प्रधानमन्त्रीलाई काँग्रेस नेता महतको सुझाव- झुठको राजनीति नगर

आदर्श समाज सम्वाददाता
मंसिर २३, २०७५

पोखरा, २२ मंसिर । नेपाली काँग्रेसका नेता रामशरण महतले प्रधानमन्त्री केपी शर्माले झुठको राजनीति गरेको आरोप लगाएका छन् । पार्टीका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्रीसमेत रहेका नेता महतले आमनागरिकलाई असम्भव कुराको सपना बेच्दै ओलीलाई झुठको राजनीतिक खेती नगर्न आग्रह समेत गरे ।

अनुसन्धान अभिलेख तथा प्रकाशन समिति, नेपाली काँग्रेस कास्की क्षेत्र ३ द्वारा पोखरामा शनिवार आयोजित ‘नेपाली काँग्रेसप्रतिको जनविश्वास’ एक समीक्षाविषयक कार्यशालामा नेता महतले भने, ‘कम्युनिष्ट सरकारले असम्भव र कच्चा कुराको प्रचार गरी झुटको खेती गरेको छ ।’

‘कम्युनिष्टहरुले जस्तो हावादारी सपना बाँड्न काँग्रेसले सक्दैन । आफूले गरेको कामको प्रचार गर्न पनि काँग्रेस आफैले जान्दैन । प्रधानमन्त्री केपी शर्मा देशको बजेट कति छ ? अड्कलै नगरी रेल संचालन गर्ने र पानीजहाजका सपना बाँड्छन् । एक किलोमिटर रेल संचालन गर्ने बाटो निर्माण गर्न तीन खर्बभन्दा बढी लाग्छ । कसरी नेपालमा थुप्रै किलोमिटर रेलमार्ग बनाउन सकिन्छ,’ प्रश्न गर्दै नेता महतले भने, ‘निर्माणका लागि वर्षौ लाग्ने कुरा तत्कालै सम्भव छ भनेर जनतालाई  झुठा सपना बाँड्न हुदैन ।’

काँग्रेस सरकारले विदेशी ऋण घटाएको डा महतको दाबी थियो । ‘विसं २०४८ सालमा ३४ प्रतिशतको विदेशी ऋण घटाएर १६ प्रतिशतमा झारेको छ,’ नेता महतले भने, ‘केही दिनयता प्रधानमन्त्री केपीको पनि बुद्धि पलाएछ । विदेशी ऋण लिनु हुँदैन भन्ने भाषण गर्न थालेका छन् । कम्युनिष्टहरु एकदलीय व्यवस्थामा विश्वास राख्ने पार्टीभएकाले उनीहरुको विश्वास गरिहाल्न हुँदैन । उनीहरु तानाशाह बन्दैछन् । उनीहरुले जनताको हितभन्दा पनि आफ्नै स्वार्थमा काम गरिरहेका छन् ।’

उनले नेपालको संविधान समाजवादी लक्ष्यका साथ अगाडि बढेको उल्लेख गरे । ‘त्यो काँगेसकै देन हो,’ उनले भने, ‘कम्युनिष्टहरु पनि त्यसैलाई मानेर आएका छन् । तर हामीले आफ्नो समाजवादी नीतिलाई प्रचार गर्न सकेनौं । जसका कारण चुनावमा हार खानु पर्‍यो । कम्युनिष्टहरुले संविधानअनुसार चलून् भन्ने नै काँग्रेसको चाहना हो । काँग्रेसले लिएको समाजवादी नीति सफल पार्नुपर्छ । तर, उनीहरुले वर्गीय समाजवादलाई नै महत्व दिने गरेका छन् ।’

काँग्रेसकै उदारवादी अर्थ नीतिकै कारण २०४८ सालमा १२ अर्बबाट शुरु वाषिर्क बजेट अहिले नौ सय अर्ब पुगेको डा महतको कथन थियो । महतले राजनीतिक स्वतन्त्रतासँगै आर्थिक स्वतन्त्रता पनि सँगै अगाडि बढाउनुपर्नेमा जोड दिए ।

‘उत्पादन र आय बढाउन वीपीले जुन नीति अगाडि सारे, त्यो समाजवादको वाटो हो,’ महतले भने, ‘काँग्रेसले त्यही बाटो अपनाउनु पर्छ । उद्योगलाई निजीकरण गर्न सक्नुपर्छ । यहाँका संस्थान तथा सरकारी उद्योगलाई निजीकरण गर्न आवश्यक छ । सरकारले त पूर्वाधारको विकास गर्ने  हो । उद्योग संचालन गर्ने हैन । उत्पादकत्व र आय वृद्धि गर्न निजीकरणलाई पोत्साहन गर्नैपर्छ ।’

नेता महतले हिन्दूराज्य संरक्षण गर्न जरुरी रहेको औंल्याए । शान्तिप्रक्रियामा माओवादीलाई ल्याउनेक्रममा धर्मनिरपेक्षतामा हस्ताक्षर गरेकाले तुरुन्त काँग्रेसले हिन्दु राष्ट्रको मुद्दा अगाडि सार्न नसक्ने बताए । ‘त्यो नैतिकताले पनि दिँदैन,’ उनले भने, ‘हिन्दूत्वलाई संरक्षण गरिराख्नु पर्छ ।’

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल, धनराज गुरुङ, प्राडा रामचन्द्र पोखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाली काँग्रेस केन्द्रीय सदस्य जीवन परियार, कास्कीका पार्टीनेता खेमराज पौडेल र सहायक प्राध्यापक दीपेन्द्र पराजुलीले प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गरेका थिए ।

कार्यक्रममा काँग्रेस कास्कीका सभापति कृष्ण केसी र नेता शुक्रराज शर्मा लगायतले बोलेका थिए । समिति अध्यक्ष प्राडा रामचन्द्र पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय सभापति विजयराज आचार्यले कार्यक्रममाथि प्रकाश पारेका थिए । कार्यक्रममा उपसभापति राजेन्द्रनिधि कोइरालाले स्वागत र सचिव विश्वेश्वरप्रसाद पराजुलीले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width