सरकारका उपसचिव र पूर्व सेनानीका अनुभूति सङ्ग्रहमा

आदर्श समाज सम्वाददाता
मंसिर २४, २०७५
s1

पोखरा, २३ मंसिर। यातायात व्यवस्था कार्यालय गण्डकी (सवारी) का कार्यालय प्रमुख नेपाल सरकारका उपसचिव तिलक पौडेल स्याँकोर्टे र नेपाली सेनाका पूर्व सेनानी रामजी घिमिरेका अनुभूति सङ्गृहीत भएका छन्।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल, गण्डकी समितिले उक्त अनुभूतिलाई कृतिका रूपमा प्रकाशन गरेको हो।

अनेसास गण्डकीद्वारा शनिवार आयोजित लोकार्पण कार्यक्रममा स्याँकोर्टेको संस्मरणात्मक निबन्धसङ्ग्रह ‘मेरा अर्सदाहरू’ समारोहका प्रमुख अतिथि साहित्यकार प्रकाश सायमी, रामजी घिमिरेको ‘ठेकी मदानी’ गजलकृति प्राज्ञ हरिदेवी कोइराला र घिमिरेकै आधुनिक गीतिएल्बम तिर्सना प्राज्ञ रमेश श्रेष्ठले एकैसाथ लोकार्पण गरे।

प्रमुख अतिथि सायमीले निजामती सेवामा रहँदारहँदै त्यहाँ भएका विकृति विसंगति र निजामती कानूनलाई सुधार गर्नुपर्ने सन्दर्भ लिएर निर्धक्कका साथ कलम चलाउने तिलक तथा एउटा हातमा बन्दुक र अर्को हातमा कलम लिएर सिर्जनायात्रामा लाग्ने रामजीजस्तै स्रष्टाले नेपाली साहित्यलाई समृद्ध तुल्याएको बताए।

प्र्राज्ञ हरिदेवी कोइरालाले स्रष्टाद्वय पौडेल र घिमिरेका सिर्जनाले नेपाली समाज, संस्कार, संस्कृति र साहित्य क्षेत्रमा देखिएका विकृति विसंगति अन्त्य गर्न पहरेदारी गर्ने धारणा राखिन्।

प्राज्ञ रमेश श्रेष्ठले सिर्जना साधनामा लाग्ने व्यक्ति सधैँ विद्यार्थीकै रूपमा रहने स्मरण गर्दै हरेक स्रष्टाले आफूलाई विद्यार्थी अनुभूत गरेर साधनामा लाग्न सके लेखन यात्राले उचाइ लिनेमा जोड दिए।

स्रष्टा तिलक पौडेल स्यार्ँकोटेले जीवन भोगाइमन अर्सदालाई डायरीमा टिप्दै जाँदा तथ्यपरक कृति तयार भएकाले पाठकले वास्तविकतालाई लिएर गाली-ताली जे दिए पनि स्वीकार्ने बताए ।

पूर्व सेनानी रामजी घिमिरेले भने, ‘१४ वर्ष अगाडि नेपाली सेनाको सेनानी पदमा रहँदा तत्कालीन व्रि्रोही पक्षले घरमा आगजनी गरे, कहीँ कोही कसैले बास नदिएपछि जागिर छोडेर बसें र आफ्ना सिर्जनामा तिनै गाउँवेसी र दुःखसुखका सुगन्ध समावेश गरेको छुँ।’

निबन्ध कृति समीक्षा गर्दै डा जगन्नाथ रेग्मीले निजामती सेवामा देखिएका विकृति र विसंगति, इमान्दार राष्ट्रसेवक कर्मचारीले भोग्नुपरेका वेथितिको ऐतिहासिक दस्तावेज ‘मेरा अर्सदाहरू’ रहेको उल्लेख गरे।

यस्तै, गजल सन्ध्याका संस्थापक अध्यक्ष दिलीप दोषीले गजल गेयात्मक विधा भएकाले घिमिरेका गजल सिद्धान्त र संरचना दुवै हिसाबले उत्कृष्ट अब्बल रहेको बताए।

कार्यक्रममा पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष बद्रीविनोद प्रतीक, साहित्यकार सरस्वती ज्ञवाली, अनेसास गण्डकीका अध्यक्ष दुर्गाबहादुर शाह ‘बाबा’, सचिव असफल गौतम, सदस्य गीता तिवारी गौतम लगायतले बोलेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width