भूपी काव्य पुरस्कारद्वारा श्रेष्ठ सम्मानित

आदर्श समाज सम्वाददाता
पौष ११, २०७५

पोखरा, १० पुस। भूपी काव्य पुरस्कारबाट कवि तीर्थ श्रेष्ठ सम्मानित भएका छन्।

भूपी शेरचनको ८३ औँ जन्मजयन्ती अवसरमा मंगलबार उनलाई गण्डकी प्रदेश प्रमुख बाबुराम कुवँरले ताम्रपत्रसहित सम्मान गरे। यसैगरी कवि शेरचनकी श्रीमती ओमकुमारी शेरचनले नगद पुरस्कार ५० हजार रुपैयाँ प्रदान गरेकी थिइन्।

थकाली सेवा समिति, पोखराले सो पुरस्कार सञ्चालन गर्दै आएको छ। नेपाली साहित्य क्षेत्रमा कविता माध्यमबाट महत्वपूर्ण योगदान पुर्याएकोले कवि श्रेष्ठलाई सम्मान गरिएको थकाली सेवा समितिले जनाएको छ। पोखरामा बसेर साहित्य सृजनामा क्रियाशील कवि श्रेष्ठका ‘तीर्थ श्रेष्ठका कविताहरु’, ‘जिन्दगीको कुरुक्षेत्रबाट’, ‘महाभारतका गीतहरु’ मुक्तक संग्रह र ‘मेरै हिमालजस्तो’ गीतसंग्रह प्रकाशित छन्।

पोखरेली युवा सांस्कृतिक परिवार, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति, संगीत प्रशिक्षण केन्द्र लगायत संस्थामा आवद्ध श्रेष्ठ नेपाल संगीत नाट्य एकेडेमीका पूर्व सदस्यसचिव पनि हुन्। भूपी शेरचन परिवारजनले स्थापना गरेको अक्षयकोषबाट प्रदान गरिने यो पुरस्कार यसअघि गीतकार रत्नशमशेर थापालाई प्रदान गरिएको थियो।

शुरुमा १० हजार रुपैयाँ रहेको पुरस्कार राशी ५० हजार रुपैयाँ पुर्याएर राष्ट्रियस्तरको बनाइएको हो। भूपी काव्य स्मृति पुरस्कारबाट कवि सरस्वती प्रतीक्षा र मोमिला सम्मानित भइसकेका छन्। १९९२ पुस १० गते जन्मिएका भूपी शेरचन नेपाली कविताको धरोहर मानिन्छन्। ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कवितासंग्रह (२०२६) उनको विशिष्ट कृति हो।

सम्मानपछि प्रदेश प्रमुख कुवँरले भूपी शेरचन नेपाली साहित्यका अमिट र जबर्जस्त हस्ती भएको बताए। उनले आज पनि भूपीका कविताहरु उत्तिकै समसामयिक बनिरहेको बताए। ‘त्यस जमानामा लेखिएका भूपीका कविताहरु अहिले पनि उत्तिकै समसामयिक छ। यी कविताहरु कालजयी छन्,’ उनले भने, ‘यस्ता मूर्धन्य ब्यक्तित्व हाम्रा देशका थिए। यसैमा हामीलाई गर्व लाग्छ।’

कार्यक्रममा साहित्यकार ईश्वरमणि अधिकारीले तीर्थ श्रेष्ठको जीवनीबारे जानकारी गराउँदै उनी निरन्तर साधनारत स्रष्टा रहेको बताए। दुर्गा बराल (वात्स्यायन) ले भूपी शेरचनसँगको सामिप्यताबारे बयान गरे। साथै, उनले कवि श्रेष्ठको सक्रियतामा पोखरामा साहित्यिक जागरण आएको बताए। कार्यक्रम संयोजक ई. रुजिन्द्र शेरचनले स्वागत मन्तव्य राख्दै कवि भूपी शेरचनको योगदानको चर्चा गरे।

भूपीलाई सरकारबाट कुनै पदवी प्रदान नगरिएकोमा दुःख व्यक्त गर्दै उनले भूपीले तत्कालीन सरकारका कमजोरीलाई औंल्याएका कारण पदवी पाउनबाट वञ्चित गरिएको बताए। कार्यक्रममा कवि कवयत्रीहरू रीता अधिकारी, प्रकाश ज्ञवाली, प्रकाश घिमिरे, सुरेश रानाभाटलगायतले कवि भूपीका कविता वाचन गरेका थिए। त्यसैगरी गायक विनोद बानियाले कवि भूपी र तीर्थ श्रेष्ठका गीत गाएका थिए। थकाली सेवा समितिका अध्यक्ष शिवशंकर गौचनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार अमृत सुवेदीले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । साहित्यकार सरुभक्तलाई ‘सातौं हेमराज पहारी स्मृति पुरस्कार–२०८०’ प्रदान गरिएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराद्वारा शुक्रबार आयोजित…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…
  • मिस नेपालको पोखरा अडिसन आज

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । मिस नेपालको पोखरा अडिसन मंगलबारदेखि सुरु हुने भएको छ । द हिडन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आएको…
  • वेद विद्याश्रममा छन्दोबद्ध कविता प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा चिसाखोला वेद विद्याश्रमले रजत महोत्सव सन्दर्भमा प्रदेशव्यापी खुला छन्दोबद्ध कविता प्रतियोगिता भएको छ । प्रतियोगितामा संगम बस्याल…
  • मदरल्याण्डका शाश्वत निबन्धमा प्रथम

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०८०
    पोखरा । को–अपरेटिभ प्रेसिडेन्ट सोसाइटी (कोप्स सेन्टर) आयोजनामा भएको निबन्ध प्रतियोगितामा मदरल्याण्ड माविका छात्र शाश्वत रेग्मी प्रथम भएका छन् ।…

hero news full width