पोखरा चक्रपथ : २० वर्षमा ५ डिजाइन, काम शून्य

Avatar आदर्श समाज सम्वाददाता
माघ ४, २०७५

पोखरा, ३ माघ। पोखरामा चक्रपथ निर्माणका लागि पुनः अर्को प्रस्ताव अघि सारिएको छ। पोखरा महानगरपालिका र तनहुँको शुक्लागण्डकीसमेत समेटेर बृहत्तर चक्रपथ निर्माण गर्न चिनियाँ टोली इच्छुक देखिएको छ। प्रारम्भिक अध्ययनको काम सकेर महानगरले १ सय २० किलोमिटर लामो चक्रपथ निर्माणको प्रस्ताव अघि सारेको हो। बुधबार चिनियाँ टोली र प्रदेश सरकारको उपस्थितिमा महानगरले चक्रपथको सामान्य खाका सार्वजनिक गरेको छ। महानगरको प्रस्तावमा १ सय १२ किलोमिटर लामो सडक र ८ किलोमिटर सुरुङमार्ग निर्माण हुनेछ।

कास्कीको तल्लो गगनगौंडाबाट शुरु हुने रिङरोड तनहुँको गाछेपानीहुँदै सेतीनदीको पुलबाट पुनः कास्की प्रवेश गनेर्छ। त्यहाँबाट लामगादी चोक, माथिल्लो पुँडीटार, भरतपोखरी, कृस्ती, फुस्रेखोलाबाट पुम्दीभुम्दी लगिनेछ। पुम्दीडाँडाबाट फेवातालसम्म १.६ किलोमिटर लामो सुरुङबाट चापाकोट निकालिनेछ। भदौरेहुँदै हर्पनखोला, घाटीछिनाबाट ३.३ किलोमिटर लामो सुरुङ खनेर घट्टेखोला निकालिनेछ। घट्टेखोलाबाट मध्यपहाडी लोकमार्गमा जोडेर हेमजा, पुरुञ्चौर, अकलादेवी मन्दिर, ठूलीपोखरी, बाटुलेचौर, भलाम, माटेपानी, काहुँखोला पुर्याइनेछ। विजयपुर खोलाबाट १.७ किलोमिटर लामो सुरुङ खनेर मादी कोरिडोरमा जोडिनेछ। त्यहाँबाट माधववेशी निस्केर भगवतीटारमा २.६ किलोमिटर लामो सुरुङ बनाइनेछ। स्याङ्खुदी निकालेर सुन्दरी

डाँडा, तालवेशी, रुपाताल, सातमुहानेबाट पुनः तल्लो गगनगौंगा पुगेर चक्रपथ टुंगिनेछ।

चक्रपथमा पूरै सडक ४ लेनको बनाउने प्रस्ताव छ । सुरुङ चाहीँ २ लेनको हुनेछ। चक्रपथभित्रको विभिन्न नदी तथा खोलाहरुमा ११ वटा पक्की मोटरेवल पुल निर्माण गरिनेछ भने ७ वटा कल्भर्ट बनाउनुपर्ने अध्ययनले देखाएको छ। चक्रपथको विस्तृत अध्ययनका लागि चीनको पावर चाइना समूह पोखरा आइपुगेको छ। ‘बुधबार टोलीले चक्रपथको आई सर्भे गरिसकेको छ। एकदुई दिनमा सम्भाव्यता अध्ययनको लागि पत्र दिन्छौं, पोखरा महानगरका मेयर मानबहादुर जिसीले भने, ‘प्रदेशसँग पनि सहकार्य गर्नुपर्छ। केही समय लाग्न सक्छ।’

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत चाहीँ चिनियाँ टोली चक्रपथमा इच्छुक देखिएकोले संघ सरकारसँग अनुमति लिएर कामको जिम्मा दिने बताउँछन्। ‘चिनियाँहरुको धारणा बुझ्छौं। फिजिविलिटी अध्ययन गर्नका लागि हाम्रो पैसा नलाग्ने गरी मात्रै दिन सकिन्छ,’ उनले भने, ‘त्यसका लागि पनि संघीय सरकारसँग अनुमति लिनुपर्छ। अब बस्ने क्याविनेट बैठकमा यो कुरा छलफल हुनेछ।’ महानगरले तयार गरेको प्रारम्भिक प्रतिवेदनले भने रिङरोड तयार गर्न करिब १८ अर्ब रुपैयाँ लाग्ने देखाउँछ। १ सय १२ किलोमिटर सडकका लागि ५ अर्ब ६० करोड र ८.२ किलोमिटर सुरुङमार्ग बनाउन १२ अर्ब ३० करोड लाग्ने बताइएको छ।

पोखरा चक्रपथ निर्माण अवधारणा तत्कालीन जिल्ला विकास समिति कास्कीले अघि सारेको थियो। २०५८ सालमा जिल्ला परिषद्बाट पास गरेर वषेर्नी बजेट समेत विनियोजन भैरहेको थियो। तर एकीकृत रुपमा चक्रपथका लागि भनेर काम हुन नसकेको तत्कालीन जिल्ला विकास समिति सभापति पुण्य पौडेलले बताए।

‘पोखरा र लेखनाथलाई एउटै बनाउन उपत्यका चक्रपथको अवधारणा ल्याइएको हो। सबै गाउँलाई छुने गरेर यसको डिजाइन गरिएको थियो,’ उनले भने, ‘गाउँमै रोजगारी सिर्जना गर्ने र बजार बनाउने मुख्य उद्देश्य थियो। उतिबेलै चक्रपथ बनेको भए पोखरामा यति बाक्लो बस्ती बन्दैनथ्यो। मान्छेहरु गाउँतिरै इलम गरेर खान सक्थे।’ जिल्ला विकास समितिको डिजाइनमा ७६ किलोमिटर चक्रपथ परिकल्पना गरिएको थियो। यसमा ४ वटा ठूला पुल र १ सय ५४ वटा साना पुल बनाउने गरी स्टिमेट तयार भएको थियो। तर यो डिजाइन कसैले पनि फुकाएनन् र धेरै पटक नयाँ डिजाइन बन्दै गए।

२०६९ सालमा शहरी विकास तथा डिभिजन कार्यालयले आवधिक योजना बनाउँदा ७५ किलोमिटर लामो पोखरा चक्रपथको प्रस्ताव गरेको थियो। त्यसपछि सडक विभागले २०७० सालमा ८५ किलोमिटर लामो चक्रपथ बनाउने डिजाइन तयार गर्यो। तत्कालीन क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाको अगुवाइमा उपत्यका नगर विकास समिति पूर्व अध्यक्ष विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित समितिले पुनः अर्को प्रस्ताव अघि सार्यो। फाष्ट ट्रयाक र बाइपास रोड हुने गरेर २०७१ सालमा समितिले ७३.४ किलोमिटर चक्रपथ बनाउन सिफारिस गरेको थियो। बढ्दो सवारी चापका कारण साघुरिँदै गएको पोखरालाई चक्रपथ बनाएर खुकुलो बनाउन लागिएको हो।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

घुस लिने सुरज पक्राउ

करेण्ट लागेर अधिकारीको मृत्यु

विद्यार्थीको वढाउन बस सेवा

प्रमुख समाचार

केपी ओलीको भागमा २८ माधव नेपालको भागमा १६ जिल्ला अध्यक्ष सूची सहित