खिलाङ ल्होसार मेला शुरु

आदर्श समाज सम्वाददाता
पौष २०, २०७५

पोखरा, १९ पुस। मादी गाउँपालिका–१ स्थित थन्कु देउराली युवा क्लब खिलाङको १७ औँ वार्षिकोत्सव तथा ल्होसार मेला शुरु भएको छ। नेपाली काँग्रेस कास्की जिल्ला सभापति कृष्णबहादुर केसीले मेला उद्घाटन गरे ।

प्रमुख अतिथि केसीले क्लब र गाउँको सामाजिक, प्रशासनिक तथा हरेक कार्यमा काँग्रेसले साथ र सहयोग गर्ने बताए।

उक्त अवसरमा नेपाली काँग्रेस मादी गाउँपालिकाले मेलालाई नगद २० हजार सहयोग गरेको थियो। जिल्ला सभापति कृष्ण केसी, नेताहरु पुष्प भण्डारी, देवीजंग गुरुङ, विशाल गुरुङ, भोजबहादुर गुरुङ र राजेन्द्र क्षेत्रीले क्लबका अध्यक्ष हरिभक्त गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा युवा नेता देवीजंग गुरुङले खिलाङ गाउँ गुरुङ संस्कार, संस्कृतिले भरिपूर्ण गाउँ भएकोले होमस्टेको रुपमा विकास गराउन सक्ने बताए।

यस्तै मादी ६ का संयोजक एवम् सिद्ध युवा क्लब चिप्लीका अध्यक्ष विशाल गुरुङले युवाहरु सांस्कृतिक कार्यक्रम र खेलकुदमा मात्र नभई स्थानीयस्तरमा निर्माणाधीन हाइड्रोहरुमा पनि ध्यान दिनुपर्ने बताए।

ताङतिङ युवा क्लब अध्यक्ष भोजबहादुर गुरुङले गाउँपालिकाले अगाडि सारेको युवा स्वरोजगार कार्यक्रम र गाउँपालिकाका गतिविधिमा युवाको ध्यान जानुपर्ने बताए।

क्लब सल्लाहकार चेतबहादुर गुरुङले खिलाङलाई अझै मादी गाउँपालिकाले नै चिन्न नसकेको भन्दै गुनासो गरे ।

युवा क्लब अध्यक्ष हरिभक्त गुरुङको अध्यक्षता र क्लबका चेतबहादुर गुरुङको संचालनमा भएको कार्यक्रममा वडा सदस्य टीकाराम गुरुङ, पुष्प भण्डारी लगायतले बोलेका थिए ।

पुस २१ गतेसम्म हुने मेलामा भलिबलतर्फ १३ र बास्केटबलतर्फ १० टिमको सहभागिता रहेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width