‘एकताले स्थायित्व’

आदर्श समाज सम्वाददाता
मंसिर २६, २०७५
prachanda dahal

पोखरा, २५ मंसिर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले पार्टीएकताले राजनीतिक स्थायित्व दिएको बताएका छन्। वामबीच पार्टीएकताले मुलुक नयाँ चरणमा प्रवेश गरेको उनको दाबी छ ।

‘देश र इतिहासको समीक्षा गर्‍यौं,’ कास्कीको सिक्लेसमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा दाहालले भने, ‘देशमा राजनीतिक स्थायित्वका लागि पनि पार्टीएकता आवश्यक थियो। पार्टी एकताको विकल्प थिएन। कुनै पनि पार्टीले बहुमत नल्याएमा देशमा अन्यौलता र अस्थिरता कायम रहन्थ्यो। यो संकल्प अरुले गरेर हुँदैन, हामीले गर्नुपर्छ भनेर संकल्पका साथ पार्टीएकता भएको हो। पार्टीएकतासँगै निर्वाचनमा गयौं। देशभर उत्साहका साथ जनताले त्यसलाई अनुमोदन गर्‍यो।’

उनले पार्टीभत्र कुनै समस्या नरहेको दाबी गर्दै भने, ‘पार्टीएकता हठातमा भएको होइन। यसलाई पूर्णता दिन केही समय लागे पनि पार्टीभत्र कुनै समस्या छैन। अब बस्ने स्थायी समिति बैठकले पार्टीएकीकरणका सबै प्रक्रिया टुंगाउँछ।’

नेकपा अध्यक्ष दाहालले पार्टीएकता र नयाँ सरकार बनेपछि केरुङ-काठमाडौं, काठमाडौं-पोखरा, पोखरा-लुम्बिनी रेल लैजाने कुरा सपना नभई विपना रहेको जिकिर गरे। उनले रेलमार्गको डीपीआर तयार पार्ने कुरा अगाडि बढिसकेको प्रष्ट पारे। उनले नयाँ सरकारले गरेका यी महत्वपूर्ण उपलब्धि नभुल्न आग्रह समेत गरे। साथै उनले सरकारले अपेक्षाकृत सफलता नगरे पनि वर्तमान सरकारको विकल्प नभएको बताए।

Related News

सम्बन्धित समाचार

hero news full width