उल्लेख गरिएको छ”–उनले भने।

यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनःमिलन हुन्छ भन्ने विश्वास छ। रोग ब्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथा समेत नेपाली समुदायमा प्रचलित छ।

सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निदेर्शानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ। व्रतपछि बिछोडमा परेका नाग नागिनीको समेत पुनर्मिलन भएको कथामा उल्लेख छ।

गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथा समेत स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ ले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

  • ३ वर्षमा ३०० आत्महत्या !

    रामकुमार श्रेष्ठ भाद्र २६, २०८१
    नवलपुर । नवलपुरमा पछिल्लो ३ वर्षमा ३ सय बढीले आत्महत्या गरेको पाइएको हो । गत वर्ष तुलनामा यो वर्ष आत्महत्या…
  • सडक निर्माण ढिलाइको विरोध

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको काममा ढिलासुस्ती भएको भन्दै गैँडाकोटमा स्थानीयले सोमबार चक्काजाम गरी विरोध जनाएका छन् । सडक…
  • निजामती कर्मचारीलाई पुरस्कार प्रदान

    आदर्श समाज सम्वाददाता भाद्र २३, २०८१
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा पुरस्कारबाट ४० जना कर्मचारीलाई पुरस्कार प्रदान गरेका छन् । सिंहदरबारमा शनिबार २१…
  • हर्षोल्लासका साथ मनाइयो तीज

    आदर्श समाज सम्वाददाता भाद्र २२, २०८१
    पोखरा । यसपालिको हरितालिका तीज हर्षोल्लासका साथ मनाइएको छ । देशभरका शिव मन्दिरमा व्रतालु महिलाको ठूलो भीड लागेको थियो ।…
  • लामाचौर तीज महोत्सव सुरु

    आदर्श समाज सम्वाददाता भाद्र १९, २०८१
    पाखरा । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा बुधबारदेखि २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ सुरु भएको छ । महिलाहरुको महान्…

hero news full width