तमु फो ल्होसार महोत्सव शुरु

Avatar आदर्श समाज सम्वाददाता
पौष १३, २०७५

पोखरा, १२ पुस । तमु प्ये ल्हु संघको आयोजनामा पोखरामा विहीवार बृहत् तमु फो ल्होसार महोत्सव–२०७५ शुरु भएको छ।

अमरसिंहचौरमा आयोजित महोत्सव उद्घाटन गर्दै नेकपा स्थायी समिति सदस्य एवं संसदीय दलका प्रमुख सचेतक देवप्रसाद तमुले सबै जातजातिको भाषा, धर्म, संस्कृतिका बीच बृहत्तर एकताको खाँचो औंल्याए। सबै जातजाति र भाषाभाषीबीच एकता भए मात्र राष्ट्रिय स्वाधीनता बलियो बनाउन सकिने तर्क गर्दै नेता गुरुङले शान्ति र स्थिरता कायम गरेर देशलाई विकासको यात्रामा अघि बढाउनुपर्नेमा जोड दिए।

उनले सबै जाति, भाषा, धर्म र संस्कृतिलाई एकताबद्ध बनाएर लोकतन्त्रलाई बलियो बनाउनुपर्ने आवश्यकता औंल्याए। मुलुकको विकास र समृद्धि भएमात्र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सकिने बताउँदै उनले सबै जाति, भाषा, धर्म, संस्कृतिको समान ढंगले विकास गर्न जरुरी रहेको उल्लेख गरे।

प्रदेश सांसद मनबहादुर गुरुङले तमुलगायत आदिवासी जनजाति समुदायको भाषा, धर्म, संस्कृतिको विकासका लागि आफू कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय उपाध्यक्ष ले. यमबहादुर तमुले तमु समुदायको ल्होसार पर्वमा बिदा कटौती गरिएकोप्रति आक्रोश व्यक्त गरे ।

कार्यक्रममा केन्द्रीय पच्यु समिति अध्यक्ष कुलप्रसाद क्रोम्छे तमु, पोखरा २९ का वडाध्यक्ष चेतबहादुर ल्हेंगे तमु, नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, कास्कीका अध्यक्ष धर्म तमु, गुरुङ साहित्यिक मञ्च, नेपालकी अध्यक्ष गौरी तमुस्यो लगायतले तमु जातिको भाषा, धर्म, संस्कृतिको विकासका लागि राज्यले विशेष सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा तमु प्ये ल्हु संघका विभिन्न भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने सहयोगदातालाई प्रशंसापत्र प्रदान गरिएको थियो।

सो अवसरमा केन्द्रीय युवा समिति तथा विभिन्न जिल्ला शाखाका कलाकारहरुले विभिन्न सांस्कृतिक प्रस्तुति राखेका थिए। तमु प्ये ल्हु संघ, केन्द्रीय कार्यसमितिका अध्यक्ष हितकाजी टु तमुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव शान्ति पर्जु तमुस्यो र सचिव बुद्धि च्हम्रु तमु एवं प्रथम उपाध्यक्ष आइबहादुर ल्हेंगे तमुले स्वागत गरेका थिए । खि ल्हो (कुकुर वर्ग)को बिदाइ तथा फो ल्हो (मृग वर्ग)को आगमन अवसरमा आयोजित महोत्सवको उद्घाटन अघि रानीपौवाबाट झाँकीसहितको र्याली निकालिएको थियो । महोत्सवमा पूर्वका तेह्रथुम, पाँचथर, ताप्लेजुङ, पश्चिमका रोल्पा, दाङ, बाँके, बर्दिया, कञ्चनपुरलगायतका जिल्ला शाखाबाट समेत सहभागिता छ। पुस १६ सम्म सञ्चालन हुने महोत्सवको उद्घाटन अमरसिंहचौरमा भए पनि शुक्रबारदेखि रानीपौवा, शक्तिघाटस्थित तमु प्ये ल्हु संघ, फ–लि–ना क्होंइबो धिं परिसरमा महोत्सवका बाँकी कार्यक्रम सञ्चालन हुने प्रचारप्रसार संयोजक बुद्धि च्हम्रु तमुले जानकारी दिए। महोत्सवमा विभिन्न विषयमा प्रवचन, साहित्यिक रचना वाचन, लोक तथा दोहोरी गीत, कलाकारको प्रस्तुति, वृत्तचित्र प्रदर्शनी, सम्मान कार्यक्रम, रुपा लगाउने कार्यक्रम, बोन फायर, थासो, छ्योपा, छैकु ह्योंखु, खेलकुद लगायत कार्यक्रम हुनेछन् ।

हाम्रो सुझाव

घुस लिने सुरज पक्राउ

करेण्ट लागेर अधिकारीको मृत्यु

विद्यार्थीको वढाउन बस सेवा

प्रमुख समाचार

केपी ओलीको भागमा २८ माधव नेपालको भागमा १६ जिल्ला अध्यक्ष सूची सहित