पोखरा, ४ पुस। दश वर्ष लामो सशस्त्र द्वन्द्वमा मुलुक पिल्सिएका बेला शान्तिको धिपधिपे दीयो बाल्न सफल सिक्लेसमा शान्ति सम्झौता प्रतिविम्बित हुने गरी शान्ति स्तम्भ निर्माण गरिएको छ।
टलक्क टल्कने चाँदीको हिमाल जस्तै देखिने एउटै ढुंगामा कुँदिएको स्तम्भमा द्वन्द्वताकाको अवस्था झल्काइनुका साथै त्यसयता विकसित राजनीतिक घटना क्रमलाई समेटिएको छ। हिमाल, पहाड र तराईको समग्र भू-भागलाई एउटै थलोमा समेट्दै द्वन्द्वकालीन घटनाका सम्झनालाई प्रतीकात्मक रूपमा यसमा प्रस्तुत गरिएको छ। परिकल्पना गर्न झण्डै २० दिन र निर्माणमा अर्ढाई महिनाको अवधि खर्चेको स्तम्भका निर्माता एवं परिकल्पनाकार नारदमणि हार्जम्छाली (कलाङ) ले जानकारी दिए।
उनका अनुसार स्मारक परिसरमा निर्माण गरिएको त्रिभुज आकारको स्तम्भको सबैभन्दा माथिल्लो भागमा रातो, पहँेलो र नीलो रङका तीन वटा बत्ती जडान गरिएको छ जसलाई सङघर्ष, प्रतिवाद र संवादको रूपमा लिइएको छ। द्वन्द्वकालीन सङघर्ष, रगत, पसिना, आँशु, रातो विम्बका रूपमा प्रस्तुत गरिएको छ। विशेष गरी सो स्तम्भको पिंध पोखरी परिसरमा द्वन्द्वका समयमा शहादत प्राप्त गर्ने पाँच महिला र १० पुरुषको टाउका देखाइएको छ। यहाँ द्वन्द्वमा महिलाको सहभागिता रहेको समेत झल्काउन खोजिएको छ।
स्तम्भमा पीडा एवम् श्रमलाई दर्शाउन पहेँलो र आँशुलाई बुझाउन नीलो रङ प्रयोग गरिएको छ। स्तम्भमा दुर्इ पक्षबीच हात मिलाएर अङ्कमाल गरिएको र दिगो शान्तिको प्रतीकको रूपमा परेवाको चित्र कोरिएको छ।
विस्तृत शान्ति प्रक्रिया १२ वर्ष पुगेको अवसरमा निर्माण गरिएको यो स्तम्भलाई बाह्रबुँदे सम्झौताको सम्झनाका रूपमा तीनवटै कोणमा चार/चार गरी कुल बाह्रवटा धारासमेत निर्माण गरिएको कलाकार कलाङ बताउनुहुन्छ। प्रविधि जडित धाराबाट पानी निरन्तर प्रवाह भइरहने व्यवस्था मिलाइएको छ।
द्वन्द्वका अवसरमा ज्यान गुमाएका युवा, महिला, पुरुष एवं मुकुण्डो, द्वन्द्वकालीन टोपी, हेलमेट, कुखुरी, हँसिया र तरवारलगायतका विभिन्न घरेलु हतियार स्तम्भमा चित्रित छ। स्तम्भभित्रै तरवार र हँसिया भँाचिएको देखाउँदै युद्धको अन्त्य र शान्तिको प्रारम्भ भएको सङ्केत देख्न सकिन्छ।
द्वन्द्वकालीन अवस्थामा ज्यान गुमाएका करीव १७ हजार जनताको पोखरीभित्र साङ्केतिक विम्बहरूको दृश्य रहनाका साथै शान्ति र क्रान्तिका विविध पक्ष दर्शाइएको छ।तत्कालीन सरकार र व्रि्रोही माओवादीबीच शान्ति सम्झौता गरिएको सङ्केत स्वरुप सरकार, माओवादी र राजनीतिक दलको त्रिकोणात्मक सन्तुलनलाई पनि स्तम्भमा समेटिएको छ।
ललितकला, वास्तुकला, मूर्र्तिकला र चित्रकलासहित चारवटै विधि प्रयोग गरिएको बताउँदै कलाकार कलाङले भने – “स्तम्भ निर्माणमा ढुङ्गा, हतौडा, छिनो, ग्रील र डि्रल मेसिन जस्ता औजार प्रयोग गरिएको हो।”
मादी गाउँपालिकाको वडा ७ तप्राङ भेडिखर्कबाट ठूलो मेहनतका साथ जेसिभी र ट्रयाक्टरको प्रयोग गरी ल्याइएको उक्त ढुङ्गाबाट पाँच फिट तीन इन्च उचाइ र ३७ इन्च चौडाइको स्तम्भ निर्माण गरिएको हो।
भोजपुरको षडानन्द गाउँपालिका-११ मा ६० वर्ष अघि जन्मेका जोशिला र फूर्तिला कलाकार कलाङले यसअघि पेरिस डाँडामा शहीद तथा बेपत्ता स्मृति स्तम्भ बनाइसक्नुभएको छ भने इटहरी तथा भीमफेदीमा पनि यस्तै प्रकारका स्तम्भ निर्माण गरिसकेका छन्।
विसं २०६२ जेठ महिनामा तत्कालीन माओवादी पार्टीअध्यक्ष पुष्पकमल दाहाल र तत्कालीन गृहमन्त्री एवं वार्ता समितिका संयोजक कृष्णप्रसाद सिटौलाबीच सिक्लेसमा भएको पहिलो भेटवार्तापछि विकसित राजनीतिक घटना क्रमले देश वर्तमान अवस्थासम्म आइपुगेको हो। जोखिम मोलेर देशलाई शान्ति प्रक्रियामा डोर्याउन महत्वपूर्ण योगदान गर्नुभएका पूर्वप्रधानमन्त्री प्रचण्ड र काँग्रेस नेता सिटौलाले शान्ति स्तम्भको मंसिर २४ गते सामूहिक रूपमा अनावरण गरे।
नेपालकै मध्यविन्दु मानिने पर्यटकीय गाउँ सिक्लेसमा करीब दुर्इ रोपनी क्षेत्रफलमा निर्माण गरिएको सो स्तम्भका लागि गाउँपालिकाको १० लाख अनुदान र पाँच लाख रुपैयाँ बराबरको स्थानीय जनश्रम परिचालन गरिएको उपभोक्ता समितिका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए।
उनका अनुसार स्तम्भ निर्माण गरिसकेपछि सिक्लेसमा आफूले पाएको स्नेह र त्यहाँको वातावरणले प्रभावित भई कलाकार कलाङले आफुले पाउने पारिश्रमिकबाट दुर्इ लाख रुपैयाँ उपभोक्ता समितिलाई सहयोग गरेका थिए। उनलाई कुल चार लाख रुपैयाँ पारिश्रमिक दिने सहमति भएको थियो।
शान्ति प्रक्रियाको थालनीको प्रारम्भ सिक्लेस भएकै कारण त्यसको संस्मरणमा शान्ति स्तम्भ निर्माण गरिएको मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) बताउँछन्। उनका अनुसार प्राकृतिक संरक्षण कोष (एनटिएनसी) को हातामा निर्माण गरिएको स्तम्भले सिक्लेस गाउँको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्नेछ। प्राकृतिक सुन्दरताले भरिपूर्ण यस गाउँमा यसअघि स्वागतद्वार, भ्यूटावर र सङ्ग्रहालयलगायतका विभिन्न भौतिक संरचना निर्माण गरिसकिएको छ।
स्तम्भको निर्माणपछि अब यस गाउँलाई शान्ति प्रक्रियाको अध्ययन अवलोकन गर्ने थलोको रूपमा प्रवर्द्धन गर्न सहयोग पुग्ने सिक्लेस युवा क्लबका सल्लाहकार देवीजंग गुरुङको विश्वास छ। उनका अनुसार गाउँका २२ वटा घरमा १ सय जनाभन्दा बढी पाहुना राख्न सक्ने क्षमता छ। शुक्रबार आन्तरिक पर्यटकको भीड लाग्ने गरेको कारण समितिले थप कोठाको व्यवस्था गर्ने तयारी गरिरहेको छ। असोज, कात्तिक र मंसिर महीनामा पर्यटकको सङ्ख्यामा वृद्धि भएको र तीन महिनामा लगभग छ लाख रुपैयाँ बराबरको आम्दानी भएको नमस्ते गेष्ट हाउसका सञ्चालक कुमारी गुरुङले बताए।
यहाँ अर्गानिक चामल, साग, भट्ट, अचार लगायतका विभिन्न परिकारसहित साँझको चिया, बिहानको नास्ता, खाना र बासको एक हजार र मासु खानामा थप २ सय रुपैयाँ पर्छ।
Related News
सम्बन्धित समाचार
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
पर्वतको फलामखानीका विद्यार्थीलाई पोखरेली व्यवसायीको न्यानो कपडा
‘लोकतन्त्र विरोधी आन्दोलनको भविष्य छैन’
बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०