फागुन ७ गतेबाट जनसङघर्ष : थापा

आदर्श समाज सम्वाददाता
पौष ६, २०७५
Kamal Thapa_Fotor

पोखरा, ५ पुस। राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापाले फागुन ७ गतेबाट देशव्यापी जनसंघर्ष शुरु गर्ने बताएका छन्। धार्मिक स्वतन्त्रतासहितको लोकतन्त्र र राजतन्त्रसहितको सुदृढ संविधानका लागि दबाब दिन जनसंघर्ष गरिने थापाले प्रष्ट पारे।

‘शान्तिपूर्ण जनसंघर्ष हुनेछ,’ राप्रपा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण विहीवार पोखरामा उद्घाटन गर्दै थापाले भने, ‘राप्रपाले गर्ने संघर्ष कुनै धर्मविरुद्ध होइन। सरकारविरुद्ध पनि होइन। कुनै पार्टीका विरुद्ध पनि होइन। ९४ प्रतिशत आस्था, विश्वास र पहिचानको रुपमा रहेको हिन्दू राष्ट्रको पुनस्र्थापनाका लागि हो।’

थापाले धर्म निरपेक्षताको आडमा संगठित रुपमै लोभलालचको भरमा भ्रम सृजना गरेर दशौं लाख मानिसको धर्म परिवर्तन गराइएको आरोप लगाए। युनिफिकेसन चर्चद्वारा युनिभर्सल पिस फाउण्डेसनको नाममा आयोजित विवादास्पद धर्म प्रचारक कार्यक्रममा सरकारी तामझामका साथ १५ करोड रुपैयाँ खर्च गरिएको थापाको आरोप थियो।

‘जनताले तिरेको करबाट ठूलो रकम खर्च गरिएको छ,’ उनले भने, ‘यो आपत्तिजनक छ। त्यसले धर्म परिवर्तन गराउनेलाई प्रोत्साहित गरेको छ। अल्पसंख्यकलाई रिझाउने नाममा ९४ प्रतिशत जनताको आस्था र विश्वासलाई आघात पुर्‍याएको छ। हामी सबै अल्पसंख्यकहरुको सम्मान र सुरक्षा हुनुपर्दछ भन्ने मान्यता राख्दछौं।’

उनले सरकार, राजनीतिक दल र नेतृत्वले अल्पसंख्यकलाई खुसी बनाउने नाममा बहुसंख्यकको आस्थामाथि प्रहार गर्ने कुरा आफूहरुलाई सहृय नहुने बताए। सनातन धर्म र संस्कृतिमाथि भएको प्रहारलाई रोक्न सशक्त जनदबाब आवश्यकता रहेको उनले औंल्याए।

थापाले राष्ट्रिय अखण्डताको सुरक्षाका लागि जनसंघर्ष थालिने बताए। उनले विगत १२ वर्षदेखिको अकर्मण्यता र गलत नीतिका कारण राष्ट्रमा विखण्डनकारी शक्तिको उदय भएको उल्लेख गरे। देशलाई टुक्राउने शक्ति क्रियाशील रहेको उनको भनाइ थियो। विखण्डनकारी शक्तिहरु हाल सुषुप्त अवस्थामा रहेको चर्चा गर्दै थापाले सरकार मौनदर्शक बनेर गएमा भोलि विखण्डनकारी शक्ति राष्ट्रिय सुरक्षामा डरलाग्दो खतरा हुन सक्ने बताए।

उनले देश भ्रष्टाचारको दलदलमा भासिएको बताउँदै भनेे, ‘चाहे त्यो ३८ क्वीन्टलको सुन काण्डहोस्, चाहे त्यो ३३ किलो सुन तस्करीका कुरा होस्,  सरकारले अपराधी पत्ता लगाउन सकेको छैन। अनुसन्धान हुँदै जाँदा माथिल्लो तहमा बसेकाहरुसँग नाम जोडिन पुग्यो। काण्डसँग सम्बन्धित अनुसन्धानहरुलाई डिसमिस गरियो।’

‘एनसेलको लाभप्रद कर छली प्रकरणमा दशौं अरबको घोटाला भएको छ, त्यसको अनुसन्धानलाई पनि डिसमिस गरिएको छ,’ उनले भने, ‘वाइडबडी जहाज खरिद काण्डलगायत काण्डै काण्डले देश अहिले ब्रहृमलुटको दलदलमा फसेको छ।’

थापाले प्रशासन, संवैधानिक अंग, न्यायिक क्षेत्र र शैक्षिक क्षेत्रमा पार्टी त आधारमा भागबन्डा लगाएर नियुक्ति र सरुवा, बढुवा गरेका कारण राज्य संयन्त्रको प्रभावकारिता फितलो बनेको आरोप लगाए। उनले शान्तिसुरक्षा अवस्था बिग्रिएको औंल्याए। सरकार निर्मला हत्याकाण्डमा संलग्न दोषीलाई पत्ता लगाउनबाट असफल रहेको उनको कथन थियो।

पार्टी नेता राजेन्द्र लिङ्देनले पार्टीका नेता तथा कार्यकर्तालाई हिनताबोधमा नबस्न आग्रह गरे।

उनले पार्टी देशलाई हिन्दू राष्ट्र बनाउने राजनीतिक पथमा हिँडेको औंल्याए। कुनै व्यक्तिलाई मन्त्री वा सांसद बनाउन पार्टी नबनेको उल्लेख गरे। ‘देशलाई हिन्दू राष्ट्र बनाउन चरित्र, आचरण र व्यवहार ठीक हुनुपर्‍यो,’ उनले भने, ‘राजनीतिक एजेण्डा ठीक हुनुपर्‍यो।’

कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष राजीव पराजुली, केन्द्रीय सदस्य रोमबहादुर भण्डारी, भीमप्रसाद गौचन, तोरणबहादुर कुँवर, दिल विकास राजभण्डारी र कास्की अध्यक्ष डा. महेन्द्रबहादुर कार्की लगायतले बोलेका थिए।

राप्रपा प्रदेश अध्यक्ष हेमजंग गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश उपाध्यक्ष गीता गुरुङले स्वागत र सचिव बरुणबिक्रम राणाले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  •   तनहुँ १ मा रास्वपाबाट डा. स्वर्णिम पक्का

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०७९
    काठमाडौं।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि पार्टी सभापति रवि लामिछाने, डा स्वर्णिम वाग्ले र…
  • कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०७९
    पोखरा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि आइतवार बिहान १० बजे बस्ने भएको छ। सरकारमा सहभागी हुनका लागि…
  • कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत

    आदर्श समाज सम्वाददाता चैत्र १७, २०७९
    पोखरा । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्। मुख्यमन्त्री शर्मालाई प्रदेशसभामा रहेका ३९ मध्ये ३८…
  • नवनियुक्त मन्त्रीहरुले लिए शपथ

    आदर्श समाज सम्वाददाता चैत्र १७, २०७९
    पोखरा । नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्। शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका…
  • दिउँसो ३ बजेका लागि शपथको तयारी   

    आदर्श समाज सम्वाददाता चैत्र १७, २०७९
    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । मन्त्रिपरिषद्को विस्तार गर्न लाग्नुभएका प्रधानमन्त्री दाहाल…

hero news full width