दुर्इ वर्षभित्र गण्डकी प्रदेश उज्यालो : मुख्यमन्त्री

आदर्श समाज सम्वाददाता
मंसिर २५, २०७५
Mukhamantri Lamjung

लमजुङ, २४ मङ्सिर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले गण्डकी प्रदेशलाई अबको दुर्इ बर्षभित्र सर्वत्र उज्यालो बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । मुख्यमन्त्री गुरुङले लमजुङको बेसीसहरमा आयोजित लमजुङ विद्युत उपभोक्ता संस्थाको १९ औं साधारणसभाको उद्घाटन गर्दै त्यस्तो प्रदिबद्धता व्यक्त गरेका हुन् ।

‘प्रदेशका सवै घरमा बिजुली पुर्‍याउने योजनाका साथ प्रदेश सरकार अगाडि बढेको र त्यो कार्य २ वर्ष भित्र जसरी पनि पुरा हुनेछ, उनले भने, ‘म यो प्रतिवद्धता दोहोर्‍याउँछु । उज्यालोमा बस्न पाउनु नागरिकको मौलिक हक भएको त्यसको सुनिश्चित गर्ने ग्यारेन्टी प्रदेश सरकार लिन चाहन्छ । अन्धकारमा कोही कसै बस्नुपर्दैन । बिजुली नपुगेको ठाउँको तथ्यांक खोजी गरेका छौं । दुर्इ बर्षभित्रमा सबै घरमा बिजुली पुग्छ ।’

मुख्यमन्त्री गुरुङले भने, ‘नेपालका १४ प्रतिशत जनता अझै अन्धकारमा बस्न बाध्य रहेको जानकारी दिदै सबैभन्दा बढी बिजुली उत्पादन हुने प्रदेश हाम्रो गण्डकी नै भएको बताउँदै हाम्रै प्रदेशका नागरिक बिजुलीबाट बञ्चित छन् । अब उनीहरूले छिट्टै उज्यालो देख्न पाउनेछन् ।’

मुख्यमन्त्री गुरुङले प्रदेशमा २५ हजार मेगावाट विद्युत उत्पादनको सम्भावना रहेको भन्दै ५ बर्षभित्र ३ हजार मेगावाट उत्पादन गर्न सकिने बताउँदै बढी मात्रामा बिजुली उत्पादन गर्न सकिने भएकाले प्रदेशमा एलपी ग्यास, डिजेल, पेट्रोललगायतका इन्धन खपतलाई घटाउने योजना रहेको जानकारी दिए । अर्को प्रशंगमा मुख्यमन्त्री गुरुङले पारदर्शी, नियमित र गुणस्तरीय र व्यवस्थित रूपले संघसंस्था सञ्चालन भएमा विकासमा सहज हुनेमा जोड दिए । उनले संस्था सक्रिय, सफल भएमा मुलुक समृद्धितर्फ लाग्ने भएकाले त्यसतर्फ ध्यान दिन संस्थालाई अनुरोध गरे ।

प्रदेशमा १४ प्रतिशत नागरिक गरिबीको रेखामुनी रहेकाले आगामी ५ बर्षमा प्रदेशको गरिबी १४ बाट ७ प्रतिशतमा झार्ने प्रदेश सरकारको योजना रहेको जानकारी दिदै ‘के गर्दा गरिबी निवारण हुन्छ भन्ने कुरामा प्रदेश लागेको छ । स्थानीयको आयआर्जन बढाउन, रोजगारको वातावरण सिर्जनातर्फ लागेका छौं,’ उनले भने ।

ऋणको बोझ भएको ठाउँमा विकास गर्न असहज हुने र प्रदेशमा त्यस्तो अवस्ता नरहेकाले अब विकासले गति लिने उनको दावी छ । उनले भने, ‘प्रदेशमा गरिबी कम छ । ऋण छैन । कुनै अवरोध हुँदैन । प्राकृतिक स्रोत साधन जति पनि छ । अब समृद्धि हुन्छ ।’

सो अवसरमा प्रदेश सभा सदस्य मायानाथ अधिकारी, मधु अधिकारी, संविधान सभा सदस्य हिमकुमारी सुनार, जमिन्द्रमान घले, जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डे, बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाललगायतले विद्युत उत्पादन बढी हुने लमजुङमा विद्युतको समस्या रहेकाले यसलाई समाधानतर्फ लाग्नुपर्ने बताएका थिए ।

साधारण सभामा संस्थाको प्रगती प्रतिवेदन संस्थाका अध्यक्ष श्रीकान्त घिमिरेले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष पद्मराज कँडेलले पेश गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width